
११ असार, काठमाडौं । अफगानिस्तानमा आगामी सेप्टेम्बरपछि पनि ६५० अमेरिकी सैनिक बाँकी रहने भएका छन् । समाचार एजेन्सी एपीका अनुसार कूटनीतिक अधिकारीको सुरक्षाको लागि उक्त संख्यामा अमेरिकी सैनिक अफगानिस्तानमा रहने भएका हुन् ।
अमेरिकी अधिकारीका अनुसार टर्कीको सेनाको अपरेसन पूरा नहुँदासम्म केही अमेरिकी सेनाले विमानस्थलमा टर्कीलाई सहयोग गर्नेछन् । विमानस्थलमा टर्कीसँगको सहकार्यमा अमेरिकाले विभिन्न प्रविधिको प्रयोग गरिरहेको छ । त्यसैले उक्त प्रविधिको रक्षाको लागि पनि केही अमेरिकी सैनिक अफगानिस्तानमा नै रहने भएका हुन् ।
अमेरिकाले आफ्ना गठबन्धनको सेना जुलाईको अन्तिम साता वा त्यसपछि अफगानिस्तानबाट फर्किने बताएको छ । यद्यपि आधिकारिकरुपमा भने यसबारे अमेरिकाले कुनै जानकारी दिएको छैन । पछिल्लो केही समययता निरन्तर अमेरिकाको गठबन्धनमा आबद्ध मुलुकले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गरिरहेका छन् । यसैबीच अफगानिस्तानमा विद्रोही तालिबानले पनि आफ्नो कब्जा बढाउँदै लगेको छ ।
पछिल्लो समय अमेरिकाले विशेषगरी चीन र रुसबाट धेरै चुनौती उत्पन्न भएको भन्दै अन्य क्षेत्रमा आफ्नो सैन्य मिसन अन्त्य गर्ने निर्णय गरेको हो । अमेरिकाको रक्षा मन्त्रालयले यसअघिको घोषणाअनुसार सेप्टेम्बरबाट सबै सैनिक फिर्ता ल्याउने योजनामा कुनै परिवर्तन नभएको बताएको छ । शुक्रबार अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेटवार्ता गर्दैछन् । यो भेटमा अफगानिस्तानको विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4