Comments Add Comment

माधव नेपाल र भीम रावललाई निलम्बन गर्ने एमाले अध्यक्ष ओलीको निर्णय

१६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए ।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए ।

अध्यक्ष ओलीले भने स्पष्टीकरणको जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको उल्लेख गरेका छन् ।

उनले दुबै नेतालाई छुट्टाछुट्टै पत्र पठाएर भनेका छन्, ‘आपराधिक कृयाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरेका गलत तथा अपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यापद कार्य गरेको देखियो ।’

एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै अध्यक्ष ओलीले पार्टी विधानको धारा ४९(ख) बमोजित ६ महिनाका लागि निलम्बन गरेको बताएका छन् ।

यो सच्चिने अन्तिम मौका भएको भन्दै उनले आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने बताएका छन् । उनले अघि भनेका छन्, ‘सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

हेर्नुहोस् पत्र 

विषय : निलम्बन गरिएको सम्बन्धमा ।

श्री माधवकुमार नेपाल र भीमबहादुर रावल,

सदस्य, दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ।

तपाईं, भीमबहादुर रावललाई मिति २०७७।१२।०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईंले मिति २०७७।१२।१२ मा पार्टीमा पेश गर्नु भएको स्पष्टीकरणको जवाफमा देहाय बमोजिम देखियो ।

१. तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।

२०. स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुल त्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको ।

३. आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भूलसुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिकै लागि पार्टीमा समाहित हने साथै विगतमा भए गरेका गलत तथा आपराधिक क्रियाकलापप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो ।

४. तपाईंले अहिले पनि पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखाएको, पार्टीकै लागि एकताकै लागि भ्रम फिजाएर कार्यकर्ता फसाउने र गलत उद्देश्य तथा मनासायका निम्ति दुरूपयोग गर्ने सम्भावना देखिएको ।

५. यस्तै गतिविधिहरु कामय रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्नेअवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ ।

तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अबधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment