+
+
Shares

सिस्नो बन्यो आम्दानीको स्रोत

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ असार ३० गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको लालीगुराँस नगरपालिकाका स्थानीयवासीले कुनै समय उपेक्षित सिस्नोलाई व्यावसायिक प्रशोधन गरी आम्दानीको बलियो स्रोत बनाएका छन् ।
  • चैते सामुदायिक वनले सिस्नोको धुलो र मुना उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना बनाएको छ ।
  • स्थानीय सरकारको सहयोगमा अत्याधुनिक उपकरण प्रयोग गर्न थालेपछि सिस्नोको व्यावसायिक उत्पादन, गुणस्तर र बजार मागमा उल्लेख्य वृद्धि भएको छ ।

३० असार, तेह्रथुम । कुनै समय गाउँघरका पाखापखेरा, वनजङ्गल र खेतबारीमा उम्रिने सिस्नोलाई पोल्ने झारका रूपमा मात्र हेरिन्थ्यो । घाँस काट्दा, दाउरा खोज्दा वा खेतीपाती गर्दा शरीरमा बिझ्ने भएकाले धेरैका लागि यो झन्झटको विषय थियो।

कतिपयले सिस्नोलाई गरिबीको प्रतीकका रूपमा समेत हेर्थे। तर, समय परिवर्तनसँगै सोच बदलिएको छ । अहिले त्यही सिस्नो तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का स्थानीयका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ । संरक्षण, खेती, प्रशोधन र बजारीकरणसँग जोडिएपछि सिस्नोले गाउँको अर्थतन्त्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।

यहाँका स्थानीयहरुको दैनिकी अहिले सिस्नोसँग जोडिएको छ । बिहान घरायसी काम सकेपछि उनीहरु दैनिक चैते सामुदायिक वन पुग्ने गर्छन् । त्यहाँबाट १५ देखि २०  किलोसम्म सिस्नो सङ्कलन गरी वनले सञ्चालन गरेको प्रशोधन केन्द्रमा बिक्री गर्ने गरेका छन् ।

प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री हुने स्थानीय दीपेन्द्र बस्नेतले बताए ।  फुर्सदको समय सदुपयोग गर्दै  बस्नेत जस्तै यहाँका स्थानीयहरु सिस्नु संकलन गरी बिक्री गर्दै आएका छन् ।

चैते सामुदायिक वनका उपभोक्ता तथा आसपासका धेरै स्थानीय अहिले सिस्नो सङ्कलन गरेर आम्दानी गरिरहेका छन् । कुनै समय टाउको दुखाइ बनेको सिस्नो अहिले उनीहरूका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ ।

गाउँका महिलादेखि युवासम्म फुर्सदको समयमा सिस्नो सङ्कलन गरी प्रशोधन केन्द्रमा बिक्री गर्ने गर्छन् । करिब ३६५ हेक्टर क्षेत्रफलमा फैलिएको चैते सामुदायिक वनको झण्डै १० प्रतिशत भूभागमा प्राकृतिक रूपमा सिस्नो पाइन्छ । यही सम्भावनालाई अवसरमा बदल्दै सामुदायिक वनले सिस्नोको व्यावसायिक उपयोग सुरु गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा वनको करिब एक हेक्टर क्षेत्रमा व्यावसायिक सिस्नो खेती विस्तार गरेको छ । अहिले सामुदायिक वनसँगै निजी जग्गामा समेत सिस्नो खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।

उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार हाल दैनिक ४० देखि ५० किलोसम्म लोकल, पात्ले र अल्लो जातका सिस्नो सङ्कलन भइरहेको छ । त्यसबाट दैनिक पाँचदेखि छ किलोसम्म सिस्नोको धुलो उत्पादन हुन्छ ।

उत्पादन क्षमता सीमित भएकाले अहिले टोल–टोलका उपभोक्तालाई पालैपालो सिस्नो सङ्कलन गर्न लगाइएको छ । ‘हामी अहिले गुणस्तर परीक्षण, लेबलिङ र प्याकेजिङको अन्तिम तयारीमा छौँ । त्यसपछि दैनिक ४ सय  किलोसम्म सिस्नो प्रशोधन गर्ने लक्ष्य छ’, अध्यक्ष खड्काले बताए ।

कुनै समय पोल्ने झार भनेर बेवास्ता गरिएको सिस्नो आज लालीगुराँसका स्थानीयका लागि आम्दानी, आत्मनिर्भरता र समृद्धिको प्रतीक बनेको छ

सामुदायिक वनले उत्पादन गरेको सिस्नोको धुलो प्रतिकिलो दुई हजार रुपैयाँमा बिक्री हुँदै आएको छ भने तीनपाते सुकाइएको मुना प्रतिकिलो दुई हजार पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ ।

उत्पादनलाई व्यवस्थित बनाउन प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रममार्फत डिभिजन वन कार्यालयले करिब १० लाख रुपैयाँ बराबरका सिस्नो सुकाउने, धुलो बनाउने र प्याकिङ गर्ने मेसिन उपलब्ध गराएको छ । आधुनिक उपकरण प्रयोगमा आएपछि उत्पादनको गुणस्तर सुधार भएको छ भने बजार विस्तारको आधार पनि बलियो बन्दै गएको छ ।

एक समय गाउँघरमा मात्रै सीमित रहेको सिस्नो अहिले सहरका होटल तथा रेस्टुरेन्टसम्म पुग्न थालेको छ । लालीगुराँस नगरपालिकाको बसन्तपुर आउने पर्यटकमध्ये धेरैले स्थानीय स्वादका रूपमा सिस्नोको परिकार खोज्ने गरेका छन् ।

स्थानीय होटल व्यवसायी हेमराज बानियाँका अनुसार सिस्नोको परिकार अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीय उत्पादनप्रतिको आकर्षण बढेसँगै यसको व्यापार पनि विस्तार हुँदै गएको उनले बताए ।

सिस्नो स्वादका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै उपयोगी मानिन्छ । यसमा प्रोटिन, भिटामिन ए, सी, के, फलाम, क्याल्सियम र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ ।

नियमित सेवनले शरीरलाई ऊर्जा दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, रक्तअल्पता कम गर्ने, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुर्‍याउने तथा जोर्नी दुखाइ कम गर्न मद्दत गर्ने भएकाले पछिल्ला वर्षहरूमा यसको माग उल्लेखनीय रूपमा बढेको छ ।

हाल चैते सामुदायिक वनमा उत्पादन भएको सिस्नोको धुलो बसन्तपुरका होटलमा मात्र होइन, जिल्ला बाहिरका ठूला होटलसम्म पुग्न थालेको छ । विदेशबाट समेत माग आइरहेको भए पनि उत्पादन सीमित भएकाले तत्काल निर्यात गर्न नसकिएको सामुदायिक वनकी सदस्य रेणुका खड्काले बताइन् ।

उनका अनुसार लेबलिङ र आवश्यक प्रक्रिया पूरा भएपछि उत्पादन बढाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु‍र्याउने योजना छ । ‘अहिले बजारको समस्या छैन, उत्पादन बढाउनु नै मुख्य चुनौती हो’, उनी भन्छन् ।

बढ्दो मागलाई ध्यानमा राख्दै सामुदायिक वनले खाली जमिन र निजी खेतबारीमा समेत सिस्नो खेती विस्तार गर्न स्थानीयलाई प्रोत्साहन गरिरहेको छ । यसले वन संरक्षणसँगै आयआर्जन, रोजगारी र उद्यमशीलतालाई एकसाथ अघि बढाएको छ ।

चैते सामुदायिक वनको यो अभ्यासले एउटा महत्वपूर्ण सन्देश दिएको छ-वन केवल काठको स्रोत मात्र होइन, गैरकाष्ठ वन पैदावारको दिगो उपयोगमार्फत ग्रामीण अर्थतन्त्रको बलियो आधार पनि बन्न सक्छ । कुनै समय पोल्ने झार भनेर बेवास्ता गरिएको सिस्नो आज लालीगुराँसका स्थानीयका लागि आम्दानी, आत्मनिर्भरता र समृद्धिको प्रतीक बनेको छ ।

प्राकृतिक रूपमा उपलब्ध स्रोतको सही व्यवस्थापन र मूल्य अभिवृद्धि गर्न सकिए गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण चैते सामुदायिक वनले दिएको छ । यही कारण आज सिस्नो केवल वनस्पति होइन, गाउँको भविष्य बदल्ने हरियो सम्पत्तिका रूपमा स्थापित हुँदै गएको छ ।

यसरी बनाइन्छ सिस्नोको धुलो, हेर्नुस तस्वीरमा :

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?