+
+

टिकटकमा यस्तो के छ, जसले मानिसलाई लत लगाउँछ ? किन बन्द गर्न चाहन्छ अमेरिका ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते ७:५४

अमेरिकी सरकारले चिनियाँ भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । टिकटक र अमेरिकी सरकारबीच लामो समयदेखि चल्दै आएको संघर्ष अब निष्कर्षमा पुग्ने चरणमा छ । किनकि राष्ट्रपति जो बाइडेनले अमेरिकामा टिकटक बेच्नुपर्ने अन्यथा प्रतिबन्ध लगाइने कानुनमा हस्ताक्षर गरिसकेका छन् ।

हुनत यसअघि पनि टिकटकको मातृ कम्पनी बाइटडान्ससँग टिकटकलाई कुनै अमेरिकी कम्पनीलाई बेच्न प्रस्ताव नगरिएको होइन । तर, उसले अस्वीकार गर्दै आएको छ ।

पछिल्लो अमेरिकी कदमपछि बाइटडान्सले अमेरिकीलाई टिकटक नबेच्ने प्रष्ट पार्दै त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएको छ । बरु बेच्नुभन्दा अमेरिकामा टिकटक बन्द गर्नु उपयुक्त हुने बाइटडान्सको भनाइ छ ।

अमेरिकामा टिकटक प्रयोगकर्ताको संख्या करिब १७ करोड छ । ती प्रयोगकर्ताको विवरण चीन सरकारसँग रहेको र सोही डेटाको आधारमा चीनले जेपनि गर्न सक्ने आरोप अमेरिकाको छ ।

अमेरिका सरकारले यसलाई राष्ट्रिय सुरक्षा र गोपनीयतामाथिको खतरा बताइरहेको छ र सोही निहुँमा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भैरहेको छ ।

टिकटक अहिलेसम्म दुनियाँमा जहाँ जहाँ सुरुआत भयो त्यहाँ अत्यन्तै लोकप्रिय बनेको छ । जसका कारण यस क्षेत्रमा पहिलेदेखि जरो गाडेर रहेका एपहरु बिदा हुन बाध्य भए । आखिर टिकटकमा यस्तो के छ जसले मानिसहरुलाई यतिधेरै पारखी बनाइदिन्छ कि उनीहरुमा टिकटकको लत लाग्दछ ?

टिकटकको नशा यस्तो छ कि हरेक उमेरका मानिसहरु यसको चक्करमा जुनसुकै हदसम्म जानका लागि तयार हुन्छन् । टिकटकको आफ्नो अल्गोरिदमका कारणबाट यो संसारभर एउटा नशा नै बनेको छ ।

बाइटडान्सका अनुसार टिकटकको एल्गोरिदममा कसैको पनि नियन्त्रण छैन, यद्यपि कतिपय देशले भने टिकटकको अल्गोरिदममाथि चीनले नियन्त्रण गर्नसक्ने बताउँछन् । टिकटकका सीईओ शाउ जीका अनुसार टिकटक कुनै सोसल ग्राफमा नभएर इन्ट्रेस्ट सिग्नलमा काम गर्दछ ।

यसको अर्थ टिकटकको वालमा देखिने सामग्रीहरु यस कुरामा निर्भर हुँदैनन् कि प्रयोगकर्ता कहाँको हो वा कुन ठाउँबाट टिकटक प्रयोग गरिरहेको छ ?  तपाईंले के कुरा सबैभन्दा धेरै हेर्नुहुन्छ, त्यस्तै सामग्री नै टिकटकको वालमा देख्नुहुन्छ । टिकटकले यही सिस्टममा काम गर्दछ र तपाईंलाई त्यस्तै चिजहरु देखाउँछ । त्यही नै टिकटकको लोकप्रियताको राज हो । अन्य सोसल मिडियाहरु प्नि यही ढाँचामा काम गर्दछन् । तर उनीहरुको सटिकता टिकटकजस्तो छैन ।

टिकटकको एल्गोरिदम यस्तो छ कि यसले तपाईंलाई दिक्क हुन दिंदैन । यसको अल्गोरिदमले छोटो समयमै यसको अनुमान लगाउँछ कि तपाईंले कुन समयमा के हेर्न मन पराउनुहुन्छ । अनि त्यसका लागि ठूलो मात्रामा डेटा एकत्रित गर्दछ । यही कुरा नै विश्वका सरकारहरुका लागि टाउको दुखाइ बनेको छ ।

टिकटकको सबैभन्दा ठूलो विशेषता भनेकै यसले तपाईंको रुचि अनुसारका सामग्रीहरुको बीचबीचमा यस्ता भिडियोहरुको बारेमा पनि सुझाव गर्दछ जो तपाईंको रुचिभन्दा नितान्तविपरीत हुन्छन् र त्यस विषयको कत्ति पनि जानकारी तपाईंलाई हुँदैन । यस्तोमा प्रयोगकर्ताले केही नयाँ कुरा पाउँछन् र उनीहरुलाई दिक्क लाग्दैन ।

स्मरणरहोस् मेटाको प्लाटफर्मले टिकटकको विपरीत सोसल ग्राफ अल्गोरिदममा काम गर्दछ । अर्थात् जुन सामग्री धेरै मानिसले हेर्दछन्, तपाईंलाई पनि त्यही सामग्री देखाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?