Comments Add Comment
कभर स्टोरी :

बर्दियामा बाघ : संख्या बढ्यो, असुरक्षा पनि बढ्यो 

१६ चैत २०७७ बिहान ५ बजे घर नजिकैको खेतमा पानी लगाउन गएका बर्दिया गेरूवा नगरपालिका १ जनकनगरका ३५ वर्षीय चुलाराम थारू पाटे बाघको आक्रमणमा परे । थारूको टाउको, कान र ढाडमा गहिरो चोट लागेको छ ।

घाइते थारूलाई आफन्तले एम्बुलेन्समा हालेर तत्कालै नेपालगञ्ज पुर्‍याएका थिए । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जको आईसीयू वार्डमा उपचाररत थारूले घटना विवरण सुनाउँदै भने- चैत महिना धान रोप्ने सिजन छ । खेतमा सिँचाइ गर्न गएको थिएँ । पानी लगाएपछि नजिकैको झाडीतिर दिसा गर्न जान लागेको थिएँ । झाडीमा बाघ बसेको रहेछ । एक्कासी मलाई आक्रमण  गर्‍यो । जोडले चिच्चाएँ । नजिकैका छिमेकीले होहल्ला गरेर बाघ लखेटेकाले म बाच्न सकेँ ।’

अस्पतालका सहायक निर्देशक डा. रोमन किदवाइका भनाइमा पनि थारूको टाउको, कान र ढाडमा चोट लागेको  छ । उनी भन्छन्, ‘आईसीयुमा भर्ना गरेर उपचार गरिरहेका छौं । बिरामी होसमै हुनुहुन्छ । अस्पतालको तर्फबाट निको पार्न हरसम्भव कोसिस गरिरहेका छौं ।’

बाघको आक्रमणबाट घाइते भएका बर्दियाको गेरुवा नगरपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु शिक्षण अस्पताल नेपालगञ्जको आईसीयूमा । तस्वीर : कृष्ण अधिकारी

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन आसपासका सामुदायिक वनमा घास दाउरा लिन, गाईबस्तु चराउन निकुञ्ज र निकुञ्जसँग जोडिएका सामुदायिक वनमा काम विशेषले पुग्ने मानिसहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका छन् ।

पछिल्लो एक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जको नजिकका बस्तीहरूमा बाघको आक्रमण बढ्दै गएको छ । २०७७ वैशाखदेखि चैत १९ गतेसम्म बर्दिया राष्ट्रिय निकुञ्जको विभिन्न क्षेत्रमा बाघको आक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ भने ८ जना घाइते भएका छन् ।

बाघले आक्रमण गर्ने क्रम बढ्दै गएपछि यो निकुञ्ज क्षेत्रसँग जोडिएको मधुवन, गेरूवा र ठाकुरबाबा गाउँपालिकाका बस्तीमा त्रास बढ्दै गएको छ । विशेष गरेर बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता करिडोर, गेरूवा नदी किनाराका बस्ती र पूर्व-पश्चिम राजमार्गको भुरीगाउँ कर्णाली क्षेत्रमा पाटे बाघले मान्छेलाई आक्रमण गर्ने गरेको छ ।

पीडितका आफन्तहरूले मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन सरकारसँग माग गर्दै आएका छन् । बाघको आक्रमणबाट पीडित परिवारका सदस्य अमरबहादुर थारू भन्छन्, ‘पहिला हात्ती गैंडाको डर थियो । पछिल्ला दिनहरूमा पाटे बाघको डर थपियो । साँझ पख घरबाहिर निस्कन, घाँस दाउरा गर्न, गाईबस्तु चराउन जाँदा पनि डराउनु पर्ने अवस्था आयो ।’

उनले भने, ‘सरकारले मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना वा अन्यत्र राख्ने व्यवस्था मिलाउनु पर्‍यो ।’

मान्छेमाथि आक्रमणका घटना बढ्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियाले मान्छेमाथि आक्रमण गर्ने बाघ पहिचान गरेर नियन्त्रणमा लिन सुरू गरेका छन् ।

मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिँदै बर्दिया राष्ट्रिय निकुन्ज, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधिहरु । तस्वीर सौजन्य : सन्तोष चौधरी /डिभिजन वन कार्यालय बर्दिया

२०७७ पुसदेखि अहिलेसम्म गेरूवा नदी किनाराको क्षेत्रबाट २ वटा र खाता करिडोर क्षेत्रबाट एउटा गरी ३ वटा पाटे बाघ नियन्त्रणमा लिएर बर्दिया र बाँकेका ‘होल्डिङ सेन्टर’हरूमा राखिएको थियो ।

चैत ५ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको खैरीस्थित ‘होल्डिङ सेन्टर’ मा राखेको बाघ चैत ९ गते भागेको थियो । सेन्टरबाट भागेको त्यो पाटेबाघको आक्रमणबाट हालसम्म ७ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा बर्दियाको खाता करिडोर क्षेत्रका ५ जना र सीमावर्ती भारतीय क्षेत्रका २ जना रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका बाघ विशेषज्ञ डा. नरेश सुवेदीले बताए । डा. सुवेदीका अनुसार, खाता करिडोर क्षेत्रबाट नियन्त्रणमा लिइएको उक्त बाघ करिब ५ वर्षको भाले हो । त्यो बाघ आफ्नी आमासँग हुर्केने क्रममा छुटि्टएर खाता करिडोर क्षेत्रमा बस्दै आएको अनुमान छ ।

सात जना मान्छे मारिसकेको त्यो बाघ ‘होल्डिङ सेन्टर’ बाट भागेपछि बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कचनापुर शम्शेरगञ्ज क्षेत्रमा अहिले त्रास छ । बाघले आक्रमण गर्नसक्ने भनेर निकुञ्ज प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

त्यसैगरी गेरूवा नदी किनारा क्षेत्रबाट नियन्त्रणमा लिइएको पाटेबाघचाहिँ बुढो र घाइते छ । निकुञ्जभित्रै वयस्क बाघसँगको लडाइँमा घाइते भएर निकुञ्जको ‘कोर’ क्षेत्रबाट लखेटिएको अनुमान गरिएको त्यो बाघ बस्ती नजिकैको सामुदायिक वन क्षेत्रमा बस्दै आएको थियो ।

बुढो र घाइते भएकाले शिकार खेल्न नसकेपछि त्यो बाघले घरपालुवा जनावर र मान्छेलाई आक्रमण गर्न थालेको डा. सुवेदीको भनाइ छ । उक्त बाघलाई नियन्त्रणमा लिएर अहिले बर्दिया निकुञ्जकै ‘होल्डिङ सेन्टर’ मा राखिएको हो ।

बाँके निकुन्जको होल्डिङ सेन्टरबाट भागेको नरभक्षी बाघ ।तस्वीर सौजन्य : बाँके राष्ट्रिय निकुन्ज

मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना, निकुञ्जकै ‘होल्डिङ सेन्टर’ र बाघको संख्या कम भएका अन्य निकुञ्जमा लगेर व्यवस्थान गर्ने गरिन्छ । अन्य निकुञ्जमा लगेर छाड्दा बाघमा रेडियो कलर जडान गरेर छाड्ने र रेडियो कलरबाट मोनिटरिङ गर्नुपर्ने सुझाव विज्ञहरूको छ । तर बाके निकुञ्जको होल्डिङ सेन्टरबाट भागेको बाघमा भने रेडियो कलर जडान गरिएको छैन ।

बर्दियामा पाटे बाघले आक्रमण गरी सर्वसाधारणको ज्यान लिइरहँदा एउटा प्रश्न उठेको छ कि के बर्दिया निकुञ्ज क्षेत्रमा बाघको संख्या बढेका कारण सर्वसाधारणमाथि आक्रमण हुने घटना बढेको हो वा अरू पनि केही कारणहरू छन् ? विज्ञको भनाइमा बाघको संख्या बढेकै कारणले मात्रै आक्रमण बढेको भन्नचाहिँ मिल्दैन ।

एउटा उदाहरण, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय वर्गकिलोमिटर क्षेत्रमा ६ वटा पाटे बाघ बस्छन् । जबकि त्यही निकुञ्जसँग हावापानी, जैविक विविधता र आहार प्रजाति समान भएकोे भारतको नैनीताल क्षेत्रमा पर्ने कार्बेट नेसनल पार्कमा एक सय वर्गकिलोमिटर क्षेत्रमा १४ वटा पाटे बाघ छन् ।  कार्बेट नेसनल पार्कको क्षेत्रफल १२८८ वर्ग किलोमिटर छ । पछिल्लो गणना अनुसार त्यहाँ २ सय ५२ वटा बाघ छन् ।

तर यहाँभन्दा दोब्बर बढी घनत्व भएर पनि कार्बेट नेसनल पार्क क्षेत्रमा बाघले मान्छेलाई आक्रमण गरेका घटना निकै थोरै छन् । दुवै निकुञ्जबीचको दूरी करिब ३ सय किलोमिटर मात्रै छ । हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्जमा २१ गरी १०८ वटा पाटे बाघ छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ र बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किमी क्षेत्रफलमा फैलिएका छन् । दुवै निकुञ्जको क्षेत्रफल जोड्ने हो भने करिब एक हजार ५१८ वर्गकिलोमिटर हुन्छ । त्यति क्षेत्रफलमा १७५ वटासम्म पाटे बाघ बस्न सक्छन् । यस हिसाबले बर्दिया र बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा अझै पनि थप ६० वटा पाटे बाघ बस्न सक्ने आकलन विज्ञहरूको छ ।

फेरि बाघको अहारा प्रजातिका जनावरहरूको संख्या पनि बर्दिया राष्ट्रिय निकुञ्जमा बढी छ । जरायो, बँदेल, लगुना र चित्तल बाघका लागि अहारा प्रजातिका वन्यजन्तु हुन् ।

राजमार्गमै बाघ

बर्दिया राष्ट्रिय निकुञ्जको भुरीगाउँ, चिसापानी खण्डको राजमार्गमै पछिल्ला दिनमा बाघ देखिने गरेको छ । निकुञ्जको ‘कोर’ क्षेत्रमा राजमार्ग भएकाले त्यहाँ बाघ देखिनु स्वाभाविकै भएको विज्ञहरूको भनाइ छ ।

२०७६ चैत्र महिनादेखि कोभिड १९ नियन्त्रणका लागि लकडाउन सुरू भएपछि राजमार्गमा यातायातका साधन खासै चलेनन् । पाटे बाघको बासस्थान क्षेत्रमा पर्ने भनिएको बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने अम्रेनीदेखि कर्णालीतर्फ जाने झण्डै १४ किलोमिटर पूर्व-पश्चिम राजमार्ग सडकखण्डमा त्यसयता बाघको चहलपलह बढेको छ ।

१५ फागुन २०७७ मा पूर्व-पश्चिम राजमार्ग अन्र्तगत् बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सको ठक्करबाट एउटा वयस्क पाटेबाघ घाइते भएको थियो । निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गको रम्मापुर-सैनवार सडकखण्डको बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट त्यो पाटेबाघ घाइते भएको थियो । यसअघि पनि पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडक बीचमा बस र कारको ठक्करबाट दुईवटा वयस्क पाटेबाघ मारिएका थिए ।

१७ पुस २०७७ राति पाटे बाघले निकुञ्ज क्षेत्रभित्रपर्ने राजमार्गबाटै एकजना महिलालाई आक्रमण गरेको थियो । आक्रमणमा परी ती महिलाको मृत्यु भयो । मोटर साइकलमा नेपालगञ्जबाट कर्णाली चिसापानी जाँदै गरेका आमा छोरामध्ये आमालाई बाघले आक्रमण गरेको थियो । सडकको किनारामा मोटरसाइकल रोकेर पिसाब फेर्न लागेका बेला ती महिला बाघको आक्रमणमा परेकी थिइन् ।

भर्खरै मात्र वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत् ठोरीको शिकारी बासमा पनि गुडिरहेको अटोमाथि बाघले आक्रमण गरेको छ । १४ चैत २०७७ साँझ ७ बजे ठोरी गाउँपालिका- २ चोकबजारबाट विजय बस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए ।

बाघको आक्रमणबाट अटो अनियन्त्रित भई पल्टिएको थियो । बाघ भने भारतको जंगलतर्फ छिरेका कारण कुनै मानवीय क्षति हुन पाएन । बाघले आक्रमण गरेको उक्त स्थान जंगली हात्ती, बाघ, भालु जस्ता जनावर आवतजावत गर्ने करिडोर हो ।

जोखिम बढेसँगै सावधानी

बाघले मानिसमाथि आक्रामण गर्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बर्दियाले सूचना जारी गरी जंगलमा घाँस-दाउरा काट्न नजान आग्रह गरेको छ । कुनै कारणवश जंगलमा जानै परे समूहमा जान भनिएको छ ।

राजमार्ग किनारामा बाघको आक्रमण हुने सक्ने जोखिम बढेसँगै पुस १८ गतेदेखि निकुञ्ज प्रशासनले निकुञ्जको ‘कोर’ क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म ओहोरदोहोरमा रोक लगाएको छ । यसका साथै सवारी साधनमा लगाइएको ‘टाइम कार्ड’ मा थप कडाइ गरिएको छ ।

तीव्र गतिमा सवारीका साधनहरू कुदाउँदा ठोक्किएर वन्यजन्तुहरूको ज्यान जाने गरेपछि निकुञ्जले ‘टाइम कार्ड’ लागू गरेको हो । निकुञ्ज क्षेत्रभित्र रम्मापुरदेखि सैनवारसम्म २२ मिनेट र अम्रेनीदेखि कर्णाली चिसापानीसम्म २२ मिनेट समय तोकिएको छ । यसको अर्थ प्रतिघन्टा ४० किलोमिटरभन्दा कम गतिमा मात्रै यहाँ सवारी साधन चलाउन अनुमति दिइएको छ ।

राजमार्ग क्षेत्रमा बाघबाट थप आक्रमण हुन नदिन निकुञ्जभित्र पर्ने राजमार्गको दायाँ बायाँ ३१/३१ मिटर क्षेत्रमा रहेको झाडी तत्काल सफा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।

पाटेबाघको ओहोर दोहोर हुने क्षेत्रको पहिचान गरी पूर्व-पश्चिम राजमार्गको कर्णाली चिसापनी क्षेत्र र हुलाकी सडकको खाता करिडोर क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने श्रीराम  नगर उपभोक्ता समिति ठाकुरद्वारा बर्दियाका पूर्वअध्यक्ष एवं संरक्षणकर्मी नवराज न्यौपानेले बताए । जंगली हात्तीलगायत वन्यजन्तुबाट हुने जनधनको क्षति रोक्न विकल्पहरू अपनाउने प्रयास भइरहेका बेला पाटे बाघले मान्छे मार्न थालेपछि स्थानीयवासी थप त्रसित भएका छन् ।

दूलर्भ वन्यजन्तु र लोपोन्मुख जनावर भएकाले बाघ संरक्षण राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राथमिकताको विषय भएको छ । बाघ हेर्नेका लागि वर्षेनि ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटकहरू बर्दिया निकुञ्ज क्षेत्रको भ्रमण गर्छन् । तर मान्छेको जीवन जोगाउनुभन्दा वन्यजन्तु संरक्षणको काम ठूलो हुन सक्दैन, त्यसैले मान्छे र वन्यजन्तु दुवै जोगिने खालको दिगो व्यवस्थापन जरूरी भएको संरक्षणकर्मी न्यौपाने बताउँछन् ।

बर्दिया निकुञ्जमा पाटे बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ को बाघगणना अनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ छन् । यस अघि सन २०१३ मा गणना गर्दामा यहाँ यो संख्या ५० थियो । संख्या बढेसँगै पछिल्लो समय बाघ आक्रमणका घटना पनि बढिरहेका छन् । पछिल्ला दिनहरूमा बर्दिया निकुन्जमा चोरी शिकारी धेरै हदसम्म नियन्त्रणमा छ ।

६ पुस २०७३ गते साँझ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा यात्रु बसको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको थियो ।

२०७५ पुसको अन्तिम साता बर्दिया निकुन्जको सीमावर्ती क्षेत्रमा पर्ने गेरूवा गाउँपालिकाको धोकोनिया गाउन नजिकैको जंगलमा खेतमा बँदेललगायतका वन्यजन्तुका लागि थापेको करेन्टको पासोमा परेर मृत अवस्थामा पाटे बाघ फेला परेको थियो । त्यस यता बर्दियामा चोरी शिकारीका कारण बाघको मृत्यु भएको कुनै घटना सार्वजनिक भएको छैन ।

निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रको दायाँ बायाँ ३१/३१ मिटर क्षेत्रमा रहेको झाडीहरू सफा गर्नुपर्ने जिम्मेवारी सडक विभागको हो । सडक विभागले नियमित रूपमा झाडी सफा नगर्दा निकुञ्ज क्षेत्रभित्रको राजमार्ग किनार आसपास रूख, बिरूवा र घाँसले ढाकेको छ । यस्तोमा पाटेबाघ लुकेर बस्ने सम्भावना धेरै रहन्छ । तर, सडक डिभिजन कार्यालय नेपालगञ्जले झाडी सफा गर्न आफूसँग बजेट नभएको बताउँदै आएको छ ।

पूर्ववार्डेन थापाको भनाइमा, वन्यजन्तु त्यही घाँसमा बसिरहेका हुन्छन् । सवारी साधनको आवाज सुनेपछि तर्सिने र आक्रमण गर्ने जोखिम रहन्छ । त्यसैले, अर्को वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रूख, विरूवा र घास तत्काल काट्न जरूरी छ ।

थापाका भनाइमा, निकुञ्जभित्र पर्ने राजमार्ग र हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचनाहरू बनाउनु जरूरी छ । यसका लागि माथिबाट वन्यजन्तु हिँड्न मिल्ने, तलतिरबाट यातायातका साधन गुड्न मिल्ने (अन्डरपास) अथवा माथिबाट यातायातका साधन गुड्न मिल्ने र तलतिरबाट वन्यजन्तु ओहोरदोहोर गर्न मिल्ने खालका (ओभरपास) निर्माण गर्नुपर्ने पूर्ववार्डेन थापाको भनाइ छ ।

कारण र कारक

बाघ बसेको क्षेत्रमा एक्कासी मानिस प्रवेश गरेको अवस्थामा, बच्चासँग भएको बाघले बच्चालाई आक्रमण गर्न आएको ठानेमा र शिकार खाइ रहेको अवस्थामा आक्रमक हुने हुँदा त्यो अवस्थामा बाधा अवरोध भएमा बाघले आक्रमण गर्ने बर्दिया राष्ट्रिय निकुन्जका पूर्ववार्डेन रमेश थापा बताउँछन् । थापा भन्छन्, ‘यी तीन अवस्थाबाहेक अरू बेला बाघ आक्रामक हुने सम्भावना निकै कम हुन्छ ।’

बर्दिया निकुञ्जमा रहेका ८७ वटा बाघमध्ये पछिल्ला दिनमा मान्छेलाई आक्रमण गर्ने बाघको संख्या तीनदेखि चारवटा मात्रै भएको अनुमान विज्ञहरूको छ । त्यसमध्ये एउटा निकुञ्जको कोर क्षेत्रमा वयस्क बाघसँग लडाइँमा हारेर लखटिएर गेरूवा नदीको किनाराको सामुदायिक वन क्षेत्रमा बस्दै आएको शिकार गर्न नसक्ने घाइते र बूढो बाघ छ । उसले शिकार गर्न नसक्ने हुँदा आसपासका घर पालुवा जनावर र मानिसमाथि आक्रमण गरेको हुन सक्ने विशेषज्ञहरूको राय छ ।

अर्कोचाहिँ खाता करिडोर क्षेत्रमा बस्ने एउटा वयस्क बाघले मान्छेलाई पटकपटक आक्रमण गरेको अनुमान विज्ञहरूले गरेका छन् । त्यसबाहेक राजमार्ग क्षेत्रमा भएको आक्रमण भने बाघले बाटो पार गर्ने क्रममा जम्काभेट भएको अवस्थामा हुन सक्ने उनीहरूको अनुमान छ ।

निकुञ्जभित्र पर्ने राजमार्गमा पाटे बाघ हिँडिरहेको देख्नेबित्तिकै सवारीसाधन रोकेर फोटो र भिडियो खिच्ने गरिन्छ । यसबाट बाघलाई ‘डिस्टर्ब’ हुने भएकाले पनि बाघ आक्रामक बन्ने र मानवीय क्षति हुन सक्ने जोखिम बढेको विज्ञहरू बताउँछन् ।

बाघको आक्रमण बढ्नुका कारण र त्यसको रोकथामका लागि अपनाउनु पर्ने उपायका बारेमा विज्ञहरूले आ-आफ्नै किसिमले अध्ययन, अनुसन्धान गरिरहेका छन् ।

बर्दिया राष्ट्रिय निकुन्जमा बाघको संख्या बढिरहेको छ । संख्या बढ्दै गएपछि वयस्क र बृद्ध बाघका बीचमा आफ्नो बासस्थान क्षेत्र कायम गर्ने क्रममा लडाइँ भई हारेका वृद्ध र घाइते बाघहरू नयाँ बासस्थान र आहाराको खोजीमा हुन्छन् । उनीहरू निकुञ्जको ‘कोर’ क्षेत्रबाट बस्ती नजिकका जंगलमा पस्ने र सजिलो आहाराको रूपमा मानिसलाई आक्रमण गरेको हुन सक्ने बाघ विज्ञ डा. सुवेदीको भनाइ छ ।

यसबाहेक पछिल्ला दिनहरूमा निकुन्ज क्षेत्रमा घासे मैदान, पानी पोखरी, वनपथ बनाउन डोजरको प्रयोग बढ्दै गएको छ । त्यसले पनि ‘कोर’ बासस्थानमा ‘डिस्ट्रब’ भएर बाघ बाहिर निस्केको हुन सक्ने पूर्ववार्डेन थापा बताउँछन् ।

लडाइँमा हारेको र घाइते भएको बाघको स्वभाव आक्रामक हुन्छ । त्यसैले सजिलो शिकारको रूपमा उसले मान्छेलाई आक्रमण गरेको हुन सक्छ । थापाका भनाइमा कहिलेकाँही एक्कासी जम्काभेट भएको अवस्थामा ‘थ्रेट’ महसुस गरेर बाघले मान्छेलाई आक्रमण गरेको हुन सक्छ ।

करिडोर क्षेत्रमा निकुञ्जको ‘कोर’ क्षेत्रमा जस्तो आहारा प्रजातिका चित्तल, बँदेल, लगुना र जरायो नपाएपछि घर पालुवा जनावर र मान्छेलाई आक्रमण गर्न थालेको हुनसक्ने डा. सुवेदीले बताए ।

क्षतिपूर्ति र राहत

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई नेपाल सरकारले १० लाख रूपैयाँ राहत दिँदै आएको छ । सामान्य घाइतेलाई १० हजार र गम्भीर घाइतेलाई बढीमा एक लाख रूपैयाँसम्म राहत दिने गरिन्छ ।

बर्दियाका स्थानीय तहहरूले कार्यविधि नै बनाएर मानव वन्यजन्तु द्वन्द्व घटाउन काम गरिरहेका छन् । उनीहरूले निकुञ्ज र बस्तीका बीचमा तारबार गर्ने, आक्रमणबाट घाइते भएकाहरूको उपचारमा सहयोग गर्ने, बालीनाली नोक्सानी भएमा क्षतिपूर्ति दिने जस्ता काम गरिरहेका छन् ।

बाघले देखाउने प्रतिक्रिया, गर्ने व्यवहार र मानवसँगको सम्बन्धबारे अध्ययन गर्न नेपालमै पहिलोपटक ११ फागुन २०७७ देखि बाघमा रेडियोकलर जडान गरिएको हो । पर्सा निकुञ्जको ८ वर्षीय वयस्क भालेबाघमा रेडियोकलर जडान गरिएको छ ।

१६ चैत २०७७ मा बाघको गतिविधि अनुगमन गर्नका लागि निकुञ्जको भुरीगाउँ कर्णाली चिसापानी राजमार्ग क्षेत्रमा बासस्थान भएको एउटा करिब ५ वर्षको पोथी बाघमा पनि स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । स्याटेलाइट कलरबाट प्राप्त हुने सूचनाका आधारमा बाघको ओहोरदोहोर लगायतका गतिविधिका बारेमा अध्ययन गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रबिन कडरियाले बताए ।

रेडियोकलरलाई स्याटेलाइट र भीएचएफ प्रविधिमा जोडेर बाघको अध्ययन गर्ने तयारी छ । ९१ हप्तासम्म यस्तो बाघका गतिविधि अध्ययन गरिनेे छ ।

सन् २०१० मा रूसको सेन्ट पीटर्सवर्गमा भएको बाघ पाइने मुलुकहरूका राष्ट्र प्रमुखहरूको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्य राखिएको थियो । नेपालमा २०१० मा बाघको संख्या १२१ थियो भने सन् २०१८ मा भएको गणना अनुसार पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा गरी नेपालमा कुल २३५ बाघ छन् । करिब दोब्बर बाघ बनाउनेमा नेपालले सफलता हासिल गरेको छ ।

पर्यटन मन्त्रालयका अनुसार नेपाल घुम्न आउने पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढीले यहाँका संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेको तथ्यांक छ । सन् २०१९ मा ११ लाख ५२ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा ७ लाख पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।

तर, समग्र राष्ट्रले र विश्वले लाभ हासिल गरिरहेको बाघ संरक्षणको यो कामबाट त्यसक्षेत्र आसपासका जनताले चाहिँ कहिलेसम्म यो सास्ती व्यहोरिरहनु पर्ने हो भन्ने प्रश्न उठिरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment