Comments Add Comment

निषेधाज्ञामा सरकारको छुट : चामल किन्न थापाथली, नुन–तेल किन्न टेकु !

निषेधाज्ञा उल्लंघन गर्दै नागरिकता बोकेर तीनतिर धाउनुपर्ने बाध्यता

२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ ।

निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् ।

तर समस्या के छ भने निषेधाज्ञाको बेला कुनै एउटा परिवारले सरकारले दिएको सहुलियतको खाद्यान्न किन्न पर्यो भने चामल किन्न एकातिर, दाल, चिनी र ग्यास किन्न अर्कैतिर धाउनु पर्छ । त्यसमाथि सहुलियतको खाद्यान्न किन्न उपभोक्ताहरु निषेधाज्ञा उल्लंघन गर्दै, प्रहरीको सोधपुछ झेल्दै नागरिकता बोकेर धाउनुपर्ने बाध्यता छ ।

बिहीबार खाद्य र साल्ट ट्रेडिङले अलग–अलग घोषणा गरेको सहुलियत प्याकेज अनुसार चामल, दाल, पिठो, चिनी, नुन, तेल, र ग्यासलाई समेटिएको छ । तर चामल र दाल किन्न खाद्यको बिक्री केन्द्र थापाथली पुग्नु पर्छ भने नुन, तेल, पिठो र ग्यास किन्न साल्ट ट्रेडिङको बिक्री केन्द्र टेकु धाउनु पर्छ । जो दूरी र स्थानका हिसाबले फरक फरक ठाउँमा छन् ।

पाँच जनाको परिवारका लागि तोकिएको एक प्याकेजमा चामल ३० किलो, कर्णालीको सिमी दाल दुई किलो, पिठो दुई किलो, चिनी र नुन दुई–दुई किलो, तेल एक लिटर र एक सिलिण्डर ग्यासलाई मानिएको छ । सो प्याकेजमा भएको खाद्यान्न किन्न उपभोक्ता कहिले थापाथली त कहिले टेकु ओहोरदोहोर गर्नुपर्छ ।

साल्ट ट्रेडिङले सरकारले घोषणा गरेको २० प्रतिशत  छुटअनुसार बजारमा ९५ रुपैयाँ किलो पर्ने चिनीको भाउ ६३ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्यास (एसटीसी) को भाउ एक हजार एक सय २० रुपैयाँ कायम गरिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिए । पिठो ४४ रुपैयाँ किलो, नून १६ रुपैयाँ किलो र भटमासको तेल १८८ रुपैयाँ लिटरमा बिक्री गरिने पनि उनले जानकारी दिए ।

छुटको खाद्यान्न तथा ग्यास कर्पाेरेसनको बिक्री केन्द्रबाट मात्रै खरिद गर्न सकिने र खाद्यान्न खरिद गर्न परिबारको कुनै एक सदस्यको नागरिकताको प्रतिलिपिमा परिवारको सदस्यको नाम र संख्या लेखेर बिक्री केन्द्रमा बुझाउनु पर्ने कर्पोरेसनले जनाएको छ ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट २० प्रतिशत छुटमा ३० किलो चामल र दुई किलो कर्णालीको सीमी उपभोक्ताले खरिद गर्न पाउने छन् ।

काठमाडौं उपत्यकामा खाद्यका बिक्री केन्द्रहरु थापाथली, रामशाहपथ, नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकबाट खाद्यान्न खरिद गर्न सकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ  । उपत्यका बाहिर पनि निषेधाज्ञा लागू भएका जिल्लाका खाद्यका कम्पनीबाट यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।

यस्तो छ सहुलियत सूची-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment