Comments Add Comment

‘मधेशको मागमा धेरै सफलता मिलेको छ, अब छिट्टै सरकारमा जान्छौं’

जनता समाजवादी पार्टी, नेपाल यतिवेला विभाजनको डिलमा छ । महन्थ ठाकुर–राजेन्द्र महतो र बाबुराम भट्टराई–उपेन्द्र यादव समूहले एकअर्कालाई कारबाही र निष्कासन गर्ने सिलसिला चलिरहेको छ । यतिवेला पार्टीको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । यसबीच महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा जाने अन्तिम तयारीमा छ । यसै सन्दर्भमा सो समूहका नेता लक्ष्मणलाल कर्णसँग कमलदेव भट्टराईले गरेको कुराकानीः

पार्टी अब विभाजनतर्फ उन्मुख भएको हो ?

उन्मुख भनेको के हो मलाई थाहा छैन । पार्टीमा अहिले विवाद सिर्जना भएको चाहिं हो ।

पार्टीको विवाद समाधान हुने सम्भावना अझै छ कि टर्‍यो अब ?

समाधान हुन पनि सक्छ । संसारमा कत्रा–कत्रा विवादहरू समाधान भएका छन्, हाम्रो पार्टीको नहुने भन्ने छैन । समाधान भएन भने कानूनी रूपमा विभाजन नै हो, अरू के विकल्प छ र !

समाधान नभए अब विभाजनमा नै गयो ?

गर्नु के, अरू बाटो नै छैन ।

के कारणले यो अवस्था आयो पार्टीमा ?

सीधा–सीधा कुरा छ नि ! हामी मधेशी आन्दोलनको मागलाई, थरुहट आन्दोलनको मागलाई सम्बोधन गराउन खोजेका छौं । उहाँहरूलाई कुन बेला सरकारमा गइहाल्ने हतारो छ, कताबाट जाने, उहाँहरूले विभिन्न विकल्प सोचिरहनुभएको छ ।

सरकारमा जाने विषय चाहिं के हो ?

हाम्रा धेरै मागहरू पूरा भएको छ । केही माग बाँकी छन्, त्यो पनि प्राविधिक कारणले, कानूनको कारणले तर ती माग पनि अब समाधान हुन्छन् । त्यसकारण हामी शुरुदेखि नै भनिरहेका छौं जसले हाम्रो माग पूरा गर्छ, उसलाई हामी सहयोग समर्थन गर्छौं ।

आठ मन्त्रालय लिएर सरकारमा जाने तयारीमा हुनुहुन्छ भन्ने चर्चा छ, यसमा कत्तिको सत्यता छ ?

यो विल्कुल सत्य हो । सरकारले दिन्छ भने किन नजाने ?

भनेपछि अहिले कुरा भइरहेको आठ मन्त्रालयमा नै हो ?

हो, अहिले कुरा भइरहेको आठ मन्त्रालयमा नै हो ।

अब कति दिनमा सरकारमा जानुहुन्छ ?

हामी गृहकार्य गर्दैछौं, चाँडै नै जान्छौं सरकारमा ।

अब पार्टीको विवाद कसरी समाधान हुन्छ, निर्वाचन आयोग ?

अब हामीले गर्ने काम गरिरहेका छौं । कानूनी रूपमा छिनोफानो गर्ने निकाय नै निर्वाचन आयोग हो ।

फर्केर हेर्दा पार्टी एकता नै गल्ती भएछ भन्ने लाग्छ ?

अब हामीले पछाडि फर्केर दुःख व्यक्त गर्नुको सट्टा अगाडि बढेर नै यसको समस्या समाधान गर्ने हो ।

केपी ओलीसँग तपाईंहरूको दीर्घकालीन चुनावसम्मकै गठबन्धन बन्न लागेको हो ?

अहिले यस्तो कुरा छैन । अहिले पहिला सरकारमा जाऊँ, त्यसपछि अन्य अवस्था र परिस्थिति हेरेर अगाडि बढौंला ।

मधेशका एजेण्डा सम्बोधन गराउन तपाईंहरू आंशिक रूपमा सफल हुनुभएको हो ?

आंशिक होइन, करीब–करीब सम्पूर्ण सफलता प्राप्त भएको हो । संविधान संशोधनको कुरा सुन्न चाहेका थिए केपी ओलीले ? ठूलो सफलता हो ।

संविधान संशोधनको गृहकार्य गर्ने कार्यदल गठन भएको थियो, काम कहाँ पुग्यो ?

अहिले शुरू भएको छैन । म आफैं छु त्यो कार्यदलमा । म आफैं पोजेटिभ थिएँ, भर्खर नेगेटिभ भएको छु । त्यो काम पनि अगाडि बढ्छ ।

अन्त्यमा, तपाईं मधेशी जनतालाई के भन्न चाहनुहुन्छ ?

मधेशी जनतालाई भन्न चाहन्छु, आन्दोलनको आह्वान हामीले गरेका हौं । उपेन्द्रजी समेतले त्यसमा साथ दिएका हुन् । त्यो आन्दोलनको माग पूरा भइरहेको छ भने हामी सतर्क र सजग रहेर माग पूरा गराउँदै जाऊँ, अगाडि बढौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment