Comments Add Comment

ज्योतिषशास्त्र : पूर्णिमा र समुद्रमा आउने छालको सम्बन्ध के छ ?

हिन्दु पञ्चाङ्ग अनुसार एक वर्षमा १२ वटा पूर्णिमा मनाउने गरिन्छ । ती सबै पूर्णिमाको फरक फरक महत्व रहेका हुन्छन् । तिथि, बार, नक्षत्र, योग र करणको संयोजनमा बनेको ज्योतिष शास्त्रले वैज्ञानिक विषयलाई समेत महत्व दिएर आफ्नो सिद्धान्त तयार पारेको हुन्छ । यही पाँच अंगको संयोजनबाट बनेको ज्योतिषले हरेक महिना एउटा पूर्णिमा र एउटा अमावस्याको अवधारणा तयार पारेको छ । पूर्ण चन्द्रमा देखिने दिनलाई पूर्णिमा र पूर्ण रूपमा चन्द्रमा लुक्ने समयलाई ‌औंसीको रूपमा मान्ने गरिन्छ।

हिन्दू पञ्चाङ्गले ३० दिनको चन्द्रकलालाई १५-१५ दिनको दुई पक्षमा विभाजन गरेको हुन्छ, शुक्लपक्ष र कृष्णपक्ष । शुक्ल पक्षको अन्तिम दिनलाई पूर्णिमा र कृष्णपक्षको अन्तिम दिनलाई अमावस्या भनिन्छ । वर्षमा धेरै महत्त्वपूर्ण दिन र रातहरू हुन्छन्, जसले पृथ्वी र मानव दिमागमा गहिरो प्रभाव पार्छ। तिनीहरूमध्ये सबभन्दा महत्वपूर्ण दिन पूर्णिमा हो । सबै तिथिको फरक फरक महत्त्व हुन्छ।

पञ्चाङ्गले विभिन्न प्रकारका तिथिमा केही विशेष पर्वको समेत उल्लेख गरेको छ। ती तिथि र पर्वलाई फरक फरक नामले समेत चिनाउने गरिन्छ । पूर्णिमा (पुरानमसी), प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र अमावस्या । कार्तिक पूर्णिमा, मघा पूर्णिमा, शरद पूर्णिमा, गुरु पूर्णिमा, बुद्ध पूर्णिमा आदिलाई वर्षको १२ पूर्णिमाको मुख्य पूर्णिमा मानिन्छ।

पूर्णिमाको दिनमा के हुन्छ

चन्द्रको सम्बन्ध पृथ्वीको पानीसँग हुन्छ । जब पूर्णिमा आउँछ तब समुद्रमा ज्वारभाटा आउँछ भन्ने मान्यता छ । वाल्मिकी विद्यापीठमा अध्यापनरत ज्योतिष विषयका उपप्राध्यापक नेत्रप्रसाद अधिकारी चन्द्रमा समुद्र मन्थनबाट निस्किएको भन्ने शास्त्रीय मान्यता छ । यसरी आफैँले जन्माएको चन्द्रमालाई पूर्ण रूपमा उदाएको उत्साहमा समुद्रमा ज्वारभाटा आउँछ भन्ने ज्योतिषीय मान्यता रहेको बताउँछन् ।

यसमा वैज्ञानिक कारण पनि छन् । चन्द्रमाले पूर्णिमाको दिन समुद्रको पानी माथि तान्छ। मानव शरीरमा लगभग ७० प्रतिशत पानी हुन्छ भन्ने वैज्ञानिक शोधले देखाएको छ। यो पानीको गति र गुणहरू पूर्णिमाको दिनमा परिवर्तन हुन्छ। वैज्ञानिकहरूका अनुसार यसदिन चन्द्रमाको प्रभाव एकदमै प्रबल हुन्छ । यी कारणहरूले गर्दा रगतमा रहेका न्युरोन कोषहरू शरीरभित्र सक्रिय हुन्छन् र यस्तो अवस्थामा व्यक्ति बढी उत्साहित वा भावनात्मक हुन्छ भन्ने धार्मिक विश्वास छ ।

यस्तो अवस्था हरेक पूर्णिमाको दिन हुन्छ भन्ने ज्योतिषीय मत छ । जसमा मन्दाग्नि सम्बन्धी समस्या छ वा पेटमा चयउपचय सम्बन्धी समस्या छ भने त्यस्ता व्यक्तिहरूले खाना खाइसकेपछि नशा लागेको जस्तो महसुस गर्छन् र न्युरोन कोषहरू शिथिल हुने एव‌‌ं जसको कारण दिमागको प्रभाव शरीरमा कम हुँदै जाने हुन्छ । त्यस्ता व्यक्तिहरूमा चन्द्रको प्रभावले गलत प्रभाव पर्न थाल्छ भन्ने मान्यता छ ।

पूर्णिमाको धार्मिक महत्व

पुराणहरूका अनुसार माघ पूर्णिमाको दिनमा देवीदेवताहरूले मानव रूप लिए र गंगा स्नान गरेका थिए । त्यसैले माघ पूर्णिमाको दिन स्वास्थानी व्रतको समाप्ति एवं सत्यनारायणको कथा सुन्न गरिन्छ । पूर्णिमाको दिन भगवान शिव र भगवान विष्णुको पूजा गरिन्छ। यसदिन कसैले सत्यनारायणको कथा पनि सुन्ने र सुनाउने गर्छन् ।

यसदिन नुहाइसकेपछि पूर्वजहरूप्रति तर्पण गर्ने र पूरै दिन उपवास बस्ने गर्नुपर्छ । पूर्णिमाको दिनमा दानको पनि विशेष महत्त्व हुन्छ भन्ने मान्यता छ । तसर्थ, आफ्नो क्षमता अनुसार गरिब व्यक्तिलाई दान दिनु उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment