+
+
ब्लग :

कृपया मेरा आँखालाई फेरि सपना देख्न सिकाइदिनुहोस् ! 

२००६ देखि देशमा भएका केही महत्वपूर्ण राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण र त्यसपछि पुनर्संरचना, संघीयता, समावेशी लोकतन्त्र, सीमान्तकृत र जोखिममा परेका समूहको समुचित सहभागिता र प्रतिनिधित्व सबैभन्दा चर्को र विवादास्पद मुद्दाहरू रहे तर यी मुद्दाहरूले सोचेजस्तो परिणाम पाउन अझै थुप्रै कसरत गर्नुपर्ने देखिन्छ ।

रजनी हुमागाईं रजनी हुमागाईं
२०८१ वैशाख १० गते १०:४६

अचेल आँखाले सपना देख्न छोडिसके । सामान्य मध्यम वर्गीय परिवारमा जन्मिएकी म । सानै परिवारमा जन्मिए पनि ठूला ठूला सपना हुन्थे मेरा आँखामा ।

१८ वर्षको उमेरदेखि यही काठमाडौंमा संघर्ष गरिरहेकी छु । मसँगै पढ्ने साथीहरू लगभग सबै नै विदेश पुगिसके । विदेश जाने रहर भने मलाई लागेन । मलाई थाहा छ म जस्तै अरू पनि छन् यो शहरमा जो यहीं केही गरेर अघि बढ्दैछन् ।

सपना हराएको धेरै भएको छैन । जनआन्दोलनको समयमा म रेडियोमा जागिर गर्थें । जागिर सँगै पढाइ पनि । रेडियोको जागिरमा पैसा खासै हुँदैनथ्यो तर त्यसको बेग्लै आनन्द थियो । त्यो समयको छाल मलाई अझै पनि याद छ– द्वन्द्वपछिको समय ।

केही भयावह तर आशलाग्दो समय अब देशमा केही होला भने आश ।

एउटी महिला जो रेडियोमा काम गरेर बेलुका ८–९ बजे घर पुग्छे उसलाई त्यसबेलाको देशको सुरक्षा व्यवस्थाबारे के सोध्नुहुन्छ ? स्थिति सबै थाहा थियो तैपनि त्यो समय पछि राम्रो समय आउँछ भन्ने आशमा लागिरहें ।

त्यसपछि संविधान सभाको चुनाव आयो फेरि मनमा आशा पलायो । अब देशले गति लिनेछ । चुनाव सकियो केही हलचल हुँदैथियो, देशको मूल कानुन बन्दैथियो, सबैले नयाँ नेपालको नारा लगाउँदै थिए ।

अचानक भूकम्प आयो, भूकम्पसँगै केही आश पनि डगमगाए । भूकम्पपछिको त्यो लथालिङ्ग । विपद् व्यवस्थापनको धजिया नै उडेको देखियो । ऐतिहासिक संविधान सभाको चुनावपछि त केही हुन्छ भन्दै सपना देख्ने आँखा अब भूकम्पको धक्काले धेरै भिजे ।

र, यी भिजेका आँखालाई झन् भिजाए– ‘अनौपचारिक नाकाबन्दीले ।’

त्यो पनि एउटा अचम्मको समय लागेको थियो मलाई । धेरै कुराको अभावमा पनि जिन्दगी हामी चलाउन सिक्ने रहेछौं । हरेक कुरामा हामी नेपाली सहजै आफूलाई समायोजन गर्ने । त्यो घटना कुनै विकसित देशमा भएको भए जनसागर सडकमा उर्लेर सायद सत्ता पलट गर्थे होलान् ।

तर हामी, वीर नेपालीले वीरता यसैमा देखायौं, परिस्थिति अनुसार आफैंलाई समायोजन गर्दै बस्यौं ।

धेरै राजनैतिक कसरत पछि संघीयता आयो । यो पनि आशलाग्दै कुरा थियो मेरा लागि । धेरै बुझेको त मैले पनि थिइनँ तर अब देश विकेन्द्रीकरणतिर जानेछ, सबैतिर विकास नै यसको मूल उद्देश्य हो भन्ने लागेको थियो । कोभिड–१९ को महामारीले त्यो आश पनि हरायो, यो आश अहिले आजको दिनमा आएर मरिसक्यो । उद्देश्य के रहेछ अहिले सबैलाई छर्लंग छ ।

२००६ देखि देशमा भएका केही महत्वपूर्ण राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण र त्यसपछि पुनर्संरचना, संघीयता, समावेशी लोकतन्त्र, सीमान्तकृत र जोखिममा परेका समूहको समुचित सहभागिता र प्रतिनिधित्व सबैभन्दा चर्को र विवादास्पद मुद्दाहरू रहे तर यी मुद्दाहरूले सोचे जस्तो परिणाम पाउन अझै थुप्रै कसरत गर्नुपर्ने देखिन्छ ।

मैले बुझेको, हरेक राजनैतिक व्यवस्थामा एउटा पार्टी सत्तामा हुँदा अर्को पार्टी प्रतिपक्षमा बस्नुपर्ने भत्रे कुनै पनि राजनैतिक व्यवस्थाको नियम हो तर नेपाली लोकतन्त्रका राजनीतिक दलहरूले प्रतिपक्षको बेञ्चमा बस्नु नै पाप मान्नु नेपाली लोकतन्त्रको दुर्भाग्य होला, यही दुर्भाग्यले कैयांै वर्षदेखि स्थिर रहेको राजनैतिक अस्थिरता लम्बिइरहेको छ ।

यो शहरमा सबै अस्तव्यस्त छन् । फुर्सद कसैलाई छैन अनि काम पनि धेरैले छैन भनेकै सुनिन्छ । राजनीतिक अस्थिरता, डामाडोल अर्थतन्त्र, ठप्प बजार, उदासीन अनुहारहरू योभन्दा तिक्तलाग्दो के होला !

अझ दिनभरि एअरपोर्ट बसेर आयो भने आँखाले वास्तवमा यहाँ सपना देख्नै छोड्छ । देश कसरी रित्तिइराखेको छ त्यो कसैलाई मतलब नै छैन । अर्थतन्त्र डामाडोल छ त्यो कसैलाई मतलब नै छैन । देशका कुना–कुनामा बाँझा खेत छन्, आयात बढेको बढेकै छ यो चासोको विषय नै भएको छैन ।

महँगीको मारमा जनताको जीवनस्तर घटिरहेकोे छ अनि यो सरकार एकपछि अर्को पार्टीसँग गठबन्धन गर्दै आफूलाई टिकाउने खेल मात्र खेल्दैछ ।

अब एउटा सामान्य महिलाले यो देशमा के सपना देख्ने ! म आफूले नै सपना देख्न छोडिसकें, मेरा छोरीहरूलाई कसरी सपना देखाऊँ म । यहीं केही गर्ने लक्ष्य लिएको मैले अब छोरीहरूलाई विदेश जाने सपना देखाउँ कि यही अस्तव्यस्त सरकारको आश गर, देश अझै बन्छ भनौं ! म अन्योलमा छु ।

फेरि मेरा आँखालाई सपना देख्न सिकाइदिनोस् प्रधानमन्त्रीज्यू !

एकपटक स्थायित्व कस्तो हुन्छ हेर्ने इच्छा छ, विकेन्द्रीकरणले कस्तो रूप लिन्छ, संघीयतामा विकास भनेको कस्तो हुन्छ, समानतामूलक समाज, सुशासन, दण्डहीनता विनाको व्यवस्था यी सब म जस्ता थुप्रै महिला जसले यति धेरै यो राजनीतिक खेल बुझ्दैनन् तर विकासको रूप हेर्न चाहेका छन्, एकपटक गरेर देखाइदिनुहोस् !

देशमा एक पटक पनि स्थायित्व नदेखेकी म, आफूले आफैंलाई हरेक स्थितिमा सम्हाल्दै अघि बढेकी म, द्वन्द्वकालदेखि अहिलेसम्मको हरेक राजनैतिक अस्थिरता नियाल्दै अनि झेल्दै सपना देख्न सिकेकी मलाई मात्र एकपल्ट स्थायित्व र विकास हेर्न मन छ अनि मन छ मेराजस्ता थुप्रै आँखाहरूलाई जसले अब केही होला भन्ने सपना वर्षौंदेखि देखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?