Comments Add Comment

मनाङसँग सडक सम्पर्क विच्छेद, थुनिएको मर्स्याङ्दी आफैं बग्न थाल्यो

मर्स्याङ्दी नदीमा आएको बाढी । तस्वीर : सशस्त्र प्रहरी बल

६ असार, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले जानकारी दिए ।

करिब आधा घण्टापछि नै नदी बग्न थालेको जानकारी दिंदै डिएसपी खड्काले भने, ‘अहिले पनि साना-ठूला पहिरो त गइरहेका छन् । तर नदी थुनिने सम्भावना भने अहिलेसम्म देखिएको छैन ।’

मर्स्याङ्दी नदी ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो । नदी खुलेपछि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।

सडक सम्पर्क विच्छेद

मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएपछि सडक सम्पर्क टुटेको डीएसपी खड्काले बताए । उनले भने, ‘सडक सम्पर्क टुटेकाले अब हवाई बाहेक अरु विकल्प छैन ।’ ग्रामीण सडकहरु पनि पहिरोले भत्किएको उनले बताए ।

‘यस वर्षको मनसुनको सुरुमै अत्यधिक वर्षा हुँदा मनाङमा व्यापक क्षति भएको छ, अहिलेसम्म क्षतिको मूल्यांकन नै गर्न सकिने अवस्था छैन,’ उनले भने ।

प्रहरीका अनुसार माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका कतिपय घरहरु भत्किएका छन् । कतिपय घरहरु उच्च जोखिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment