Comments Add Comment

चिनियाँ नागरिकले किन खिचे एटीएमको सिरियल नम्बर ?

काठमाडौं प्रहरी प्रमुख भन्छन् – लुटको पूर्वतयारी हुनसक्छ

२० चैत, काठमाडौं । मंगलबार साँझ मेगा बैंकको सीसीटीभी मनिटरिङ रुममा ज्याठाको एटीएमभित्र एउटा अस्वाभाविक दृश्य देखियो । बुथमा छिरेका एक व्यक्तिले पैसा निकाल्नुको साटो एटीएम मेसिन कोट्याउन थाले । झोलाबाट एउटा चाबी निकालेर एटीएमको अगाडिको भाग खोले ।

मनिटरिङ रुपमा रहेका कर्मचारीले तत्काल बैंकका म्यानेजरलाई खबर गरे । बैंकबाट प्रहरी वृत्त, दरबारमार्गका प्रमुख रामेश्वर पौडेललाई खबर पुग्नुअघि शंकास्पद गतिविधि गरेका व्यक्ति एटीएम बुथबाट निस्किसकेका थिए ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) पौडेलका अनुसार एटीएमको अगाडिको भाग खोलेर सिरियल नम्बरको फोटो खिचेको सीसीटीभी फुटेजमा स्पष्ट देखिन्थ्यो । एटीएमबाट रकम चोर्ने उद्देश्य नदेखिएपछि प्रहरीलाई लाग्यो, ‘उनी अर्को एटीएममा पनि जानसक्छन् । त्यसैले दरबारमार्ग प्रहरीको सादा पोशाकको टोली संदिग्ध व्यक्तिको तस्वीर लिएर अन्य एटीएममा ‘एम्बुस’ थापेर बस्यो । नभन्दै उस्तै अनुहार गरेको व्यक्ति केहीपर रहेको अर्को एटीएम बुथमा देखिए ।

‘सकेसम्म रंगेहात समात्न पाए हुन्थ्यो भन्ने दाउ थियो, सोहीअनुसार अर्को बुथमा पनि एटीएमको अगाडिको भाग निकाल्न खोजेपछि पक्राउ गर्‍यौं’, डीएसपी पौडेल भन्छन्, ‘पक्राउ गरेपछि प्राविधिक अनुसन्धान गर्नुपर्ने भएकाले थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर, टेकु बुझायौं ।’

चिनियाँको बयान : मेरो काम फोटो खिच्ने मात्रै

पक्राउ परेपछि सोधपुछ गर्ने क्रममा उनी चीनको हुवे प्रान्त बस्ने २९ वर्षीय वाङ सिओलु भएको खुलेको काठमाडौं प्रहरी प्रमुख अशोक सिंह बताउँछन् । उनका अनुसार भाषा अनुवादकको सहयोग लिएर गरिएको अनुसन्धानका क्रममा उनले आफ्नो रकम चोरी गर्ने उद्देश्य नभएको दाबी गरे ।

चीनमा बस्ने एक साथीले चाबीसँगै ६५ डलर दिएर नेपालको एटीएम खोलेर फोटो खिचेर पठाउन अह्राएको सिओलुको भनाइ छ । ‘पहिलो प्रयासमा एटीएम नै खुलेन, दोस्रो प्रयासमा फोटो खिच्नेवित्तिकै प्रहरीले समातिहाल्यो’, उनको बयानलाई उदृत गर्दै प्रहरी स्रोत भन्छ, ‘साथीसँग फेरि सम्पर्क हुनै पाएन ।’

त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको सिओलुको दाबी छ । प्रहरी अनुसन्धान अनुसार उनले नेपाल आएको दुई दिनमा फर्किने तयारी गरेका थिए । ‘नेपाल आउनुअगावै उनले ठमेलको सञ्चयकोष पछाडि रहेको एम होटलमा अनलाइनमार्फत कोठा बुकिङ गरेका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘दुई दिनमा तस्वीर खिचेर चीन पठाएपछि फर्किने योजना उनको थियो ।’

हाम्रा बैंकले प्रयोग गरेका प्रविधिमा भएको कुनै कमजोरी पत्ता लगाएर चोरी गर्न सकिन्छ कि भन्ने उद्देश्य लिइएको हुनसक्छ – सञ्जय तिम्सिना, पूर्वप्रहरी निरीक्षक

प्रहरीले उनी बसेको एम होटलको ४०५ नम्बर कोठामा पनि छापा मारेको छ, जहाँ एटीएममा प्रयोग गर्ने चाबी, ल्यापटप, ड्रिलिङ मेसिन, नाम नलेखिएका मास्टर कार्ड बरामद भएको दरबारमार्गका डीएसपी पौडेल बताउँछन् । प्रहरीका अनुसार ९० दिनको पर्यटक भिसामा नेपाल आएको अध्यागमन विभागको रेकर्डले देखाउँछ भने नेपाल आएकै दिन एटीएम बुथमा छिरेको देखिन्छ ।

लुट्नुपूर्वको तयारी हुनसक्छ : एसएसपी सिंह

अनुसन्धानमा संलग्न अधिकृतहरुले चिनियाँ नागरिकले फेरि नेपालमा एटीएम लुट्ने योजना बनाएको हुनसक्ने आशंका गरेका छन् ।

विगतमा भएका एटीएम लुटपाटमा चिनियाँ नागरिकको संलग्नता रहेकाले पनि उनीहरुले यो अनुमान गरेका हुन् । यद्यपि, चिनियाँले किन एटीएमको तस्वीर खिचे भन्ने स्पष्ट भइसकेको छैन । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘एटीएममा कुन प्रविधिको प्रयोग भएको छ, त्यो हेरेर ह्याक गर्न सकिन्छ/सकिन्न यकिन गर्न खोजेको हुनसक्छ ।’ तर, नेपाली एटीएमको विवरण चीन पठाउनु अगावै एजेन्ट समातिएकाले तत्काललाई दुर्घटना टरेको सिंह बताउँछन् ।

दरबारमार्गका डीएसपी पौडेल पनि एटीएम ह्याक गरेर पैसा निकाल्न खोजिएको हुनसक्ने कुरालाई नकार्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘पक्राउ परेका व्यक्तिको मोबाइल र ल्यापटपबाट केही खुल्छ कि भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएका छौं ।’

यो पनि पढ्नुहोस एउटा चाबी, जसले खोल्यो चिनियाँ ह्याकरको रहस्य

नेपाली एटीएममा चिनियाँ अपराधीको नजर

चिनियाँ नागरिकले यसअघि पनि दरबारमार्गको एटीएम बुथलाई प्रयोग गरेर रकम चोरी गरेका थिए । प्रहरीले १४ भदौ २०७६ मा दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथबाट अस्वाभाविक रुपमा रकम निकाल्दै गर्दा चिनियाँ नागरिक झु लियाङलाई पक्राउ गरेको थियो ।

प्रभु बैंकको कार्ड प्रयोग गरेर रकम निकालेको थाहा पाएलगत्तै बैंकले काठमाडौं प्रहरीलाई खबर गरेको थियो । त्यसपछि तत्कालीन डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनलाई समातेको थियो ।

अनुसन्धानका क्रममा थप चारजना पक्राउ परे भने उनीहरुले एक करोड २६ लाख ४५ हजार रुपैयाँ एटीएमबाट निकालेको खुल्यो । छानविनका क्रममा एटीएमबाट रकम चोरीमा विगतभन्दा फरक शैली प्रयोग गरेको पनि देखियो । सिस्टममै मालवेयर एट्याक गरेरे रकम निकालेको पाइएको थियो ।

अघिल्लो वर्षको घटनापछि बैंकहरुले प्रणालीमा केही फेरबदल गरेकाले पनि चिनियाँले त्यसलाई बुझ्ने कोशिस गरिरहेको हुनसक्ने एक अनुसन्धान अधिकृत बताउँछन् ।

पूर्वप्रहरी निरीक्षक सञ्जय तिम्सिना सिरियल नम्बर लैजाँदैमा पैसा चोरिहाल्न सम्भव नहुने, तर एटीएम प्रणालीमा छिर्ने बाटो खोजिरहेको हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताउँछन् । एटीएम चोरीसम्बन्धी थुप्रै अपराध अनुसन्धानमा संलग्न उनी भन्छन्, ‘हामीले प्रयोग गरेका प्रविधिमा भएको कुनै कमजोरी पत्ता लगाएर चोरी गर्न सकिन्छ कि भन्ने उद्देश्य पनि लिइएको हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment