Comments Add Comment

हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद

२ चैत, काठमाडौं । शरीरमा कमिज–सुरुवाल, खुट्टामा चप्पल । ठूलो जीउडाल भए पनि हेर्दै कमजोर लाग्थ्यो । वृद्धावस्थातिर प्रवेश गर्दै गरेको देखिने मानिस कोलकाताको दमदम  केन्द्रीय कारागारका जेलरको कोठातिर प्रवेश गरे ।

दायाँतिर लहरै राखिएका कुर्सीमा बसेका प्रकाशचन्द्र तिम्सिना, गोपाल तिम्सिना र इन्द्र बस्नेतले ढोकातिर पुलुक्क हेरे । झण्डै ४० वर्षअघि हराएका प्रकाशका ठूलोबुबाका छोरा दुर्गाप्रसाद तिम्सिना (दीपक) अगाडि उभिएका थिए ।

२०३४/३५ सालतिर गोठमा उनीसँगै सुतेको प्रकाशलाई मधुरो सम्झना छ । त्यसवेलाको अनुहार भने स्पष्टसँग याद छैन । ‘थोरै हो र, ४० वर्ष !’ आश्चर्यमिश्रित भावमा उनी भन्छन् ।

साढे १९ वर्ष छँदा इलामको माई नगरपालिका–१० स्थित घरबाट दीपक निस्किएका थिए । त्यसपछि नफर्किएका उनी जीवित छन्/छैनन् अत्तोपत्तो थिएन । तर, हराएको ४१औं वर्ष १० फागुन २०७७ मा दुई आमनेसामने भइरहेका थिए ।

तीन घन्टा सवाल–जवाफ

प्रकाशको सम्झनामा कोठामा आउँदा दीपक डराइरहेको देखिन्थे । ‘मलाई फेरि कुट्न, मार्न वा पछार्न लगिंदैछ वा के गरिन्छ भन्ने त्रास उहाँमा देखिन्थ्यो’ उनले भने, ‘हिन्दी, बंगला, उर्दू वा अंग्रेजी कुन भाषामा सोधिन्छ र नेपालीबाहेक बोल्न सक्दिनँ भनेर पनि समस्या भएजस्तो लाग्थ्यो ।’

‘नमस्ते !’, जेलरको छेउमा बस्ने वित्तिकै प्रकाश, गोपाल र इन्द्रले हात जोडे । दीपकले हात उठाए, बोलेनन् ।

जेलरले थप कुरा गर्न संकेत दिएपछि प्रकाश र दीपकबीच सवाल–जवाफ शुरु भयो । जति प्रश्न गरे पनि दीपक संक्षिप्त उत्तर दिन्थे, प्रतिप्रश्न गर्दैनथे ।

शुरुआतमा प्रकाशले सोधे, ‘हजुरको बुबाआमाको नाम के हो ?’

– बुबा चम्पाखर र आमा धनमाया तिम्सिना ।

दाजुभाइ कति जना हो ?

– हामी तीन भाइ हौं । जेठो म, माइला केदार र कान्छा धर्मानन्द । बहिनी पवित्रा हो ।

दश वर्षअघि राधेश्याम दास नामक व्यक्तिले कोलकाता जेलमा दीपकलाई देखेका रहेछन् । दोस्रो पटक पनि दमदम जेलमा पुग्दा उनलाई देखेपछि ४० वर्षदेखि जेलमा बसेको विषय सार्वजनिक भयो

पारसलाई चिन्नुभएको छ ? (प्रकाशका दाइ)
– मेरो भाइ हो । रघुनाथ बडाबाको छोरा ।

हाम्रोमा आएर मोही लिएर फिर्ने क्रममा कुन बाटोबाट जानुहुन्थ्यो ?
– लावतीको घरको बाटो हुँदै पेलेवाबाट जान्थें ।

पारसको भाइलाई चिनेको थियो ?
– अँ… ।

तपाईंसँगै गोठमा सुत्ने मान्छे याद छ ? म त्यही पारसको भाइ हुँ ।

(यो प्रश्नमा दीपक बोलेनन् । प्रकाशसँग हात मिलाए, अंकमाल गरे ।)

प्रकाश आफैं फेरि बोले, ‘अब चाँडै घर जानुपर्छ है नेपाल ।’ जवाफमा दाइले ‘मुन्टो हल्लाएको’ उनी सम्झन्छन् । झण्डै तीन घन्टा दाइसँग बिताएका उनलाई कुराकानीका क्रममा दाइको मानसिक अवस्था ठीक नभएको महसूस भएन ।

अदालतले चाहिं उनलाई मानसिक समस्या भएको भन्दै जाँच गराएर सुधार गृहमा राखेर छाड्न भनेको थियो । उनको पक्षमा बोल्ने कोही मान्छे नभएपछि प्रशासनले उनलाई जाँचसमेत गराएको थिएन ।

‘उहाँ मानसिक रूपमा एकोहोरिनुभएको थियो । तर, अरूले भनेजस्तो दिमागी समस्या होइन’ प्रकाश भन्छन्, ‘४० वर्षसम्म जेलमा तपाईं हामी पनि बस्नु परेको भए शायद यस्तै हुन्थ्यो । बाहिरी वातावरणमा आएपछि सहज होला ।’

यो पनि पढ्नुहोस उच्च अदालत कोलकातामा दुर्गाप्रसादको सुनुवाइ सकियो, आज छुटेनन्

किन जेल परे ?

प्रकाशका अनुसार दीपक सात वर्षको हुँदा बुवाको मृत्यु भयो । दुर्घटनामा आमाको एउटा हात काटेर फाल्नुपर्‍यो । परिवार धान्नुपर्ने जिम्मेवारी आफूकहाँ आएपछि उनी तोरी बेच्न भन्दै मंगलबारेतिर गए ।

‘अलिकति पैसा भएपछि काम पाइन्छ कि भनेर दार्जीलिङतिर जानुभएछ’ प्रकाश थप्छन्, ‘त्यहीं हुँदा पक्राउ गरेर जेल पर्नुभएको रहेछ ।’ तर, उनी के घटनामा जेल परेका हुन् भन्ने अहिले पनि स्पष्ट छैन ।
प्रकाशका अनुसार केही वर्षअघि जेलमा आगलागी हुँदा उनको कागजपत्र जलेको पाइएको छ । मुद्दामा निरन्तर फलो गर्ने मान्छे पनि नहुँदा कागजहरू हराए ।

हालसम्म दीपक आफैंले के घटना भएको थियो भन्ने खुलाएका छैनन् । तर, उनी जेल पर्नु पछाडि तीन आशंका बाहिर आएको प्रकाश सुनाउँछन् । ‘कतिपयले दाइलाई तीन वटा केस लागेको पनि लेखेका छन्, खासमा एउटै केस तीन किसिमले व्याख्या गरिएको हो’, उनी भन्छन् ।

परिवारबारे दीपकले लेखेको पाना । तस्वीरः पश्चिम बंगाल रेडियो क्लब

पहिलो, दार्जीलिङ चिया कमानमा काम गरिरहँदा चियाबारीमा लाश देखियो । अरू घरतिर भागे । तर, प्रकाशको भाग्ने ठाउँ थिएन । गोरखाल्याण्ड आन्दोलन चलिरहेका बेला उनी पक्राउ परे र दोष थोपरियो ।

दोस्रो, दीपक जुन घरमा डेरा गरेर बस्थे, कमाइ गरेको पैसा त्यही घरकी श्रीमतीलाई राख्न दिएका थिए । केही समयपछि घरमुलीले उनी श्रीमतीसँग लागेको शंका गरे । दम्पतीको झगडामा श्रीमतीको मृत्यु भयो र दोष चाहिं दीपकलाई लगाइयो ।

तेस्रो चाहिं, दीपक जागिरको खोजीमा रहेका वेला कसैले ‘यो व्यक्तिलाई मारे’ जागिर दिन्छु भनेर किशोरावस्थामा प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, घटना के भएको थियो भन्ने चाहिं दीपक नेपाल आइसकेपछि खुल्नेछ ।

प्रकाशका अनुसार त्यसअघि नै घटना भएको भनेर खोजी गर्नेबारे नसोचिएको पनि होइन । तर, ४० वर्षअघि त्यो घटना थाहा पाउने कति होलान् ? चिन्ने कति होलान् ? जस्ता प्रश्नले दार्जीलिङ जान आँट नगरेको उनी बताउँछन् ।

२०६९ सालमा आएको त्यो पत्र

वर्षौंसम्म कुनै खबर नपाएपछि परिवारले दीपकको माया मारिसकेका थिए । आन्दोलनमा ज्यान गयो कि भन्ने पनि सोचेका थिए । तर, २०६९ सालमा एउटा पत्र आइपुग्यो, जसमा दीपक जैसी नाम लेखिएको थियो ।

‘दाइको नाम दुर्गाप्रसाद तिम्सिना थियो, दीपक जैसी आएकाले कसैले मजाक गर्‍यो कि भन्ने लाग्यो’ प्रकाश भन्छन्, ‘तर, जेलमा हुँदा जात के हो भनेर सोध्दा उहाँले जैसी बाहुन भन्नुभएको रहेछ र घरमा बोलाउने नाम दुपट टिपाएकाले कागजपत्रमा नाम दीपक जैसी भएछ ।’ त्यही कुराले आफूहरूलाई अलमलमा पारेको उनी बताउँछन् ।

पत्रबारे सामान्य बुझ्ने काम भयो । पत्रमा आफू जेलमा रहेको उल्लेख थियो, त्यसलाई पछ्याउँदै परिवारका सदस्यले भारत जाने कोशिश पनि गरे । त्यही क्रममा दीपकको खोजीमा रहेका दाइ केवलराम तिम्सिना, माइला भाइ केदार र भिनाजु होमनाथ फुँयालको निधन भयो, त्यसले भारत जाने योजना रोकियो । ‘अघिल्लो वर्ष चैतमा फेरि भारत जाने योजना बनाएका थियौं तर, लकडाउनले मौका मिलेन’, प्रकाश भन्छन् ।

कैदी छुटेपछि बाहिरिएको घटना

प्रकाशका अनुसार १० वर्षअघि राधेश्याम दास नामक व्यक्तिले कोलकाता जेलमा दीपकलाई देखेका रहेछन् ।

माओवादीको आरोपमा दोस्रो पटक गत फेब्रुअरीमा दमदम जेलमा पुग्दा दीपकलाई त्यहीं देखेछन् । ‘त्यसपछि उहाँहरूबीच कुराकानी भएछ र वर्षौंदेखि जेलमा रहेको थाहा पाएपछि दासले छुटेर वेस्ट बंगाल रेडियो क्लबमा खबर गर्नुभएछ’ उनी भन्छन्, ‘त्यसपछि क्लबकै पहलमा उहाँ ४० वर्षदेखि जेलमा रहेको कुरा बाहिर आयो ।’

क्लबबाट ह्याण्ड रेडियो अपरेटर संस्थासम्म कुरा पुग्यो, त्यहाँ कोलकाताको उच्च अदालतका वकिल हिरक सिन्हा, अम्बारिस नाग विश्वासलगायत सदस्य थिए । त्यसपछि सिन्हाहरूले दार्जीलिङसम्म पुगेर उनको विवरण संकलन गरेर दिल्लीस्थित नेपाली दूतावासलाई खबर गरेका थिए ।

यता परिवारले भने दीपकलाई खोज्न दार्जीलिङ घर भई कोलकाता बस्ने एक जना वकिलसँग समन्वय गरिरहेका थिए । उनीमार्फत कारागारमा दीपक जैसी नाम गरेका व्यक्तिलाई भेरिफाई गर्ने प्रयास भइरहेका वेला २ मंसिर २०७७ साँझ ६ बजेतिर प्रकाशलाई एउटा फोन आयो, जसले उनको मुहारमा खुशी ल्यायो ।

दिपकको आमा र भाइ प्रकाश ।

इलामका साथी रोम शर्माको फोन थियो त्यो । उनले जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी टंक गौतमलाई फोन गर्न आग्रह गरे । त्यहाँबाट केदार अधिकारीहुँदै वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलसम्म उनी पुगे । खरेल ह्याण्ड रेडियो अपरेटर संस्थाका सदस्य रहेछन् र उनीमार्फत नै दीपकको खबर नेपालसम्म आइपुगेको प्रकाश बताउँछन् ।

खरेलले नै प्रकाशसहित परिवारका अन्य सदस्यलाई दिल्लीस्थित नेपाली दूतावासमा सम्पर्क गराइदिए । त्यहाँबाट हराएका दाइ दीपकको बारेमा आफूलाई सोधिएको प्रकाश बताउँछन् ।

विश्वभरि हराएका मानिसहरूको खोजीमा सहयोग गर्ने संस्था विश्व सेवा विस्तारका इन्द्र बस्नेतले पनि प्रकाशलाई ५ पुसमा फोन गरे । बस्नेतको सम्पर्क भारतको वेस्ट बंगला रेडियो क्लबसँग रहेछ ।

‘क्लबले बुबाआमाको नाम अनुसार मिल्ने गरी नाता प्रमाणित कागजपत्र ल्याउन भनेको थियो’ प्रकाश सम्झन्छन्, ‘प्रशासनदेखि वडा कार्यालयसम्मबाट नाता खुलाएर कागज तयार गर्‍यौं ।’ कानूनी पाटोमा संस्थाले सहयोग गरेको प्रकाश सुनाउँछन् ।

‘नाता प्रमाणित पत्रलगायत देखाएपछि र दीपकले कापीमा लेखेअनुसार नै नाम भएको पुष्टि भएपछि जेलरले भेट्न अनुमति दिएका थिए’ प्रकाशले अनलाइनखबरसँग सुनाए, ‘जेलरलाई पनि उनी त्यहाँ त्यत्रो समयदेखि राखिएको थाहा रहेनछ ।’

दीपककी आमा धनमायाको फोटो पनि जेलरलाई दिइएको थियो, त्यो फोटो देखाएर सोध्दा दीपकले ‘आमा हो’ भन्दै खुशी व्यक्त गरेको जेलरले सुनाएको प्रकाश बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

ट्रेन्डिङ

Advertisment