Comments Add Comment

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जले

१८ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो करिब १ बजेपछि नियन्त्रणमा आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले अनलाइनखबरलाई जानकारी दिइन् । उनले भनिन्, ‘३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएका छन् । जसमा २२ जना डेरावाल समेत आगलागीबाट पीडित बनेका छन् ।’

दुई वटा दमकलको प्रयोग गरेर बस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको खड्काले बताइन् ।जलेका घरमा रहेको आगो निभाउने काम भइरहेको र थप जोखिम नरहेको उनको भनाइ छ । बजारमा लागेको आगो बस्ती नजिकै रहेको जंगलमा सल्किएका कारण त्यसलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको खड्काले बताइन् ।

आगलागीमा परेका पीडितहरुलाई बस्ती नजिकैको खाली ठाउँमा टेन टांगेर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताइन् । उनले भनिन्, ‘उद्योग वाणिज्य संघ ताप्लेजुङले अग्नि पीडितहरुलाई खानेकुराको प्रवन्ध गर्ने र रेडक्रसले लत्ताकपडाको व्यवस्था मिलाउने आपतकालीन बैठकले निर्णय गरेको छ । सोही निर्णय अनुसार अहिले काम भइरहेको छ ।’

आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिले भन्न सकिने अवस्था नरहेको उनले बताइन् । पीडितहरुलाई तत्काल बस्न र खानाका लागि व्यवस्थापन गरेपछि क्षतिबारे लगत संकलन गरिने उनले बताइन् । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने भएपनि यसबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment