+
+
Shares

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

कृषि कर्मबाटै सबै खर्च कटाएर थापा दम्पतीले मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् भने गाउँका दुई जनालाई नियमित रोजगारी समेत दिएका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ कात्तिक २५ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापा र उनकी श्रीमती मैनादेवीले २०७९ सालदेखि एकीकृत कृषि प्रणालीमार्फत मासिक करिब २ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।
  • थापा दम्पतीले ३ बिघा जमिनमा ८ सय पिलरमा ३ हजार २ सयभन्दा बढी ड्रागन फ्रुट, १० गाई र लोकल कुखुरा पाल्दै ‘ओसिस गँड्यौली मल’ पनि उत्पादन गरिरहेका छन्।
  • थापाले गाउँका दुई जनालाई नियमित रोजगारी दिएका छन् र अब दुई बिघा थप जमिनमा ड्रागन फ्रुट विस्तार तथा गाई संख्या बढाउने योजना बनाएका छन्।

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे ।

आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाको मन भने कतै अडिएन । न परदेशको कमाइले सन्तोष दियो, न सहरको दौडधुपले आत्मसन्तुष्टि ।

त्यसपछि उनले आफ्नै पुर्ख्यौली माटो रोजे । २०७९ सालमा गाउँ फर्किएका उनी माटोसँगै रमाएका मात्र छैनन्, व्यावसायिक कृषिमार्फत राम्रो आम्दानी गर्दै आएका छन् ।

गणेश र उनकी श्रीमती मैनादेवीले अहिले घङ्गरुमा ‘इन्टिग्रेटेड फार्मिङ’ अर्थात् एकीकृत कृषि प्रणाली गरिरहेका छन् । उनीहरूको फार्ममा अहिले ड्रागन फ्रुट, व्यावसायिक गाईपालन, लोकल कुखुरा र आफ्नै ब्रान्डको गँड्यौला मल (भर्मी कम्पोस्ट) उत्पादन भइरहेको छ ।

कृषि कर्मबाटै सबै खर्च कटाएर थापा दम्पतीले मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् भने गाउँका दुई जनालाई नियमित रोजगारी समेत दिएका छन् ।

गणेश रोजगारीका लागि दुइटा देश पुगे, फर्किएर बेलबारी बसेर यातायात व्यवसाय गर्दा गाउँको जग्गामा परम्परागत धान खेती मात्रै हुन्थ्यो । धानबाट सोचेजस्तो उत्पादन भएको थिएन । यातायातबाट पनि सन्तुष्टि मिलेको थिएन ।

त्यसपछि उनले दीर्घकालीन फाइदा दिने बहुवर्षीय बालीको खोजी गर्न थाले । २०७९ सालमा उनले परीक्षणका लागि १ सय वटा पिलरबाट ड्रागन फ्रुट खेती सुरु गरेका थिए ।

खेतमा लगाएको १० महिनामै फल दिन थालेपछि उत्साहित थापाले यसलाई विस्तार गरे । ४ सय बिरुवा खरिद गरेर खेती सुरु गरेका उनले त्यसपछि आफैं बिरुवा उत्पादन गर्न थाले । अहिले करिब ३ बिघा जमिनमा ८ सय पिलर गाडेका छन् ।

ती पिलरमा ३ हजार २ सयभन्दा बढी ड्रागन फ्रुटका बिरुवा छन् । उनको बगानमा सबै सी भेराइटीका ड्रागन फ्रुट छन् । उनले सिजनमा ८ सयदेखि १ हजार २ सय किलोसम्म उत्पादन गर्छन् ।

गाईपालन र आफ्नै ब्रान्डको ‘गँड्यौला मल’

थापाले ड्रागन फ्रुट खेतीसँगै उन्नत जातको गाईपालन पनि गरिरहेका छन् । दुइटा गाईबाट सुरु भएको गोठमा अहिले उन्नत र स्थानीय गरी १० गाई छन् ।

गाईपालनबाट निस्कने गोबरलाई उनले खेर जान दिएका छैनन् । फार्ममै गँड्यौला बनाउँछन् । यो मल ड्रागन फ्रुटका लागि जैविक मलका रूपमा प्रयोग गर्छन् । बिक्रीका लागि बजार पनि पठाउँछन् ।

‘ओएसिस स्मार्ट एग्रो फार्म’ दर्ता गरेका उनले ‘ओसिस गँड्यौली मल’ (भर्मी कम्पोस्ट) उत्पादन गरी आफ्नै प्याकेजिङमा बजार पठाउँछन् । यो जैविक मल प्रतिकिलो २५ रुपैयाँका दरले सहजै बिक्री भइरहेको छ । गँड्यौला मलका लागि पनि बजार अभाव छैन । त्यसबाहेक उनी लोकल खुकुरा पनि पाल्छन् ।

बजारको गाडी र व्यवसाय छाडेर गाउँ फर्किएका थापा दम्पती हिजोआज बिहानदेखि साँझसम्म आफ्नै फार्ममा व्यस्त हुन्छन् । आफ्नै माटोमा पसिना बगाउँदा विदेश र सहरभन्दा बढी आत्मसन्तुष्टि मिलेको गणेशको अनुभव छ ।

‘कृषि कर्ममा घाम, पानी, जाडो वा गर्मी भनेर अल्छी गर्न पाइँदैन, सधैं मिहिनेत चाहिन्छ,’ गणेश भन्छन्, ‘परिवारसँगै बसेर मिहिनेत गर्दा आम्दानी पनि राम्रो हुन्छ,  खोजेको सन्तुष्टि पनि यहीँ मिलेको छ ।’

व्यवसायलाई अझै ठूलो बनाउने उनको सोच छ । अब दुई बिघा जमिनमा ड्रागन फ्रुट विस्तार गर्ने र गाई संख्या पनि बढाउने योजना रहेको उनले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?