+
+

बालकोट वार्ता : १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति

स्थायी कमिटी बोलाइयो, प्रस्ताव तयार पार्ने जिम्मा तीन नेतालाई

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १९:१५

७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

सहमति अनुसार मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरु क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।

एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका, तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरुले नेकपा एकीकृत समाजवादीको दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्नुअघि १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न र १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अल्टिमेटम दिएको थियो ।

त्यसको अघिल्लो दिन नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए । ओली निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।

१० बुँदेअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । एकता पक्षधर एक नेताका अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्नेछ ।

दुबै पक्ष आशावादी

बालकोट छलफलमा सहभागी दुबै पक्षका नेताहरु १० बुँदे कार्यान्वयन हुनेमा आशावादी देखिएका छन् ।

१० बुँदेले भने अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोलसम्मका सम्पूर्ण कमिटीहरु क्रियाशील गर्ने सहमति भएको भन्दै सचिव योगेश भट्टराईले भने, ‘कसरी क्रियाशील हुन्छन् भनेर भोलि स्थायी कमिटीबाट सम्पूर्ण ढाँचा प्रस्तुत गर्छौं ।’

साथै २ जेठ २०७५ मा जुनजुन नेताहरुको जिम्मेवारी जे थियो, त्यो यथावत राख्न पनि अध्यक्ष ओली तयार भएको सचिव भट्टराईले जानकारी दिए ।

संस्थापन पक्षमा रहेका सचिव प्रदीप ज्ञवालीले पनि पार्टी छाडेका वा विभाजनमा लागेका बाहेक सबै नेताहरुलाई पूर्ववत जिम्मेवारी दिने सहमति भएको जानकारी दिए ।

१ साउनमा स्थायी कमिटी जेठ २ कै निरन्तरता भएपनि कतिपय नेता नआएको भन्दै उनले भने, ‘अब उहाँहरु समेत मम्मिलित भएपछि व्यवहारिक रुपमै हामी जेठ २ मा फर्किएर अघि बढ्छौं । जेठ २ मा जुनजुन संरचना थिए पार्टीभित्र, ती संरचनाहरु क्रियाशील हुन्छन् ।’

यसबारे औपचारिक निर्णय गर्न भोलि मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । छलफलपछि एमाले सचिव ज्ञवाली भन्छन्, ‘यो छलफल पश्चात पार्टीको एकतामा जे खालका समस्याहरु थिए, त्यो समाधान हुने र पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास हामीले लिएका छौं ।’

एकताको आह्वान गर्ने

एकता पक्षधर नेताहरुले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने शर्त राखेको थियो ।

अध्यक्ष ओलीसँग भएको छलफलमा भोलिको स्थायी कमिटीमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रिया रोक्न र पार्टी एकतामा आउन आह्वान गर्ने सहमति भएको छ ।

एकता प्रक्रियामा आउन साथ विगतमा भएका कारबाही स्वतः अमान्य हुने र पार्टीमा कसैलाई पनि अन्याय हुन्न भन्ने सुनिश्चिता स्थायी कमिटीले गर्ने भन्दै सचिव भट्टराईले भने, ‘हामी कोही पनि विभाजनको पक्षमा नजाऔं, एकताकै पक्षमा कायम रहौं ।’

माधव नेपालसँग सम्वाद गर्ने र एकतावद्ध हुन औपचारिक अपील समेत गर्ने भन्दै उनले अघि भने, ‘नयाँ पार्टी गठनको प्रक्रियाबाट उहाँहरु अलग हुनुपर्छ, १४ जनामाथि भएको कारबाही फिर्ता हुन्छ भनेर अध्यक्ष कमरेडले भन्नुभएको छ ।’

प्रवक्ता ज्ञवालीले भने माधव नेपालहरु एकतामा आउनेमा शंका व्यक्त गर्छन् । ‘माधव कमरेडले अर्कै बाटो तय गरिसक्नुभएको छ । पार्टी नै दर्ता गरिसक्नु भयो भने उहाँ एकतामा फर्किनुहुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ?’

ओली पक्षमा रहेका ज्ञवाली भन्छन्, ‘तर हामीले दल दर्ता प्रक्रियामा रहेका साथीहरुलाई फर्किएर आउनुस््, त्यो बाटो गलत छ भनिरहेका छौं । सम्भवत भोलि बैठकले पनि त्यो ढंगले सम्भवत केही कुरा गर्नेछ ।’

यद्यपि अपील नै गरेपनि माधव नेपालसहित केही नेता फर्किने सम्भावना नदेखेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?