Comments Add Comment

गण्डकीमा नेपाल समूहले तोक्यो जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव

१९ चैत, पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले गण्डकी प्रदेश कमिटीको सचिवालय कमिटी बनाउनुका साथै १० जिल्लाको अध्यक्ष, सचिव र इन्चार्ज तोकेको छ ।

प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार लेकसाइड, पोखरामा भएको भेलाले २२ सदस्यीय प्रदेश सचिवालय कमिटी बनाएको छ । कास्कीमा इन्चार्जको जिम्मेवारी धनराज आचार्यलाइ दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी सीता गिरी ओलीलाई दिइएको छ ।

बिहीबार नै जिल्ला अगुवा कार्यकर्ताको भेलामा नेता माधवकुमार नेपालले आचार्य अध्यक्ष र होम नेपाली सचिव रहेको ७५ सदस्यीय कास्की जिल्ला कमिटी घोषणा गरेका छन् ।

नेपाल समूहले स्याङ्जामा चुणामणि जंगलीलाई ईन्चार्ज, रामचन्द्र भट्टराईलाई अध्यक्ष र भुपराज अधिकारीलाई सचिव तोकेको छ । म्याग्दीमा श्रीमाया थकालीलाई इन्चार्ज र बालकृष्ण सुवेदीलाई अध्यक्ष तोकिएको छ भने सचिवको टुंगो जिल्ला भेलाले लगाउने निर्णय गरिएको छ ।

बागलुङमा इन्द्रलाल सापकोटालाई अध्यक्ष र लालबहादुर थापालाई सचिवको जिम्मेवारी दिइएको छ भने केन्द्रीय प्रतिनिधि पनि सापकोटालाई नै तोकिएको छ । सापकोटा गण्डकी प्रदेश सभाका सांसद पनि हुन् र सर्वोच्चको २३ फागुनको फैसलाले एमाले जुनर्जिवित भएको भोलिपल्ट सापकोटाकै नेतृत्वमा बालुङमा एमाले कार्यालय स्थापना गरिएको थियो ।

पर्वतमा मोती पौडेललाई इन्चार्ज, भक्त कुँवरलाई अध्यक्ष र पदमपाणि शर्मालाई सचिवको जिम्मेवारी दिइएको छ । तनहुँमा प्रतापलाल श्रेष्ठ इन्चार्ज, शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव तोकिएको छ भने गोरखामा इन्चार्जको जिम्मेवारी चुणामणि जंगलीलाई दिइएको छ । यादव बस्नेत अध्यक्ष, सानुमाया बस्नेत सचिव तोकिएका छन् ।

नवलपुर इन्चार्जमा कृष्ण पौडेल र अध्यक्ष धनञ्जय शर्मा छन् भने सचिवको चयन जिल्ला भेलाले गर्ने छ ।

लमजुङमा रामबाबु अधिकारी अध्यक्ष, हिरा विक सचिव र तनहुँका नेता प्रतापलाल श्रेष्ठले इन्चार्जको जिम्मेवारी पाएका छन् । मनाङमा प्रदेश सचिवालय सदस्य चित्र थापालाई भेला बोलाउने र संगठन बनाउने जिम्मा दिइएको छ भने मुस्ताङमा तय भइसकेको छैन ।

बिहीबारको भेलाले जनसंगठन ईन्चार्ज नवलपुरका रवीन्द्र अधिकारी र सोभियत ढकाललाई जिम्मेवारी दिएको छ । भेलाले चैत मसान्तसम्म सबै जिल्ला तथा प्रदेश कमिटीको घोषणा गरिसक्ने निर्णय गरेको कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment