Comments Add Comment

विप्लव नेतृत्वको नेकपासहित चार दलीय मोर्चाद्वारा बुटवलमा प्रदर्शन

संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा नेताहरुको जोड

६ फागुन, बुटवल । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका चार दलको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको विकल्पका लागि भन्दै बुटवलमा प्रदर्शन र सभा गरेको छ । माघ २९ गते काठमाडौंमा रणनैतिक मोर्चा घोषणा गरेको उक्त मोर्चाले बुटवलमा पहिलो खुल्ला सभा गरेको हो ।

प्रतिनिधि सभा विघटनपछि मुलुक यसको पक्ष र विपक्षमा ध्रुवीकृत भइरहेका बेला मोर्चाले भने अहिलेको संसदीय व्यवस्था र नेताहरुबाट देशले सही निकास नपाउने तर्क गरे । आफ्नै दलभित्रको झगडाले प्रतिनिधि सभा विघटन गर्नुले संसदीय व्यवस्था नै असफल भएको पुष्टि भएको उनीहरुको दावी छ । उनीहरुले संसदीय व्यवस्था ध्वस्त गरेर जन गणतन्त्रतात्मक समाजवादी व्यवस्थाले मात्रै देशलाई निकास दिने तर्क गरेका छन् । मोर्चाका नेताहरुले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा र नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन पनि सरकारसँग माग गरे ।

सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदीय व्यवस्था जनताको शासन व्यवस्था नभएको जिकिर गर्दै यसलाई ध्वस्त गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण राजनीतिमा आउन चाहेकाले प्रतिबन्ध हटाउन माग गरे । विप्लवमाथि लगाइएको प्रतिबन्ध सबै कम्युनिस्टमाथिको प्रतिबन्ध भन्दै उनले प्रतिबन्ध असंवैधानिक भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल आहुतीले नेकपाले नेतृत्व गरेको दुई तिहाइको सरकार असफल हुनुले यो व्यवस्थामै ठूलो प्वाल परेको र संसदीय व्यवस्था नै असफल भएको तर्क गरे ।

बुटवलको ट्राफिकचोकमा सभा हुनुअघि राजमार्ग चौराहाबाट जुलुस निस्केको थियो । जुलुसमा विभिन्न जिल्लाबाट कार्यकर्ता ओसारिएको थियो । जुलुसका सहभागीहरुले संसदीय व्यवस्था खारेज गर, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment