Comments Add Comment

मध्यपूर्व जान भारतीय नागरिकले रोजे नेपालको बाटो

३१ चैत, काठमाडौं । साउदी अरेवियासहित मध्यपूर्वका मुलुकले भारतबाट हुने उडान रोकेपछि कामका लागि जाने भारतीय नागरिकले नेपालको बाटो रोजेका छन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार अहिले नेपालमा भारतीय नागरिकको आगमन उच्च दरमा बढेको छ । मार्च महिनामा मात्र भारतबाट ७६५८ जना भारतीय नेपाल आएका छन् । फेब्रुअरीमा यसरी आउनेको संख्या ४७६३ थिए ।

नेपाल र भारतबीचमा एयर बबल नियम अनुसार सम्झौता भई दैनिक दुबै मुलुकका एक–एक एयरलाइन्सले उडान गरिरहेका छन् । तर काठमाडौं–दिल्ली रुटमा टिकट पाउनै कठिन भएको छ । यो रुटमा वाइडबडी जहाज उडाइरहेको नेपाल एयरलाइन्सले मुम्बई र बेग्लोरमा पनि उडानको अनुमति मागेको छ ।

काठमाडौंमा उडान गर्ने सबै वायुसेवा कम्पनीलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । नेपाल वायुसेवा निगमका महानिर्देशक डिमप्रकाश पौडेलका अनुसार दिल्लीस्थित विमानस्थलबाट जहाज चढ्नु अगाडि सबै यात्रुको साथमा पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ ।

रिपोर्ट पोजेटिभ आएको वा रिपोर्ट नै नभएको यात्रु काठमाडौं ल्याएमा त्यो उडानबाट आएका सबै यात्रुलाई एयरलाइन्सकै खर्चमा होटेल क्वारेन्टिनमा राख्नु पर्छ ।

१४ दिन अनिर्वाय क्वारेन्टिन

एयर रुट प्रयोग गरी भारतबाट नेपाल आएका सबै यात्रुहरु अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ । यसका लागि उनीहरुले होटल प्रयोग गरेका छन् ।

होटेल संघ नेपाल (हान)का कार्यसमिति सदस्य युवराज श्रेष्ठका अनुसार पर्यटकीय स्तरका होटेलहरुमा पर्याप्त संख्यामा भारतीय नागरिक बसिरहेका छन् । ‘भारतीय नागरिकका कारण होटेलको अकुपेन्सी लकडाउनयताकै राम्रो छ,’ उनले भने ।

श्रेष्ठका १४ दिन होटेल क्वारेन्टिनमा बसेपछि उनीहरुले पुनः पीसीआर परीक्षण गर्छन् । लैनचौरस्थित भारतीय दूताबासबाट ‘नो अब्जेक्सन लेटर’ लिन्छन् र बल्ल हवाई मार्ग प्रयोग गरी मध्यपूर्व जान्छन् । ‘नो अब्जेक्सन लेटर’का लागि उनीहरु लैनचौरस्थित भारतीय दूतावासमा लाइन लाग्ने गरेका छन् ।

दूताबास स्रोतकाअनुसार यसअघि ‘नो अब्जेक्सन लेटर’ लिन चाहनेहरु फट्टफुट्ट मात्र हुन्थे । पछिल्लो समय दैनिक ३००/४०० जनाको आवेदन आउने गरेको छ । भीड बढेपछि दूताबासले अब दैनिक ५० जनाले मात्र नो अब्जेक्सन लेटर पाउने गरी कोटा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment