Comments Add Comment

मध्यतराईमा कोरोना संक्रमणबाट बिहीबार १० जनाको मृत्यु

७ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट मध्य तराईका पर्सा, बारा र रौतहटका थप १० जनाको मृत्यु भएको हो । पर्सा र बाराका विभिन्न अस्पतालमा उपचारको क्रममा बिहीबार उनीहरुको मृत्यु भएको हो ।

वीरगञ्जको नारायणी अस्पतालमा ५ जना, वीरगञ्ज हेल्थ केयर र बाराको कलैया अस्पतालमा २÷२ जनाको र नारायणी बयोधा अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृतकमध्ये बाराका ६ जना, सर्लाहीका २ जना पर्सा र रौतहटका १÷१ जना छन् ।

उपचारको क्रममा नारायणी अस्पतालमा मात्रै ५ जनाको मृत्यु भएको छ । सर्लाहीको २ जना, पर्सा, बारा र रौतहटको १÷१ जनाको मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

नारायणी अस्पतालमा पर्साको बहुदरमाई नगरपालिका–१ डकैला बहुअरी बस्ने ७५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । जेठ ५ गते अस्पताल भर्ना भएका उनमा बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा साँझ सवा ७ बजे उनको मृत्यु भएको कोभिड संयोजक डाक्टर दासले जानकारी दिए । उनी पहिलेदेखि नै टाईप टु डायविटिजका बिरामी थिए ।

बाराको बारागढी गाउँपालिका–२ बस्ने ७२ वर्षीय पुरुषको बिहीबार वीरगञ्जमा मृत्यु भएको छ । वैशाख ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको थियो । जेठ ३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । आइसोलेसन वार्डमा उपचारको क्रममा बिहीबार दिउँसो सवा ३ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमै रौतहटकी ४२ वर्षीया महिलाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएकी उनको उपचारको क्रममा बिहीबार बिहान साढे १० बजे मृत्यु भएको थियो ।

नारायणी अस्पतालमै सर्लाहीको मंलगवा नगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ २ गते अस्पतालमा भर्ना भएका उनको सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बिहीबार बिहान १२ः५० बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनमा पहिलदेखि नै टाईप टु मधुमेहका विरामी थिए ।

नारायणी अस्पतालमै सर्लाहीको मलंगवा नगरपालिका–१० बस्ने ३१ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । बैशाख २५ गते अस्पताल भर्ना भई दुई दिनपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान ११ बजे उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

बाराको कलैया अस्पतालमा कलैया उपमहानगरपालिका–१ मोतिबाग बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ २ गते श्वासप्रश्वासमा समस्या भई उनलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । एन्टीजीन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भयो । उपचारको क्रममा बिहीबार सवा १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कलैया अस्पतालमा बाराको महागढीमाई नगरपालिका १ बरियारपुर बस्ने ६५ वर्षीया महिलाको मृत्यु भएको छ । जेठ ४ गते श्वासप्रश्वासमा समस्या देखिएपछि कलैया अस्पतालमा उपचारका लागि ल्याइएको थियो । भोलिपल्ट पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो । उपचारको क्रममा बिहीबार १२ः२० मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १ गते बिरामी भई उपचारका लागि भर्ना गरिएको थियो । दुई दिनपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उपचारको क्रममा बिहीबार बिहान ४ः४० बजे उनको मृत्यु भएको थियो ।

वीरगञ्ज हेल्थ केयरमै उपचारको क्रममा बाराको परवानीपुर गाउँपालिका– २ रामपुर टोकनी बस्ने ७० वर्षीय पुरुषको मृत्यु भएको छ । बिरामी परेपछि उनलाई वैशाख २९ गते उपचारका लागि भवानी अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो । भवानी अस्पतालको आइसोलेसनमा राखेर नै उपचार चलिरहेको थियो । थप उपचारका लागि बिहीबार नै वीरगञ्ज हेल्थ केयरमा लगियो । त्यहीँ उपचारको क्रममा अपराह्न ४ बजे उनको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

नारायणी बयोधा अस्पतालमा जीतपुर सिमरा उपमहानगरपालिका– १ पथलैया बस्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २२ गते अस्पताल ल्याई भोलिपल्ट पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बिहीबार बिहान ३ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment