Comments Add Comment

ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

३ असार, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले ‘ब्लड बैंक’ भवन बनाउनका लागि जग्गा दिएको छ । महानगरपालिकाको स्वामित्वको वीरगञ्ज-२ स्थित कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई  ब्लड बैंक भवन बनाउन दिएको हो ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति बिरेन्द्रराज कँडेल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौलाकाबीचमा जग्गा लिने दिने विषयमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा महानगरपालिकाले दिएको जमिनमा रेडक्रसले आफ्नै स्रोतबाट भवन बनाउनुपर्ने, भुइँ तला पुरै सार्वजनिक पार्किङका लागि राख्नुपर्ने, पार्किङ शुल्क दुवै पक्षको सहमतिमा निर्धारण हुनुपर्ने, पार्किङबाट उठेको रकम पार्किङ व्यवस्थापन, ब्लड बैंक व्यवस्थापन र सञ्चालन तथा सामाजिक कार्यमा खर्च गर्नुपर्ने, ब्लड बैंक बाहेक अन्य प्रायोजनमा प्रयोग गर्न नपाउने, ब्लड बैंकको भवन प्रायोजन समाप्त भएमा वा सारिएमा भवन र जग्गा स्वतः महानगरको स्वामित्वमा हस्तान्तरण हुने उल्लेख छ ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले वीरगञ्जमा ०३४ सालदेखि नै रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालन गर्दै आएको छ । नारायणी अस्पतालको जमिनमा वीरगञ्ज चिनी कारखनाले रक्तसञ्चार केन्द्रको भवन बनाईदिएको थियो । त्यहिबाट रगतको संकलन, भण्डारण र वितरणको काम हुन्छ ।

चिकित्सकको सिफारिसमा विरामीका आफन्तले आवश्यक परेको रगत १ हजार ५० रुपैयाँ तिरेर लैजान्छन् । केन्द्रले विभिन्न संघ संस्था, क्लबहरुसँगको सहकार्यमा सामुहिक रुपमा रक्तदान कार्यक्रम, आकस्मिक रक्तदान गराउँदै आएको छ । वीरगञ्जमा सामान्य अवस्थामा दैनिक ३५ देखि ६० पोकासम्म रगत खपत हुने गरेको रेडक्रसका कार्यालय सहायक राजन श्रीवास्तव बताउँछन् ।

पुरानो संरचना भएकोले हाल ब्लड बैंक सञ्चालन गर्न ठाउँ साँघुरो भइरहेको छ । भने अर्कोतर्फ त्रिभुवन राजपथ दायाँ बायाँ २५-२५ मिटर विस्तार भएको खण्डमा केन्द्रको भवन भत्काउनुपर्ने बाध्यता छ । नारायणी अस्पताललाई नै विस्तार गर्दा पनि भवन नभत्काई नहुने स्थिति छ ।

त्यसैले नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले नारायणी अस्पतालसँग वैकल्पिक जमिनको व्यवस्था गरिदिन माग गरेको थियो । तर अस्पताल विकास समिति र अस्पतालका जिम्मेवार अधिकारीहरुले अस्पतालसँग आफ्नै लागि प्रयाप्त जमिन नभएकोले केन्द्रलाई जमिन दिन नसक्ने बताएको रेडक्रसले जनाएको छ ।

सम्झौतापछि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति बिरेन्द्रराज कँडेललाई जग्गाको कागजात हस्तान्तरण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौला ।

त्यसपछि रेडक्रसले स्थानीय सरकारसँग जमिनका लागि अनुरोध गरेको थियो । सामाजिक संस्था रेडक्रसको अनुरोधलाई स्वीकार गरेर महानगरले आफ्नो स्वामित्वको जमिन उपलब्ध गराएको नगर प्रमुख विजय कुमार सरावगीले बताए ।

‘ मालपोत कार्यालयको छेउको जमिन पार्किङमा प्रयोग गर्दे आएका थियौं, सडक विस्तार हुँदा केहि जमिन सडकमा पर्न जान्छ ।’ उनले भने ‘ सडकको जमिन छोडेर ब्लड बैंक भवन बनाउने शर्तमा जमिन उपलब्ध गराएका छौं । ’

भवनको भूँई तलामा पार्किङको बन्दोबस्त मिलाउँदा रक्तसञ्चार केन्द्र व्यवस्थापनका लागि आर्थिक स्रोतपनि जुट्ने भएकोले त्यसैगरि काम अघि बढाउन सम्झौता गरिएको उनको भनाई छ ।

महानगरपालिकाले उपलब्ध गराएको जमिनमा प्रादेशिक रक्तसञ्चार केन्द्र बनाउनेगरि काम अघि बढाउने रेडक्रस पर्साका सभापति कँडेलले बताए ।

‘ रेडक्रसको आफ्नै जमिन पनि नभएको हैन । तर टाढा छ । नारायणी अस्पतालमा गरिब जनता उपचारका लागि आउने हो ।’ उनले भने ‘ त्यसैले अस्पतालमै रक्तसञ्चार केन्द्र हुँदा ठिक हुन्छ भन्ने हाम्रो सोचाई थियो, तर अस्पतालले जमिन नदिने भयो । त्यसैले स्थानीय सरकार गुहारेका थियौं । महानगरले दुई कित्ता गरी ५ कठ्ठा जमिन दिएको छ । २ कठ्ठा जतिमा निर्माणको काम गर्न सकिन्छ होला ।’

नाप नक्साको काम सकिएपछि भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउने उनले बताए । ‘ भवनका लागि सुर्य टोबाले १० लाख दिईसकेको छ, वीरगञ्ज र पर्साका अन्य पालिकाले पनि रकम दिने आश्वासन दिएका छन् ।’ सभापति कँडेलले भने ‘ आर्थिक राजधानीमा रक्तसञ्चार केन्द्रको भवन बनाउन आर्थिक स्रोतको अभाव नहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment