Comments Add Comment

पर्साको जगरनाथपुर गाउँपालिकामा युवकको शव फेला

२० चैत, वीरगञ्‍ज। पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शव फेला परेको छ । जगरनाथपुर–२ लक्ष्मीपुर बस्ने १९ वर्षीय नितेश कुमार चौहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले बताए।

उनका अनुसार जगरनाथपुर–५ जानकीटोलास्थित सिक्टा पुलमा बिहीबार राति उनी मृत भेटिएका थिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको थियो ।

अस्पतालले दिएको प्रारम्भिक रिपोर्ट अनुसार मृतकको कानको जाली फुटेको, टाउकोको हड्डी भाँचिएको र पेटमा चोटमा लागेर कलेजो फुटेको छ । युवकको मृत्युको कारण यकिन भइसकेको छैन । तर कुनै गाडीले ठक्कर दिएर फरार भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

हिट एण्ड रन केस हुन सक्ने आशंकामा अनुसन्धान शुरु गरेको प्रहरीले  जनाएको छ । ‘राति पुलमा रगत नै रगत भएको अवस्थामा शव भेटिएको हो । कानबाट रगत बगेको रहेछ ।’ उनले भने ‘पुल मुनी साईकल भेटियो । ‘हिट एण्ड रन’ केस हुनसक्ने आशंकामा अनुसन्धान शुरु गरेका छौं । त्यतिबेला त्यस क्षेत्रमा गुडेका ट्रक र ट्याक्टर लगायत सवारी साधनको खोजी गरिरहेका छौं । ’

सवारी दुर्घटनाले हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए।

‘शवको अवस्था हेर्दा हिट एण्ड रन जस्तो लागे पनि विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं।’ डिएसपी कार्कीले भने, ‘अहिले नै निष्कर्षमा पुगिहाल्ने अवस्था छैन। पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धानमा सघाउ पुग्छ। ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment