
१९ जेठ, इलाम । मनोहर माईजोगमाई गाउँपालिका र थुम्के साहित्यिक समूहको संयुक्त प्रस्तुति ‘थुम्के साहित्यिक महोत्सव २०८२’ सम्पन्न भएको छ । जेठ १५ र १६ गते इलामको मनोहर माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारका विभिन्न स्थानमा साहित्य, संस्कृति र समाजका विविध पक्ष समेटिएको महोत्सवमा रैथाने संस्कृति र साहित्यका विविध कार्यक्रम गरिएको थियो ।
अमर कल्याण नमुना माध्यमिक विद्यालय, नयाँबजारको प्रमुख व्यवस्थापकीय सहयोगमा भएको दुईदिने महोत्सवमा कविता उत्सव, चिया संवाद, कला संवाद, पुस्तक वार्ता, पुस्तक लोकार्पण, सूर्योदय सिर्जना लगायत विविध साङ्गीतिक एवं सांस्कृतिक प्रस्तुति आयोजना गरियो ।
माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे र विशिष्ट अतिथि वरिष्ठ कवि डा. नवराज लम्सालको उपस्थितिमा पालिकाका प्रमुख पर्यटकीय स्थल मलुपोखरीको भ्रमण गर्दै थुम्के साहित्य सुरु भएको महोत्सवको पहिलो दिन कविता उत्सव अन्तर्गत माध्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता वाचन, चियासंवाद लगायतका कार्यक्रम गरिएको थियो ।
प्रतियोगितामा नेपालज्योति माविका सौरभ तामाङ प्रथम, अमर कल्याण नमुना माविका छात्राद्वय प्रश्ना कार्की र एल्भिसा भट्टराई दोस्रो र तेस्रो भए । नामसालिङ नमुना माविकी शिक्षा घिमिरेले प्रोत्साहन पुरस्कार पाइन् ।
महोत्सवको प्रथम दिन चिया संवादलाई यस क्षेत्रको चियाको समस्यामा केन्द्रित थियो । चियाबारीका दृश्य–अदृश्य कथा शीर्षक दिइएको कार्यक्रममा चिया श्रमिक अस्मिता शेर्पा र स्थानीय चिया उद्यमी सुबोध पौडेल र उत्पादक ज्ञानबहादुर ढकाल वक्ताका रूपमा भएका थिए ।
नेपाल पत्रकार महासङ्घ इलाम शाखाका अध्यक्ष भीम चापागाईंले सहजकर्ताको भूमिका निर्वाह गरेको उक्त कार्यक्रममा माईजोगमाईको चिया उत्पादन, प्रशोधन, बजारीकरण, श्रम तथा श्रमिकका कथा प्रस्तुत गरिएको थियो ।
जेठ १६ को दोस्रो तथा अन्तिम प्रस्तुतिमा माईजोगमाईको प्रमुख पर्यटकीय स्थल थुम्केरानीमा सूर्योदय सिर्जना भएकोमा पूर्व क्षेत्रका वरिष्ठ सर्जकहरु धरणी गौतम, रविमान लम्जेल, टिका घिमिरे, प्रकाश थाम्सुहाङ, दिवाकर भण्डारी, इन्द्रनारायण सुवेदी, लगायत स्रष्टाका कविता वाचनका साथै वरिष्ठ गायक देवी गौतम, भूपेन्द्र राई, वृष प्रधान र कमल अर्याल लगायतका स्रष्टाले गायन प्रस्तुति दिएका थिए ।
‘माईजोगमाईको कला : आस्था, अवस्था र सम्भावना’ शिर्षक दिइएको दोस्रो दिनको कार्यक्रममा पालिकाका उपाध्यक्ष प्रविना राई, अमर कल्याण नमुना माविका प्रधानाध्यापक धनबहादुर भण्डारी, राष्ट्रिय स्तरमा ख्याति आर्जन गरेका यस क्षेत्रका प्रतिभा गीतकार तथा सञ्चारकर्मी महेश आचार्यको बक्ताका रूपमा सहभागी थिए । संवादमा डा. हेम भण्डारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
रैथाने सिर्जनाको आकृति शिर्षक दिइएको पुस्तकवार्ता महोत्सवको आकर्षण बनेको आयोजकले जनाएको छ । पूर्वी क्षेत्रका सर्जक केशवराज पौडेल र नारायणप्रसाद चँदाराका कृतिहरु क्रमशः नमुना मदन र प्रधानबा दुई कृति विमोचन समेत गरिएको कार्यक्रममा ती पुस्तकको समीक्षात्मक चर्चा समेत भएको थियो ।
कृतिकारद्वयका साथमा चर्चित कवि/निबन्धकार प्रकाश थाम्सुहाङ र समालोचक डा. हेम भण्डारीसित गीतकार तथा सञ्चारकर्मी महेश आचार्यले पुस्तकवार्ता गरेका थिए ।
प्रमुख अतिथि पालिका अध्यक्ष कुशबहादुर थेबे, विशेष अतिथि उपाध्यक्ष प्रविना राई, विशिष्ट अतिथि डा. नवराज लम्साल, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत तथा यस इलाकाका सर्जक डा. हेम भण्डारीलाई सम्मान गरी कार्यक्रम समापन भएको थियो ।
दोस्रो संस्करणमा भेटौँ नयाँबजारमा भन्दै पर्यटन, पर्यावरण र प्रकृति पहिचान र सिर्जनाका लागि साहित्यमा पर्यटन, पर्यटनमा साहित्य मूल नाराका साथ आयोजित थुम्के साहित्य महोत्सवको प्रथम संस्करणलाई पूर्णता दिइएको छ ।
प्रतिक्रिया 4