
१० भदौ, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका सचिव भीम आचार्यलाई बिहीबार दिनभर बधाई आइरह्यो । फूलगुच्छा, अबीर, माला र खादा लिएर उनलाई बधाई दिन प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा दिनभर नै लाइन लाग्यो ।
पटक पटकको प्रयासपछि मुख्यमन्त्री बन्न सफल भएका आचार्यको खुशी हुने दिन थियो बिहीबार । तर मुख्यमन्त्री नियुक्त हुँदै गर्दा ५९ वर्षीय भाइ रामप्रसाद आचार्यको मुत्युको खबर आयो । मुख्यमन्त्री भएको खुशी मनाउन नपाउँदै उनी भ्रातृशोकमा परे ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार सुनसरीको इनरुवा नगरपालिका–३ स्थित घरमै रामप्रसाद आचार्य मृत भेटिएका थिए । उनको शव भेटिएको कोठामा विषको गन्ध आएको उनले बताए । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल इनरुवामा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै विषय खुल्ने उनले बताए ।
मुख्यमन्त्री नियुक्त भएकोमा बधाई ग्रहण गरेका आचार्य बिहीबार बेलुका भाइको अन्तिम संस्कारका लागि घर गए ।
नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ छाडेका आचार्य नयाँ दलले वैधानिकता पाएको २४ घण्टा बित्न नपाउँदै ओलीकै इच्छा अनुसार नै मुख्यमन्त्री नियुक्त भए ।
काठमाडौं बस्दै आएका आचार्य बिहीबार बिहान मात्रै विराटनगर आएका हुन् । विराटनगरको होटल एसियाटिकमा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्तिका लागि सिफारिस गर्दैगर्दा आचार्यले भाइ रामप्रसाद मृत भेटिएको खबर पाएका थिए ।
भाइको मृत्युको खबरपछि पनि आचार्य घर जान पाएनन् । बिहीबार विहान मुख्यमन्त्री नियुक्त भएपछि लगत्तै शपथ ग्रहण गर्ने कार्यतालिका भएका कारण उनी प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
पदभार ग्रहण र पार्टीको नेता कार्यकर्ताको बधाई ग्रहणपछि उनी भाइको अन्तिम संस्कारका लागि इनरुवास्थित घर गएको आचार्यका स्वकीय सचिव अनिल राजधामीले बताए ।
प्रतिक्रिया 4