Comments Add Comment

बागमतीसँग पुलिसले लियो बदला, २ रनको रोमाञ्चक जित

२२ फागुन काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप क्रिकेटमा बागमती प्रदेशलाई २ रनले पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेटमा व्यहोरेको हारको बदला लिएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा बलरहरु हाबी बन्दा बागमतीले ७३ रनको लक्ष्यसमेत भेट्न सकेन । वेट आउटफिल्डका कारण ३८ ओभरमा छोट्याइएको खेलमा स्पिनर अरियो पौडेल र फास्ट बलर नन्दन यादव मिलेर उत्कृष्ट बलिङ गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ७२ रनमै अलआउट भएको थियो ।

७३ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसका स्पिनरहरु चम्केपछि बागमती २७.२ ओभरमा ७० रनमै अलआउट भयो । यस जितपछि पुलिसले गत माघमा प्रधानमन्त्री कपमा बागमतीसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

बागमतीलाई अलआउट गर्न पुलिसका स्पिनरहरुले ९ विकेट लिए । फास्ट बलर रासिद खानले अन्तिम विकेट लिएका थिए । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्दै सर्वाधिक २२ रन बनाए । अर्को ओपनर आदिल खानले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका दीपेन्द्र सिंह ऐरीले ८ ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ८ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ८ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । रासिदले जम्मा २ बल बलिङ गर्दा १ विकेट लिएर पुलिसलाई जित दिलाए ।

त्यसअघि ३८ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस २५.२ ओभरमा ७२ रनमा अलआउट भएको हो । अरियोले ४ र नन्दले ३ विकेट लिएपछि पुलिसको इनिङ्स ७२ रनमै सकिएको हो ।

पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए । यस्तै सुनिल धमला, अनिल शाह र दिलीप नाथले समान १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

बागमतीका लागि अरियोले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ४ विकेट लिए । यस्तै नन्दनले ६.२ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment