Comments Add Comment

कृषि क्षेत्रमा अन्डरवेयरदेखि ड्रोनसम्म प्रयोग

  •  अमेरिकाको कुल जनसख्याको २ देखि ३ प्रतिशत जनताले मात्र कृषि पेशा अङ्गालेका छन्, र पनि देशलाई चाहिने अन्न पर्याप्त मात्रमा पु¥याएर उनीहरूले निर्यात गर्छन ।
  • ६० प्रतिशतभन्दा माथि मरूभूमि भएको इजरायलमा ४ प्रतिशत जनता कृषिमा आवद्ध छन् । र पनि उनीहरू ९० प्रतिशत खाद्यान्न निर्यात गर्छ ।
  • चिनियाँ वैज्ञानिकहरूले धानको नयाँ जात विकास गरेका छन्, जुन दोस्रो पटक नरोपी धेरै पटकसम्म उत्पादन लिन सकिन्छ । यो धानले स्थानीय क्षेत्रमा उब्जाइएको अन्य जातका धानको औसत उत्पादनभन्दा ७.७७ प्रतिशत बढी उत्पादन दिन्छ ।
  • हाम्रो देशमा ६५.६ प्रतिशत जनता कृषिमा आवद्ध हुँदा पनि खाद्यान्न आयात गर्नुपरिरहेको छ ।

यस्तो किन त ?

नेपाल कृषिभूमि मात्र होइन अर्थतन्त्रको मेरुदण्डको नै कृषि क्षेत्र रहिआएको मानिन्छ । आर्थिक वर्ष २०७७-७८ को तथ्यांकअनुसार कुल ग्राहस्थ उत्पादनको २७.०८ प्रतिशत हिस्सा ओगटेको छ ।

वि.सं. २०६८ सालको जनगणनाअनुसार करिब ६५.६ प्रतिशत नेपालीको मुख्य पेशा कृषि रहेको छ । नेपालमा कूल भू-भागको २१ प्रतिशत खेती गरिएको र ७ प्रतिशत खेती नगरिएको खेतीयोग्ग जमिन छ ।

हाम्रो मुलुक कृषिप्रधान मुलुक हो भनेर सुन्दै र पढ्दै आयौँ तर आजको २१औँ शताब्दीमा पनि अधिकांश कृषकले परम्परागत शैलीमा कृषिकर्म गर्नुपरिरहेको अवस्था छ ।

कृषि पेशाभन्दा नाक खुम्च्याउने, पढेलेखेकाले खेतबारीमा काम गर्ननहुने सोचहरूले कृषि क्षेत्रलाई झन् खुम्च्याउँदै लगेको छ । राज्यले कृषिलाई सम्मपानजन पेशाका रुपमा स्थापित गर्ने गरी उत्साह थप्न सकेको छैन ।

बढ्दो जनसंख्या र माग अनुरुप कृषि उत्पादन बढ्न नसक्दा बजार भाउ आकाशिनुले बेलाबेला भोकमरीको समस्या देखापर्ने गर्छ । त्यसकारण कृषिलाई पेशाकैरुपमा अँगाल्दा यसको व्यवसायिकरणतर्फ ध्यान दिनु र आधुनिक उपकरण, प्रविधिको प्रयोग गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।

कृषिमा हालै गरिएको एक सर्वेक्षणले नेपालमा १ जना प्राविधिक बराबर २५ सय कृषक रहेको देखाउँछ । हाम्रो देशमा ६५.६ प्रतिशत जनता कृषिमा आवद्ध हुँदा पनि खाद्यान्न आयात गर्नुपरिरहेको छ । नेपालको कुल जनसंख्याको १८ प्रतिशत जनता गरिबीको रेखामुनि छ ।

६० प्रतिशतभन्दा माथि मरूभूमि भएको इजरायलमा भने ४ प्रतिशत जनता कृषिमा आवद्ध  हुँदा पनि ९० प्रतिशत खाद्यान्न निर्यात गर्छ । आजको दिनमा मरुभूमि भएका जमिन हराभरा हुँदै गर्दा हाम्रो खेतीयोग्य जमिन भने विखण्डीकरण र मरुभूमिकरण हुँदै गइरहेको छ ।

नेपालमा १ जना प्राविधिक बराबर २५ सय कृषक छन् । हाम्रो देशमा ६५.६ प्रतिशत जनता कृषिमा आवद्ध हुँदा पनि खाद्यान्न आयात गर्नुपरिरहेको छ । ६० प्रतिशतभन्दा माथि मरुभूमि भएको इजरायल भने ४ प्रतिशत जनता कृषिमा आवद्ध हुँदा पनि ९० प्रतिशत खाद्यान्न निर्यात गर्छ ।

कृषि क्षेत्रबिना मानव जीवन त परिकल्पना समेत गर्न सकिँदैन । त्यसैले होला विकसित राष्ट्रहरूमा अनेक रोचक र चाखलाग्दा अनुसन्धान भइरहन्छन् र नयाँ–नयाँ प्रविधिले जन्म लिरहन्छन् । कृषि क्षेत्रमा विश्वमा के–कस्ता प्रविधि र अनुसन्धान भईरहेको छ चर्चा गरौँ ।

मानिसले लगाउने अन्डरवेयरको प्रयोग

स्विटजरल्याण्डमा बायोडिग्रेडेबल अन्डरवेयर सम्बन्धि अध्ययन गरिएको छ, जहाँ हजारौं जोडी सेता कपासको अन्डरवेयर बगैंचामा गाडिएको छ । विश्वास गर्नुस वा नगर्नुस्, यो माटोको स्वास्थ्य नाप्नको लागि अत्याधुनिक उपाय हो । राज्य अनुसन्धान संस्थान एग्रोस्कोपका वैज्ञानिकहरूले पछि फोहोर नभएको खण्डहरू पत्ता लगाउने छन् र विश्लेषण गर्नेछन् ।

वैज्ञानिकहरूका अनुसार त्यी अन्डरवेयर पृथ्वीको सतह मुनि गाड्ने र सानो जीवहरूले कपडा कति हदसम्म खाएको छ भनी हेर्ने र अनुसन्धान गरिनेछ । कमरब्यान्ड र सिमर बाहेक, यस्ता टेस्ट अन्डरवेयर जैविक कपासबाट बनेका छन् । शतप्रतिशत बायोडिग्रेडेबल छन् ।

यो पदार्थ माटोमा भएका विभिन्न सूक्ष्म जीवहरूको लागि खाद्यान्न स्रोतको रूपमा काम गर्न सक्छ । जति धेरै अन्डरवयेरमा प्वाल भयो वा छिद्र भयो त्यहाँ अधिक सक्रिय सूक्ष्मजीवहरू माटोमा बस्दछन् भन्ने कुरा पुष्टि हुनेछ र त्यहाँको माटो बाली, बिरुवाका लागि उपयुक्त भएको निष्कर्ष निस्कनेछ ।

भर्टिकल्चर फार्मिङ

भर्टिकल्चर फार्मिङ विशेष गरी थोरै जग्गाको उपलब्धता भएको ठाउँमा आधुनिक प्रविधिको प्रयोग गरी ठाडो रुपमा तला–तला बनाएर उब्जाउ गरिने प्रक्रिया हो ।

यो खेती प्रणालिमा कृत्रिम वातावरण प्रदान गरिनुका साथै तापत्रम, हावापानी समेत नियन्त्रण गरिन्छ । जस्तोसुकै विरुवाहरू उत्पादन गर्न सकिन्छ । पृथ्वीमा बढ्दो जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव र असर गर्दा कृषि उत्पादन वृद्धि गर्न यसको उपयोगिता बढ्दो छ ।

हाइड्रोपोनिक्स/एरोपोनिक्स

हामीले कृषि भन्ने वित्तिकै माटो सम्झन्छौँ । माटो भनेको एक मध्यम मात्र हो जसबाट विरुवाले आफूलाई आवश्यक पर्ने खनिज र पानी प्राप्त गर्छ । हाइड्रोपोनिक्स पानीलाई माध्यम बनाएर र एरोपोनिक्स हावालाई माध्यम बनाएर बाली उब्जाउने प्रक्रिया हो । यसमा विरुवालाई आवश्यक पर्ने तत्वहरू पानीमा घोल बनाएर वा वाफको रूपमा छर्केर उब्जाउ गरिन्छ ।

हाइड्रोपोनिक्स र एरोपोनिक्स विधिबाट बाली उत्पादन गर्दा माटोको आवश्यक पर्दैन । यस तरिकाबाट विरुवामा हुने संक्रमण कम हुने र माटोको गुणस्तर कम भएको ठाउँमा पनि उब्जाउ गर्न सकिन्छ । यस्तो माध्यममा लगाईएका बिरुवाको उत्पादन क्षमता पनि तुलनात्मक रुपमा बढी हुन्छ ।

शहरी कृषि

नेपालमा मात्र नभएर अन्य मुलुकहरूमा पनि शहरीकरण तीव्ररुपमा बढिरहेको छ । त्यसैले शहरी खेतीको आवश्यकता पनि सोहिअनुसार बढिरहेको छ । शहरमा प्रशस्त खेतीयोग्य जमिनको अभाव हुनाले व्यावसायिक खेती गर्न गाह्रो पर्छ । तर प्रत्येक परिवारले घरको कौसी वा बरन्डामा माटो जम्मा गरी बाली वा तरकारी लगाउँदा घरको आवश्यकता केही हदसम्म पूर्ति गर्न सकिन्छ । धेरै परिवारले कौसी खेती गरेमा बजारमा मागको कमी आइ महंगी नियन्त्रण गर्न सकिन्छ । यसले परिवारको खर्च पनि कटौती गर्न सकिन्छ ।

आधुनिक उपकरणको प्रयोग

आधुनिक औजार र उपकरणको प्रयोगले मात्रै कृषि क्षेत्रले गुणात्मक रुपमा प्रतिफल हातपार्न सक्छ । कामदारको संख्या कटौती गरी लगानी कम गर्न सकिन्छ । एक सर्वेक्षण अनुसार १ प्रतिशत नेपाली कृषकसँग मात्र ट्रयाक्टर, थ्रेसर र पावर ट्रेलर छ । करिब ७ प्रतिशत कृषकसँग मात्र पम्पसेट छ ।

ड्रोनमा लागेका विभिन्न प्रकारका सेन्सरले बालीमा लाग्ने रोग र कीराहरू सजिलोसँग पत्ता लगाउन सकिन्छ । ड्रोनको सहायताले विरुवामा विषादी पनि छर्न सकिन्छ । ब्रिटेनका किसानले पशुपंक्षी हेर्नका लागि ड्रोनको प्रयोग गर्ने गर्छन् ।

तर विकसित राष्ट्रको कुरा गर्नु पर्दा एकै किसानको सयौँ हेक्टर जमिन हुन्छ । कृषि उत्पादन गर्दा चाहिने हरेक कृषि औजार जस्तै ट्याक्टर, हार्भेष्टर, सिडर, रिपर, स्पेयर आदि आफैसँग हुन्छ । अमेरिकाको कुल जनसख्याको २ देखि ३ प्रतिशत जनताले मात्र कृषि पेशा अगांलेको छ र पनि देशलाई चाहिने अन्न पर्याप्त मात्रमा पुर्‍याएर उनीहरूले निर्यात पनि गर्छन ।

हाइब्रिड-उन्नत जातको बिऊको प्रयोग

विभिन्न अध्ययन अनुसन्धानबाट बालिनालीको हाइब्रिड बिऊ उत्पादन गरिएको हुन्छ । उच्च जातको विरुवासँग क्रस गरी निकालिएका त्यस्ता बिऊको उमार शक्ति बढी हुन्छ । रोगले सजिलै आक्रमण गर्न सक्दैन अनि प्रतिकूल मौसममा पनि सजिलै फल्न सक्छन् ।

पिपुल्स डेली अनलाईन २०२१ मा प्रकाशित समाचार अनुसार चिनियाँ वैज्ञानिकहरूले धानको नयाँ जात विकास गरेका छन्, जुन दोस्रो पटक नरोपी धेरै पटकसम्म उत्पादन लिन सकिन्छ ।

दक्षिणपश्चिम चीनको युन्नान प्रान्तका वैज्ञानिकहरूले विकास गरेको धानको जात प्रति म्यु (६७६ वर्ग मीटर) जमिनबाट ६१५.६ केजी धान उत्पादन गर्न सकिन्छ । जुन स्थानीय क्षेत्रमा उब्जाइएको अन्य जातका धानको औसत उत्पादनभन्दा ७.७७ प्रतिशत बढी हो ।

एग्री मार्केटिङ

कृषि क्षेत्रबाट उत्पादित वस्तुले समयमै बजार पाउन नसक्दा खेरजाने सम्भावना हुन्छ । त्यसमाथि बिचौलियाको चलखेलले गर्दा वास्तविक किसानले उचित बजारभाउ पाउन सक्दैनन् । त्यसकारण कृषकमा बजारको ज्ञान हुनु आवश्यक छ । विकसित राष्ट्र अमेरिका, क्यानडा, चीन, नर्बेलगायत विकासउन्मुख राष्ट्र भारत, पाकिस्तान, नेपालमा र अन्य देशमा पनि सूचना प्रविधिको प्रयोगद्वारा दैनिक बजारभाउ किसान समक्ष अपडेट गराउने गरिन्छ । अनि बजारको समस्या नहोस भनेर निश्चित ठाउँमा कृषि बजार पनि खोल्न सकिन्छ ।

भौगोलिक सूचना प्रणाली

यो एक सूचना प्रणाली हो, जुन डाटाको ठूलो मात्रा समावेश गर्दछ र जुन सफ्टवेयरको रूपमा चिनिने कम्प्युटर उपकरणहरूमार्फत कार्य गर्दछ । अध्ययन गरिएको विशिष्ट वस्तु भनेको भौतिक ठाउँ हो र यस कारणले यसलाई भौगोलिक सूचना प्रणाली भनिन्छ । यो एक विशिष्ट सफ्टवेयर हो जसले प्रयोगकर्ताहरूलाई अन्तक्रियात्मक रूपमा परामर्श गर्न अनुमति दिन्छ ।

सन् १९६० को दशकको सुरुमा पहिलो भौगोलिक सूचना प्रणाली क्यानाडालीहरूले भू–स्थल डेटा भण्डारण गर्न र क्यानाडाली ल्यान्ड इन्भेन्टरीको लागि नक्सा उत्पादन गर्न विकसित गरेको थियो । यो सूचना प्रणाली बाली लगाएको जमिनको अनुमान गर्न, बाली विकासको अनुगमन गर्न, माटोको स्थिति अनुगमन गर्न, फसलको तथ्यांक पत्ता लगाउन, बालीहरूको संरक्षण गर्न, बालीनाली समस्याहरूको समाधान गर्न र किसानहरूलाई मौसम अनुकूल बालीका बारेमा जानकारी दिन प्रयोग गरिन्छ । यो प्रणालीले मौसमी अवस्था, वर्षाको तीव्रता, मौसम परिवर्तन सजिलै अनुमान गर्न मद्दत गर्दछ । कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने भौगोलिक सूचना प्रणालीको अहम भूमिका छ ।

ड्रोनको प्रयोग

ड्रोन एक आधुनिक युगको चालकरहित विमान हो । यसलाई रिमोट अथवा कम्प्यूटरमार्फत चलाउन सकिन्छ । एक सामान्य ड्रोनमा चारवटा पंखाहरू हुन्छन् । ड्रोनमा लागेका विभिन्न प्रकारका सेन्सरले बालीमा लाग्ने रोग र कीराहरू सजिलोसँग पत्ता लगाउन सकिन्छ । यसको सहायताले जमिनको क्षेत्रफल सजिलै विश्लेषण गर्न सकिन्छ ।

ड्रोनको सहायताले विरुवामा विषादी पनि छर्न सकिन्छ । जो धेरै प्रभावकारी र छिटो छ । ब्रिटेनका किसानले पशुपंक्षी हेर्नका लागि ड्रोनको प्रयोग गर्ने गर्छन् । त्यस्तै प्रदूषण कम गर्न र कृषि उत्पादन वृद्धि गर्न ड्रोन एउटा विकल्प हो ।

लेखक कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment