+
+

फेरि महँगिन थाल्यो खाने तेल

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ भदौ ३ गते ११:४०

३ भदौ,काठमाडौं । उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए ।

‘तोरी, सनफ्वालर र भटमास सबैको मूल्य एकाएक बढेको छ, बढ्नुको कारण उद्योगीले भनेका छैनन्, अझै मूल्य बढ्ने बताएका छन,’ अधिकारीले भने ।

गत वर्ष मंसिरदेखि झण्डै दोब्बर मूल्यले बेढेको खानेको भाउ केही समय अघि घटेको भन्दै उद्योगीहरुले प्रचार गरेका थिए ।

झण्डै एक महिनाजति घटेको जस्तो देखिएको तेलको भाउ पुनः बढेको संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बताए । केही समय घटेको प्रचार गरिएको तेलको भाउ पुनः पुरानै अवस्थामा पुर्‍याइएको बज्राचार्यको भनाइ छ ।

‘तेलको भाउ प्रतिलिटर २३५ सम्म आइपुगेको थियो, तर पुनः २६५ रुपैयाँकै अवस्थामा पुगेको छ तेलको भाउ अस्वभाविक र अनियन्त्रित देखिन्छ,’ उनले भने ।

घटाएको जस्तो बहाना बनाएर उद्योगीले पुनः उपभोक्तालाई तेलको मूल्यमा अन्याय गरेको बज्राचार्यको आरोप छ । साना खुद्रा व्यवसायीलाई अनुगमन गरेर डाम्ने तर उद्योगीहरुलाई राजनीतिक संरक्षण मिलेकोप्रति उनले असन्तुष्टि जनाए ।

साउन २३ अघिसम्म प्रतिलिटर २२५ रुपैयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको भाउ मंगलबारसम्म आइपुग्दा २४० रुपैयाँ पुगेको संघले जनाएको छ ।

यस्तै धारा तोरी र  भटमास तेलको मूल्य पनि बढेको छ । खाने तोरीको तेलको भाउ लिटरमा ३५ रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायीहरूले बताएका छन् ।

९ महिनामा दोब्बर वृद्धि

नेपाली बजारमा २०७७ कात्तिकमा भटमासको तेल प्रतिलिटर १३० देखि १४० रुपैयाँ र सूर्यमुखी तेल १६० रुपैयाँ प्रतिलिटरमा बिक्री भएको थियो । तर २०७८ असारसम्म आइपुग्दा तेलको भाउमा अचाक्ली वृद्धि देखियो ।

असार तेस्रो साता नेपाली बजारमा भटमासको तेलको प्रतिलिटर मूल्य २२० देखि २३५ रुपैयाँ पुगेको नेपाल खुद्रा ब्यापार संघको तथ्यङ्कमा देखिन्छ ।

यस्तै १४० रुपैयाँको सूर्यमुखी तेलेको मूल्य लिटरमै तीन सय रुपैयाँ पुग्यो । तोरीको तेलको मूल्य पनि लिटरमा ५० रुपैयाँ भन्दा बढीले बढेर ३३० रुपैयाँ नाघ्यो ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघमा २० वटा तेल उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरु आवद्ध छन् । तर, कुनै पनि उद्योगीहरु तेलको भाउ बढेको वा घटेकोबारे सार्वजनिक रुपमा बोल्न चाहँदैनन् ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवालले तेलको भाउ आफूहरुको कारण नबढेको बताए ।  ‘तेलको भाउ घट्छ र बढ्छ, यो अन्तराष्ट्रिय कारण हो यसमा हाम्रो कुनै हात छैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय कारण के के हुन ? भन्ने प्रश्नमा भने उनले थप बोल्न चाहेनन् ।

क्यानडा, युक्रेन इण्डोनेसिया लगायतको मुलुकबाट कच्चा पदार्थ ल्याएर नेपाली उद्योगीहरुले प्रशोधन गर्दै तेलको बिक्री गरिरहेका छन् ।

ती मुलुकबाट भारतमा आयात हुन नपाउने तर साफ्टा सुविधामा नेपालबाट भारतमा तेल निर्यात गर्न पाइने भएपछि यो व्यवसाय अहिले निकै फष्टाएको छ । गत आवमा मात्रै नेपालबाट ५३ अर्ब ६५ करोडको रुपैयाँ बराबरको भटमासको तेल भारत निर्यात भएको थियो ।

मौन अनुगमनकारी निकाय

एक वर्षको अवधिमा तेलको मूल्यवृद्धिबारे एक पटक अनुगमन गरेर दुई उद्योगलाई कारबाही गरेयता वाणिज्य विभागले थप अनुगमन गरेको छैन । नेपाल वनस्पति घिउ तेल उत्पादक संघमार्फत तेलको मूल्यमा निरन्तर भएको मूल्यबारे विवरण माग गरिएको विभागको एकोहोरो रटान छ ।

तेलको मूल्यबारे संघमार्फत जानकारी माग गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

‘मूल्यवृद्धिको गुनासो आएको छ, हामीले उद्योगीसँग विवरण मागेको छौं, तर आएको छैन,’ उनले भने । तेलको भाउ बढेकोबारे विभागले उपयुक्त अनुगमन र निर्णय गर्ने दावी सेढाईंको छ ।

उपभोक्ताको गुनासो र बजारको समस्याअनुसार विभागमा अनुगमनका लागि जनशक्तिको अभाव भएको उनले बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?