Comments Add Comment

महिलालाई भिजिट भिसामा खाडी मुलुक जान वडाको सिफारिस चाहिने !

२८ माघ, काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भिजिट भिसामा जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्था गर्ने तयारी गरेको छ ।

अध्यागमन विभागले एक पटक पनि विदेश नगएका ४० वर्षभन्दा कम उमेरका युवतीको साथमा परिवारले दिएको अनुमति र आफु बसोबास गरेको स्थानीय वडाको सिफारिस चाहिने व्यवस्थाको प्रस्ताव गर्दै भ्रमण भिसा सम्बन्धि कार्यविधि बनाएको छ ।

अध्यागमन विभागका सूचना अधिकृत टेकनारायण पौडेलका अनुसार परिवारको एक जना पनि सदस्य साथमा भएको अवस्थामा भने यो नियम लागु नहुने गरी प्रावधान बनाइएको छ ।

नेपालबाट बीना कुनै जानकारी भिजिट भिसामा खाडी मुलुक जाने र काममा लाग्ने प्रवृत्ति बढेको छ । यसले महिला खाडी मुलुकमा जोखिममा परेको निष्कर्ष निकाल्दै सरकारले भिजिट भिसामा कडाइ गर्न लागेको हो । ‘हामीले गृह मन्त्रालयमा प्रस्ताव गरेका छौं, स्वीकृत भए लागू हुन्छ ।’

उनका अनुसार विदेशमा गई अलपत्र पर्ने महिलाका बारेमा यसअघि मन्त्रालयले एक समिति गठन गरी अध्ययन गरेको थियो । समितिले भिजिट भिसामा परिवारको सहमति बिना खाडी मुलुक छिर्ने र उतै काममा लाग्ने प्रवृत्तिका कारण जोखिम बढेको निष्कर्ष निकालेको थियो ।

सोही अध्ययन प्रतिवेदनको सुझावका आधारमा विभागले कार्यविधिमा परिमार्जनको प्रस्ताव गरेको उनले जानकारी दिए ।

‘परिवारको सहमति बीना दलालले लोभलालचमा पारी विदेशमा नफसाओस् भनेरै यो प्रावधान ल्याउन लागेका हौं,’ उनले भने । खाडी मुलुकमा जोखिमयुक्त वर्गमा त्यो उमेर समुहका महिला पर्ने भन्दै यस्तो कडाई गर्न लागिएको उनले बताएका छन् ।

डलर सटहीको प्रमाण साथमा हुनुपर्ने

विभागले डलर सटहीमा समेत अब प्रमाण खोज्ने भएको छ । नयाँ कार्यविधि अनुसार अब भ्रमण भिसामा जाँदा डलर मात्र साथमा बोकेर पुग्ने छैन, बैंक वा आधिकारिक सटकी गर्ने निकायबाट डलर साटेको प्रमाण समेत साथमा बोक्नु पर्ने भएको छ ।

यो कार्यविधिमा प्रस्ताव गरेको भएपनि यो प्रावधान यसअघि नै कार्यान्वयन शुरु गरिएको छ । यसबाहेक कार्यविधिमा भिजिट भिसामा जाँदा १५ लाख रुपैयाँको बिमा समेत अनिवार्य गरेको हुनुपर्ने प्रावधान समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment