Comments Add Comment

रसुवागढी र तातोपानी नाकामा उच्च सतर्कता, बाह्य व्यक्तिलाई प्रवेश निषेध

फाइल तस्वीर

२१ वैशाख, काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाकामा उच्च सुरक्षा सतर्कता अपनाउन शुरु गरिएको छ । व्यापार सहजताका लागि नेपालले अधिकतम सुरक्षा अपनाउनुपर्ने भन्दै चिनियाँ प्रशासनको आग्रहपछि तातोपानी र रसुवागढीमा बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए । खोपको मात्रा पूरा गरेका, क्वारेन्टिनमा बसेका र व्यापारसँग सम्बिन्धत जनशक्ति मात्रै अहिले नाकामा रहेको भन्सारका कार्यालय प्रमुख रेग्मीले बताए । कोभिड सुरक्षा सतर्कताका लागि चिनियाँ पक्षले निकै चासो दिएको पनि उनले बताए ।

‘नेपालमा संक्रमण बढेपछि चिनियाँहरुले निकै चासो देखाएका छन् । बोर्डरमा रहेका सबै जनशक्तिले खोप लगाएका छन् भने पीपीई, स्यानिटाइज र ज्वरो नापेर मात्र काममा खटिने गरेका छन्’ भन्सार प्रमुख रेग्मीले थपे, ‘बोर्डर प्वाइन्टभन्दा डेढ किलोमिटर पर नै प्रहरीले नयाँ मानिसलाई प्रवेश रोकेको छ । नाकासम्म कोभिडको असर पर्न नदिन हामी सचेत छौं ।’

सरकारले तोकेको पूर्ण स्वास्थ्य मापदण्डको बोर्डरमा अधिकतम पालना गरेको पनि उनले बताए । कुनै पनि हालतमा नाकाको व्यापार कोभिडका कारण प्रभावित नहोस् भन्नेमा भन्सार प्रशासन सचेत रहेको रेग्मीले बताए । पछिल्लो समय नाका भएर आउने कन्टेनरको संख्या पनि बढेको उनले बताए । पहिले दैनिक पाँच सात वटा मात्रै कन्टेनर नेपाल भित्रिने गरेकोमा त्यो संख्या अहिले दैनिक ८ वटासम्म पुगेको उनले बताए । नाकाबाट स्याउ, लसुन, ओखर, जलविद्युत परियोजनाका सामानहरु आयात भइरहेका छन् ।

यता नेपाल–चीन व्यापारको अर्को नाका तातोपानीमा पनि उच्च सुरक्षा सतर्कता अपनाएर व्यापार सहजीकरण गरेको भन्सार कार्यालयले जनाएको छ । नाकालाई कोभिडमुक्त बनाउन त्यहाँ खटिएका झण्डै पाँच सय जनशक्तिले खोपको मात्रा पूरा गरेको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । सामान ओसार्ने कन्टेनरका चालक तथा लोड अनलोडमा खटिने सबै कर्मचारीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको र पीपीई तथा शरीरको तापक्रम मापनलाई अनिवार्य गरिएको भन्सार प्रमुख खत्रीको भनाइ छ ।

‘नयाँ मानिसहरु भन्सारमा आउन सक्दैनन्, भएकाहरु क्वारेन्टिनमा बसेका छन् भने स्वास्थ्य सुरक्षा मापदण्ड पनि पूर्ण पालना गरेका छन्,’ खत्रीले भने ।

मालवस्तुको निसंक्रमण तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा चिनियाँ अधिकारीहरुले पनि निकै चासो राख्ने गरेको उनले बताए । ‘नाकामा अवरोध नहोस् भन्नेमा हामीहरु सबै जना सचेत छौं, यहाँ कोभिड असार नपरोस् भन्ने हाम्रो प्राथमिकता हो,’ भन्सार प्रमुख खत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment