Comments Add Comment

भोकमरी र रोगले म्यानमारमा धेरैको मृत्यु हुन सक्ने राष्ट्रसंघको चिन्ता

२६ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले म्यानमारमा सेनाको आक्रमणबाट विस्थापितहरुको भोकमरी र रोगका कारण मृत्यु हुन सक्ने बताएका छन् ।

पूर्वी म्यानमारको कायाह राज्यमा सेनाले अन्धाधुन्ध आक्रमण गरेसँगै हजारौं मानिस विस्थापित भएका छन् ।

बुधबार म्यानमारका लागि राष्ट्रसंघका विशेष दूत टोम एन्ड्र्युजले म्यानमारबारे तत्काल अन्तर्राष्ट्रिय कदम चाल्नुपर्ने माग गरेका छन् । सेनाको आक्रमणपछि म्यानमारका हजारौं मानिसहरु अहिले जोखिममा रहेको उनको भनाइ छ । उनले एक विज्ञप्ति जारी गर्दै सेनाले आक्रमण गरेको स्थानमा अहिले खाद्यान्न, पानी, शिविर, इन्धन र स्वास्थ्यसेवाको आवश्यकता रहेको बताएका छन् ।

‘यो संकटका कारण मानिसहरु सुरक्षाको खोजी गर्दै अन्तर्राष्ट्रिय सीमामा पुगेका छन्,’ विज्ञप्तिमा भनिएको छ । सबै अन्तर्राष्ट्रिय समुदायलाई उनले आम नागरिकको रक्षा र उनीहरुको संरचनालाई बचाउन पनि आग्रह गरेका छन् ।

म्यानमारमा गत फेब्रुअरीमा सेनाले कू गरेसँगै मुलुकमा हिंसा बढेको छ । अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनालाई जनताको हातमा सत्ता सुम्पिन आग्रह गर्दै आएका छन् । तर, सेनाले भने त्यसलाई बेवास्ता गर्दै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment