Comments Add Comment

एमाले अध्यक्ष ओलीले गरे घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन

१९ चैत, काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।

ओली पक्षीय नेताहरु मात्र उपस्थित भएको ७ चैतको  केन्द्रीय कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।

नेता नेपाल र रावलले चैत १२ गते जवाफ दिएका थिए । तर चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिना पार्टी सदस्यबारे निलम्बन गरेका थिए भने भुसाल र पाण्डेलाई २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएका थिए ।

दुवैले १७ गते स्पष्टीकरण पठाए । स्पष्टीकरणमा पार्टी एकतालाई विखण्डन गर्ने, अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार प्रस्तुत गरेको भन्दै अध्यक्ष ओलीले दुवैलाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका हुन् ।

स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो त्रुटि स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मालोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको पनि ओलीले उल्लेख गरेका छन् ।

पत्रमा ओलीले भनेका छन्, ‘आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हाँस्यास्पद कार्य गरेको देखियो ।’

हेर्नुहोस् अध्यक्ष ओलीले नेता पाण्डेलाई पठाएको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment