Comments Add Comment

मलेसियामा मृत्यु हुने श्रमिकको परिवारलाई आजीवन सामाजिक सुरक्षा

तीन लाख नेपाली श्रमिक सामाजिक सुरक्षामा

२८ माघ, काठमाडौं । मलेसियामा वैधानिक रुपमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षाबापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउनेबारे मलेसिया र नेपालबीच सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सस्को)बीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धन सम्बन्धी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाली राजदूतावास क्वालालम्पुरको सक्रियतामा समझदारीपत्रको मस्यौदामा विभिन्न चरणमा छलफल भएको थियो । अन्तिम मस्यौदालाई मन्त्रिपरिषद्को माघ २६मा बसेको वैठकले स्वीकृति प्रदान गरेको थियो ।

समझदारीपत्रमा बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र सस्कोका प्रमुख कार्यकारी अधिकृत डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका छन् ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिकहरु भर्ना गर्दा सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान छ ।

सोस्कोकाअनुसार हालसम्म करिब ३ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध छन् । सोस्कोमा आवद्ध हुन रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनुपर्ने हुन्छ ।

श्रमिकलाई के फाइदा ?

सोस्कोमा आवद्ध भएका विदेशी श्रमिकहरुले  ‘इम्प्लोयमेन्ट इन्जुरी स्किम फर फरेन वर्कर’ नामको योजनामा सामेल हुन पाउँछन् । योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा सो वापत तोकिएको क्षतिपूर्ति प्राप्त हुन्छ ।

योजना बमोजिम प्राप्त हुने लाभहरुलाई स्वास्थ्य लाभ, अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ, आश्रति लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च र पुनस्र्थापना सुविधा गरी वर्गीकरण गरिएको छ ।

यि लाभहरु कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभहरुका निम्ति सोस्कोले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको छ ।

कार्यस्थलमा हुने दुर्घटनाहरूको लागि रोजगारदाताले कार्डहरू वा उपस्थिति रेकर्डहरू, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपिसहित दुर्घटना रिपोर्ट फाराम भरेर सोस्को कार्यालयमा पेश गर्नुपर्ने हुन्छ ।

यदि काममा आउँदा वा कामबाट र्फकंदा दुर्घटना भएको छ भने यी कागजातहरूका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्छ ।  कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगवाट पीडित भएका श्रमिकहरुका लागि सोस्कोसँग आवद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा पाइन्छ ।

पूर्ण रुपमा अक्षमता भएका वा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरु तोकिएको मेडिकल बोर्डको सिफारिसका आधारमा निरन्तर उपस्थिति भत्ताका हकदार हुने व्यवस्था गरिएको छ ।

यसैगरी मृत्यु भएका श्रमिकहरुको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइन्छ । अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रति लाभ भने श्रमिक स्वयम् वा परिवारजनले पाउने सुविधाहरु हुन् ।

कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ ।

अस्थायी रुपमा काम गर्न असक्षम भएकाहरुले भने आय आर्जन तोकिएका शर्तका अधीनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्छन् । आश्रित लाभ अन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्न सक्ने व्यवस्था छ ।

मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था छ ।

यदि श्रीमान वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाई वा हजुरबा-हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । यस्ता लाभबापतका रकम  नेपाल ल्याउन अब बोर्डले समन्वाय र सहजीकरण गर्नेछ ।

समझदारीपश्चात मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा वापतका लाभहरुको प्रवाह गर्न, विचारको आदान प्रदान तथा श्रमिक तथा सरोकारवालाहरुको सचेतीकरणका मुद्दाहरुमा दुवै देशवीच सहकार्य बढ्ने अपेक्षा गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment