Comments Add Comment

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन हुने

फाइल तस्वीर

२२ वैशाख, देउखुरी । विद्युत अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका–३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्युत जडान गरी सञ्चालनमा ल्याइने भएको हो । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक टोपाराम पौडेलसहितको मंगलबार बसेको बैठकले दाङ अक्सिजन प्रालिमा तत्काल विद्युत जोड्ने निर्णय गरेको छ ।

६ वर्ष पहिले अक्सिजन उद्योग स्थापना भएपनि विद्युत आपूर्ति भरपर्दो नहुँदा उत्पादन बन्द भएको थियो । जटिल अवस्थामा रहेका कोरोना संक्रमितलाई वायुप्राण अर्थात् अक्सिजनको अत्याधिक माग रहेको समयमा सरोकारवाला निकायले यस्तो निर्णय गरेको हो ।

२०७३ सालमा खुलेको दाङ अक्सिजन उद्योग प्रालिसँग दैनिक दुई सय सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता रहेको उद्योगका व्यवस्थापक भरत पौडेलले बताए । विद्युत नियमित भए अहिले पनि दैनिक १५० सिलिण्डर भर्न सक्ने उनको भनाइ छ ।

विद्युत नियमित र भरपर्दो बनाउन सके यो संकटको सामना सहजै गर्न र बिरामीको ज्यान बचाउन सकिने पौडेलले बताए । उद्योगका लागि छुट्टै फिडरको व्यवस्था भए चौबीसै घण्टा अक्सिजन उत्पादन गर्न सकिने उनको भनाइ छ ।

कोरोना संक्रमितका लागि दाङमा दैनिक एक हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएपनि अहिले दैनिक चार सय अक्सिजन सिलिण्डर अपुग हुने गरेको छ । पालिकाले बनाएका आइसोलेसन सेन्टर र अस्पतालमा अक्सिजन सिलिण्डरको अभाव छ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो चार दिनदेखि अक्सिजनको अभाव छ । त्यहाँ नेपालगञ्जबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment