Comments Add Comment

नर्थ मेसोडोनियासँग जर्मनी स्तब्ध, विश्वकप छनोटमा २० वर्षपछि पहिलो हार

१९ चैत काठमाडौं । फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा जर्मनी नर्थ मेसोडोनियासँग २-१ ले पराजित भएको छ । विश्वकप छनोटमा जर्मनीको २० वर्षपछि पहिलो हार हो । यसका साथै विश्वकप छनोटमा जर्मनीको ३५ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

एलजिफ एल्माले खेल सकिन पाँच मिनेट अगाडि गोल गरेपछि नर्थ मेसेडोनियाले चार पटकको विश्व विजेता जर्मनीलाई स्तब्ध बनाएको हो ।

गोरन पान्डभले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै मेसेडोनियालाई पहिले अग्रता दिलाएका थिए । ६३औं मिनेटमा एल्के गुन्डाऊवनले जर्मनीका लागि पेनाल्टीमा बराबरी गोल फर्काए । एल्माले मेसेडोनियाका लागि ८५औं मिनेटमा निर्णायक गोल गर्नुअघि जर्मनीका टिमो वेर्नरले गोल गर्ने अवसर गुमाएका थिए ।

विश्वकप छनोटमा समूह जे मा जर्मनीको यो पहिलो हार हो र गोल व्यहोरेको पनि पहिलो खेल हो ।

सन् २००१ मा इंग्ल्याण्डसँग ५-१ ले हारेयता जर्मनी छनोटमा पहिलो पटक पराजित भयो । जर्मनीका प्रशिक्षक योकिम लोले यो निराशाजनक रहेको प्रतिक्रिया दिए ।

समूह जे ‘मा’ नर्थ मेसेडोनियाको यो दोस्रो जित हो । जितपछि तीन खेलबाट ६ अंकसहित मेसेडोनिया दोस्रो स्थानमा उक्लेको छ । जर्मनीको पनि समान ६ अंक भए पनि गोलअन्तरमा पछि छ । लगातार तीन खेल जित्दै ९ अंक जोडेको अर्मेनिया शीर्ष स्थानमा छ । अर्मेनियाले रोमानियालाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो ।

जर्मनीलाई पराजित गरेपछि नर्थ मेसेडोनियाका प्रशिक्षक इगोर अलगेलोभ्स्कीले यसले राष्ट्रलाई गौरवान्वित बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment