Comments Add Comment

लुम्बिनीमा चार मन्त्रीले पनि पाए राष्ट्रियसभा उपनिर्वाचनमा मताधिकार

सत्ताको दुरुपयोग गरेर जालझेल : विपक्षी

१६ जेठ, बुटवल । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राष्ट्रिय सभा निर्वाचनको मतदानको केही घण्टाअघि जसपाबाट मन्त्री बनेका ४ जनालाई निर्वाचन आयोगले मताधिकार दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ बजे निर्वाचन आयोगले मतदानको अधिकारको निर्णय गरेको हो ।

यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उनीहरुको नाम थिएन । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले केन्द्रीय निर्वाचन आयोगले आइतबार जसपाबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको बताए ।

यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । चार मन्त्रीले मताधिकार पाएसंगै सत्ता पक्षका उम्मेदवारको पक्षमा १९६ मतभार बढेको छ ।

एकजना प्रदेश सांसदको मतभार ४८ रहेको छ । निर्वाचनमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी चार दलको गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे उम्मेदवार छन् ।

पदमुक्तपछि चारै जना मन्त्रीले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । तर मुद्दाको अन्तिम किनारा लागेको छैन । सर्वोच्चले असार ५ गते मुद्दाको पेशी तोकेको छ । यसअघि सर्वोच्चले उनीहरुलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

निर्वाचनको पूर्वसन्ध्यामा आयोगले गरेको यो निर्णयलाई विपक्षी गठबन्धनले सत्ताको दुरुपयोग गरेर भएको जालझेल भनेका छन् । कांग्रेसका प्रमुख सचेतक फखरुद्विन खानले सत्ताको आडमा अन्तिम नामावली प्रकाशित भइसकेको र र दावी विरोधको समय सकिएको मौन अवधिमा चलखेल भएको बताए ।

‘मतदानको मुखमा सत्ताको चरम दुरुपयोग गरी जालझेल भएको छ’ खानले भने, ‘हाम्रो गठवन्धनको उम्मेदवारको जितमा कुनै फरक पर्दैन ।’

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment