+
+

सपना : किन हजारौं वर्षदेखि अनुत्तरित ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ भदौ ५ गते १९:५८

मान्छेले जीवनको एक तिहाइ समय सुतेर बिताउँछन् । निद्रामा अनेकथरी सपना देखिन्छ । सपनाको संसार आफैंमा चामत्कारिक, रहस्यमयी र विचित्रको हुन्छ । वास्तविक जीवनमा नभोगेका, नझेलेका सास्ती मात्र नभई नचिताएका उपलब्धि पनि सपनामा पाइन्छ ।

आखिर सपना के हो ? न पौराणिक शास्त्रहरूले यसको सर्वमान्य जवाफ दिएको छ, न विज्ञानले । यो आफैंमा एक विराट रहस्य हो । यसबारे अनेक तर्क-वितर्क गर्न सकिन्छ । निचोडमा पुग्न भने कठिन छ ।

सपनाबारे थुप्रै अध्ययन भएका छन् । सदियौंदेखि सपनाको बारेमा चासो राखिएको छ, अनेक प्रयोग-अध्ययन भएका छन् । विभिन्न धर्म, समुदाय, भूगोलले सपनाको विषयमा आ-आफ्नै धारणा बनाएका छन् । विज्ञान एवं मनोविज्ञानले पनि यसलाई खोतलेका छन् । तर, अझै पनि सर्वमान्य जवाफ छैन ।

पाँचहजार वर्षअघि नै सपनाको तीन अवस्थाबारे व्याख्या भएको थियो । भविष्यमा के हुनेछ भन्ने भविष्यवाणी गर्न, अहिलेको कामको प्रतीकात्मक व्याख्याको लागि र दैविक एवं खराब आत्माहरूको कारणले सपना देखिन्छ भन्ने मान्यता प्राचीन ग्रीक महाकाव्य र शिलालेखहरूमा पाइएको छ ।

इसापूर्व पाँचौं शताब्दीमा युनानी इतिहासकार हेरोडेट्स (युनानी इतिहासका पिता) ले लेखेको साहित्यमा राजा क्रससलाई सपनामा कसैले उनको छोरा भालेको आक्रमणमा मारिनेछन् भन्ने भविष्यवाणी गर्‍यो । त्यसपछि उनले छोरालाई भालेबाट बचाउन छुट्टै सैन्य दस्ता खटाए ।

फ्रायडले आफ्नो पुस्तक ‘साइकोलोजी अफ ड्रिम्स’मा एक चिकित्सकले शिशु छँदा सपनामा देख्ने गरेको पहेंलो रंगको खेलौना सिंह ३० वर्षको उमेरमा पनि देख्ने गरेको उल्लेख गरेका छन्

ग्रीक र रोमन सभ्यतामा सपनामा भविष्यसूचक शक्ति हुन्छ भन्ने विश्वास थियो, सपनाका कुरालाई महत्वका साथ हेरिन्थ्यो । अहिले पनि सपनाले महत्व पाउने गरेकै छ । सपनाको फल बताउने पुस्तकहरू समेत प्रकाशित हुने गरेका छन् ।

सिग्मण्ड फ्रायडको तर्क पेश नभएसम्म सपना कुनै अदृश्य शक्तिको कारण देखिन्छ भन्ने मान्यता थियो । तर फ्रायडले यसलाई मनोविज्ञानसँग जोडेर व्याख्या गरे । उनका अनुसार, सपनाहरू भावनामा आधारित हुन्छन् ।

मनोविज्ञानका पिता मानिने फ्रायडको साइकोलोजी अफ ड्रिम्स (सपनाको मनोविज्ञान) भन्ने पुस्तक नै आयो, जसमा कुनै पनि सपना अर्थहीन र बेतुकको हुँदैन भन्ने तर्कहरू थिए । त्यस अनुसार, मानिसको विचारको आधा हिस्सा सुषुप्त रहन्छ, आधा सजग वा सचेत । सपना घटनाक्रमको पुनरुक्ति र अचेत मनको अपूर्ण इच्छा पूर्तिको लागि देखिन्छ भन्ने फ्रायडको मत छ ।

फ्रायडका अनुसार, सानो बालबच्चाको सपनामा इच्छापूर्तिको प्रयास भेटिन्छ भने वयस्कहरूको सपनामा विगतका दिनको अनुभवको कुनै न कुनै सन्दर्भ आउँछ । हरेक सपनाको लागि निदाउनु अघिको अनुभूति वा अनुभव जिम्मेवार हुन्छ ।

सपना एक आविष्कार

गुगल सर्च इन्जिनमा पनि सपनाको योगदान भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । विद्यावारिधिका विद्यार्थी ल्यारी पेज सन् १९९६ मा स्ट्यानफोर्ड युनिभर्सिटीमा भर्ना भएर गल्ती गरेको भन्दै चिन्तित थिए । त्यही समयमा एकरात उनले इन्टरनेटमा सबै जानकारी सेभ र डाउनलोड गर्न सकिने सपना देखे ।

त्यसपछिका दिनमा कोडिङ शुरू गरेका उनी लिंकको माध्यमबाट धेरै जानकारी भण्डारण गर्न सकिन्छ भन्ने प्रमाणित गर्न सफल भए । दुई वर्षको कडा मिहिनेतपछि त्यो प्रोजेक्टको नाम ‘गुगल’ राखे, गुगल शब्द सपनामा नै जानेको पेजले पछि बताएका थिए ।

डीएनएको खोजी, सिलाइ मेसिनको आविष्कार र रसायन विज्ञानमा पेरियोडिक टेबलको आविष्कारमा पनि कुनै न कुनै रूपमा सपनाको योगदान रहेको सम्बन्धित वैज्ञानिकहरूले विभिन्न समय र माध्यममा बताएका छन् ।

फ्रायड ‘साइकोलोजी अफ ड्रिम्स’मा लेख्छन्- मनोवैज्ञानिक प्रभाव पारेको कुनै पनि घटनाले सपनालाई असर गर्छ । उत्तर पाउन नसकिएको कुनै प्रश्नको हल सपनामा हुने सम्भावना हुन्छ ।

फ्रायडका अनुसार, मनोवैज्ञानिक रूपले महत्वपूर्ण कुनै एक वा धेरै घटनाले सपनामा ठूलो प्रभाव पार्छ । कतिपय सामान्य विषय पनि अनुभवको आधारमा सपनामा देखिन्छ ।

सपनालाई व्यक्तिको शारीरिक वा मानसिक अवस्थाले पनि प्रभाव पार्छ । कहिलेकाहीं सपनामा विना वस्त्र कुनै ठाउँमा पुगेको देख्छौं । त्यहाँबाट भाग्न खोज्दा सकिंदैन । यो हतास वा त्रसित दिमाग भएको अवस्थामा देखिने सपना हो ।

भुल्ने/सम्झिने सपना

कसैले सपना सम्झिन्छ त कसैले भुलिरहेको हुन्छ । त्यस्तै, कसैले सपना देखेको हुन्छ त कोहीले निदाए पनि सपना देखेको वा नदेखेको भन्न सक्दैनन् । फ्रायडले सुत्ने समय, निद्राको अवस्था र ब्यूँझने समयले सपना निर्धारण गर्ने उल्लेख गरेका छन् ।

मनोविज्ञ गोपाल ढकालका अनुसार, सपना देखेको अवस्थामा आँखाको नानी चलिरहेको हुन्छ, जसलाई र्‍यापिड आइ मूभमेन्ट (आरपीएम) भनिन्छ । आरपीएम भइरहेको बेला मानिसको दिमाग पनि जागृत अवस्थामा जस्तै चलिरहेको हुन्छ ।

गहिरो निद्रामा भने आरपीएम हुँदैन, दिमाग पनि जागृत अवस्थामा जस्तो चलिरहेको हुँदैन । ‘सपना देख्ने अवस्थाको निद्राबाट ब्यूँझिंदा सपना सम्झिइन्छ’ ढकाल भन्छन्, ‘ब्यूँझिने बेला गहिरो निद्रामा परियो भने त्यसअघि देखेका सबै सपना बिर्सिन्छौं ।’

शिशु र दृष्टिविहीनका सपना

मनोविज्ञ ढकालका अनुसार, शिशुहरूले पनि सपना देख्छन् । त्यही भएर नै सुतेको बेला आत्तिने, रुने गर्छन् । लगभग १८ घण्टा सुत्ने उनीहरू आफूले देखेको सपना बताउन भने सक्तैनन् ।

फ्रायडले शिशुकालका कतिपय सपना पछिसम्मै निरन्तर देखिने उल्लेख गरेका छन् । ‘साइकोलोजी अफ डि्रम्स’मा उनले एक चिकित्सकले शिशु छँदा सपनामा देख्ने गरेको पहेंलो सिंह ३० वर्षको उमेरमा पनि देख्ने गरेको उल्लेख गरेका छन् ।

ती चिकित्सकले पाँच वर्षको उमेरमा देखेको सपना २५ वर्षमा दोहोरिइरहनुको कारण फ्रायडसँग सोधेका थिए । उनले बच्चा छँदा धेरै मन पराएको तर, राम्रोसँग नियाल्न नपाएको पहेंलो रंगको खेलौना सिंह ३० वर्षसम्म पनि सपनामा देखिरहेको फ्रायडको निष्कर्ष छ ।

अमेरिकन साइकोलोजिकल एजेन्सीले गरेको अध्ययनले आँखा नदेख्ने मान्छेले पनि दृश्यात्मक सपना देख्छन् भन्ने देखाएको छ । जन्मजात र नवजात अवस्थामा दृष्टिविहीन भएकाहरूले भने दृश्यात्मक सपना देख्दैनन् भन्ने अध्ययनको निष्कर्ष छ ।

अध्ययन अनुसार दृष्टिविहीनमध्ये थोरैले मात्र सफलता वा असफलताको सपना देख्छन् । सन् १९९९ को उक्त अध्ययनमा १५ जना दृष्टिविहीन वयस्कले दुई महीनाको अवधिमा देखेको ३७२ वटा सपनाको विश्लेषण गरिएको थियो ।

जनावरले सपना देख्छन् ?

मान्छे जस्तै जनावरलाई पनि आराम चाहिन्छ । उनीहरू पनि निश्चित समय सुत्छन् । कतिपय जीवजन्तु त ५-६ महीना लामो महानिद्रा (हाइबरनेशन)मा जान्छन् । युनिभर्सिटी कलेज अफ लण्डनका अध्येता हृयुगो स्पायर्सको टोलीले जीवजन्तुले पनि सपना देख्ने सम्भावना औंल्याएको छ ।

अमेरिकाको बोस्टन युनिभर्सिटीको इभोलुसनरी न्यूरोबिहेभियर ल्याबोरेटरीका निर्देशक प्याटि्रक म्याकनामाराले पनि नेशनल जियोग्राफिक अध्ययनको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भनेका छन्- ‘जनावरहरूमा पनि एउटा त्यस्तो क्रिया हुन्छ, जसलाई हामी सपना भनेर चिन्छौं ।’

अर्काे एक अध्ययनले सुतेको बिरालोको आँखामा र्‍यापिड आइ मूभमेन्ट (आरपीएम) भएको पाइएको छ, त्यो सपना हो या होइन भनेर यकिन गर्न कठिन छ । मनोविज्ञ ढकाल पशुहरूले व्यक्त गर्न नसके पनि सपना देख्ने विश्वास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?