+
+
Shares

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

सामान्यतया प्रदर्शनका चक्रहरू करिब २० दिन वा ठूला आन्दोलनहरू ३६ दिनसम्म चल्ने गर्छन्। तर, एसीएलईडीको गणनाअनुसार यो आन्दोलन ४५ दिन पुगिसकेको छ र अझै जारी छ।

हन्ना दुग्गल/अलजजिरा हन्ना दुग्गल/अलजजिरा
२०८३ कात्तिक २३ गते ५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्समा विद्यार्थीले सुरु गरेको आन्दोलन ४५ दिनदेखि जारी छ र देशभर १ लाख ४६ हजारदेखि २ लाख ५० हजारसम्म मानिस प्रदर्शनमा उत्रिएका छन्।
  • फ्रान्समा सेप्टेम्बर १५ देखि अक्टोबर ३० सम्म १ हजार २०० भन्दा बढी प्रदर्शन र दङ्गा भएका छन्, र नाबालिगसहितको पक्राउमा अत्यधिक बल प्रयोगको आलोचना भएको छ।
  • फ्रान्सबाट फैलिएको विरोध लहर युरोपका ३० देशमा पुगेको छ, जहाँ महँगी, न्यून ज्याला र आवासको अभावविरुद्ध १ हजार ७०० भन्दा बढी प्रदर्शन भएका छन्।

जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन।
सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध १ हजार ७०० भन्दा बढी प्रदर्शनहरू भइसकेका छन्।

शनिबार पेरिसमा ४६ हजारसहित देशभर १ लाख ४६ हजार मानिस प्रदर्शनमा उत्रिएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ। तर, ट्रेड युनियनहरूले भने देशभर २ लाख ५० हजार र पेरिसमा ७५ हजार मानिस सहभागी भएको दाबी गरेका छन्।

अघिल्ला हप्ताहरूको तुलनामा सहभागीको सङ्ख्या घटे पनि प्रहरीले पेरिसमा प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठी प्रहार गरेको छ। साथै, फ्रान्सको तेस्रो ठूलो सहर लियोनको मध्य भागमा सडक अवरुद्ध गरिरहेका सयौँ मानिसमाथि प्रहरीले अश्रुग्यासका सेल प्रहार गरेको छ।

युनियनले आयोजना गरेको र्‍यालीमा अनुमानित ५ लाख ७५ हजार मानिस सहभागी भएको केही दिनपछि शनिबार करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रदर्शनको दायरा फराकिलो हुँदै इन्धनको उच्च मूल्यदेखि तलब र सामाजिक आवाससम्मका मुद्दाहरू यसमा समेटिएका छन्। कतिपय स्थानमा प्रदर्शनका क्रममा लुटपाट र हिंसासमेत भड्किएको छ।

प्रदर्शनकारीविरुद्ध ब्यारिकेड, अश्रुग्यास र लाठी प्रयोग गर्ने प्रहरीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लागेको छ। अल जजिराले युरोपभर दङ्गासहितका प्रदर्शनहरू कहाँ-कहाँ भए भन्ने नक्साङ्कन गरेको छ।

फ्रान्सबाट सुरु भएको थियो प्रदर्शन

आर्म्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटाको तथ्याङ्क विश्लेषणअनुसार सेप्टेम्बर १५ देखि अक्टोबर ३० को बीचमा शिक्षा, सार्वजनिक सेवा र जीवनयापनको लागतलाई लिएर फ्रान्सभर १०० वा सोभन्दा बढी मानिस सहभागी भएका १ हजार २०० भन्दा बढी प्रदर्शन तथा दङ्गाहरू भएका छन्।

यो आन्दोलन सेप्टेम्बरको मध्यमा हाई स्कुलहरूबाट सुरु भएको थियो, जहाँ विद्यार्थीहरूले खचाखच भरिएका कक्षाकोठा, शिक्षकको अभाव र जीर्ण भवनहरूको गुनासो गरेका थिए।

चाँडै नै यो बढ्दो महँगीविरुद्धको प्रदर्शनमा बदलियो र यसमा ट्रेड युनियन तथा येलो भेस्ट आन्दोलन पनि जोडिए। यसै क्रममा कतिपय ठाउँमा दङ्गा र लुटपाटसमेत भए।

सरकारी अनुमानअनुसार अक्टोबर १७ का दिन मात्रै देशभर ५ लाखभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए।

एसीएलईडीकी सीईओ क्लियोना रालीले अक्टोबर १९ मा बताएअनुसार संस्थाले विगत पाँच वर्षमा फ्रान्समा दैनिक औसत २०.५ वटा प्रदर्शन रेकर्ड गरेको थियो। ‘हालको प्रदर्शन चक्रमा यो सङ्ख्या बढेर दैनिक करिब ६६ पुगेको छ, जुन सामान्य दरभन्दा तीन गुणा बढी हो,’ उनले भनिन्।

रालीका अनुसार सामान्यतया प्रदर्शनका चक्रहरू करिब २० दिन वा ठूला आन्दोलनहरू ३६ दिनसम्म चल्ने गर्छन्। तर, एसीएलईडीको गणनाअनुसार यो आन्दोलन ४५ दिन पुगिसकेको छ र अझै जारी छ।

‘तर सबैभन्दा उल्लेखनीय भिन्नता भनेको मुठभेडको स्तर हो,’ उनले भनिन्, ‘अघिल्ला चक्रहरूमा औसत १.९ प्रतिशत घटना मात्र दङ्गामा वर्गीकृत हुने गरेकोमा यसपटक करिब एक चौथाइ अर्थात् २४.२ प्रतिशत घटनाहरू दङ्गाका रूपमा दर्ता भएका छन्। सन् २०२३ मा नाहेल मेर्जुकको मृत्युपछि भड्किएको अशान्तिमा मात्र योभन्दा उच्च अनुपात रेकर्ड गरिएको थियो।’

प्रहरीको प्रतिकार्यको पनि आलोचना भएको छ। अक्टोबर २८ मा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्द्वारा नियुक्त चार विज्ञहरूले विद्यार्थी प्रदर्शन तितरबितर पार्न फ्रान्सेली अधिकारीहरूले गरेको अत्यधिक बल प्रयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।

उनीहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘मुख्यतया नाबालिगहरूसहित हजारौँ मानिसलाई प्रभावित पार्ने गरी भएको पक्राउ र हिरासतको अनुपात असमान छ र यसले प्रदर्शनकारीहरूलाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्नबाट निरुत्साहित गर्छ।’

उत्तरी सहर लिलमा विद्यालयका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ग्रेनेड विस्फोट भएर एक किशोरले आफ्नो हात गुमाएका छन्।

युरोपभर प्रदर्शनको लहर

प्रदर्शन गरिरहेको फ्रान्स एक्लो देश होइन। सेप्टेम्बरको मध्यदेखि पोर्चुगलदेखि पोल्यान्डसम्मका अन्य ३० युरोपेली देशहरूमा पनि बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवाको अभावविरुद्ध प्रदर्शनहरू भड्किएका छन्।

एसीएलईडीको तथ्याङ्क विश्लेषणअनुसार सेप्टेम्बर १५ देखि अक्टोबर ३० को बीचमा युरोपभर १०० वा सोभन्दा बढी मानिस सहभागी भएका १ हजार ७०० भन्दा बढी प्रदर्शन र दङ्गाहरू भएका छन्।

अन्य देशका प्रदर्शनहरू फ्रान्सको जस्तो विशाल स्तरमा नपुगे पनि यो असन्तुष्टि बाहिर पोखिन थालेको सङ्केत हुन सक्ने एचईसी पेरिस बिजनेस स्कुलका युरोपेली सङ्घ कानुन तथा नीतिका प्राध्यापक अल्बर्टो अलेमानोले गत महिना अल जजिरालाई बताएका थिए।

‘फ्रान्स यस आन्दोलनको केन्द्रबिन्दु हो र अब यो फ्रान्सभन्दा बाहिर फैलिरहेको सङ्केतहरू देखिएका छन्,’ अलेमानोले भने।

कुन देशमा भए सबैभन्दा धेरै प्रदर्शन ?

फ्रान्सले प्रदर्शनको नेतृत्व गरिरहे पनि शिक्षामा कम बजेट, बढ्दो महँगी र सर्वसाधारणको पहुँचबाहिरको आवास जस्ता साझा समस्याका कारण एकै समयमा युरोपभर प्रदर्शनहरू सुरु भएका छन्।

एसीएलईडीको तथ्याङ्कअनुसार सेप्टेम्बर १५ देखि अक्टोबर ३० को बीचमा फ्रान्समा १ हजार २०० भन्दा बढी प्रदर्शन र दङ्गा भए भने त्यसपछि स्पेनमा १७३, इटालीमा १६०, जर्मनीमा ७० र पोर्चुगलमा ३३ वटा प्रदर्शन भएका छन्।

स्पेनमा अक्टोबर २ मा संसद्ले दुईवटा आपतकालीन आवास अध्यादेश (डिक्री) अस्वीकृत गरेपछि अक्टोबरको सुरुमा दशौँ हजार मानिसले प्रदर्शन गरेका थिए। संसद्को उक्त निर्णयले प्रधानमन्त्री पेड्रो सान्चेजको अल्पमतको सरकारलाई धक्का पुर्‍याएको थियो।

इटालीमा महँगीको सङ्कट र महँगो आवासविरुद्ध भएका प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। त्यस्तै, पोर्चुगलमा पनि महँगीको सङ्कट, न्यून ज्याला र प्रमुख सहरहरूमा आवास पाउन नसकिने अवस्थाको विरोधमा दशौँ हजार प्रदर्शनकारीले मार्चपास गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?