Comments Add Comment

निष्क्रिय बसे बिरामी भइन्छ

३१ साउन, काठमाडौं । एक जना मानिसलाई कति वटासम्म रोग लाग्न सक्छ ? रेजिना मुल्मीले औंलामा गन्दै गइन्, आफूले जितेका र लडिरहेका रोगहरु– एनिमिया, निमोनिया, क्यान्सर, मस्तिष्कसम्बन्धी समस्या, पाठेघर समस्या, ढाडको हड्डी बाङ्गिनु, नसा च्यापिनु… ।

उनलाई पाँच वर्षको हुँदादेखि एक पछि अर्को रोगले आक्रामण गर्दै आयो । तीमध्ये अहिले ढाडको नसा च्यापिने रोग निको पार्न थेरापी गराइरहेकी छिन् । नसाको समस्याको कारण उनको ढाडको हड्डी नै बाँङ्गिएको छ । ४६ वर्ष लागेकी उनले अरु सबैजसो रोगलाई जितिसकेकी छन् ।

अनेक रोगसँग लडेकी उनी कहिल्यै थलिएर घरमा बसिनन्, अप्रेसन गरेर बेडमा सुतेको बेलाबाहेक । एकपछि अर्को गर्दै आइलागेका रोगहरुसँग लड्दै आफ्नो इच्छा र जिम्मेवारी पूरा गरेकी उनी भन्छिन् ‘रोग र दुखाइ सम्झेर बस्यो भने घरबाट बाहिर निस्कनै सकिँदैन ।’

सकारात्मक सोच राखेर सम्भावना खोज्दै सक्रिय हुँदा रोग पचाउन पनि सकिने उनको अनुभव छ । रेजिनाको परिवारका केही सदस्य स्वास्थ्य क्षेत्रमा छन् । परिवारकै प्रयोगशाला र क्लिनिक पनि छ । त्यसले गर्दा रेजिनालाई सम्बन्धित रोगको विशेषज्ञ डाक्टरबारे जानकारी पाउन सजिलो भयो । समस्याको गम्भीरता बुझेपछि सिधै विशेषषज्ञकहाँ पुग्थिन् ।

अनेक रोगसँग लड्दै आएकी उनलाई १४ वर्षअघि क्यान्सर हुँदा अब चाहिँ बाँच्न गाह्रो छ भन्नेहरु थिए । तेस्रो स्टेजको स्तन क्यान्सर नियन्त्रणका लागि चार जना विशेषज्ञ डाक्टरले उनलाई तत्काल अप्रेशन (शल्यक्रिया) गर्न सुझाव दिए ।

‘ज्यानमारा रोगको रुपमा सुनिरहेको क्यान्सर लागेको केही समय त निकै डर लाग्यो, आत्तिएँ । तर, डराएर समय घर्काउनुको अर्थ बुझेर तत्काल अप्रेसन गर्न तयार भएँ’, रेजिना भन्छिन्, ‘परिवारको साथ र सहयोगले निर्णय लिन सहज भयो ।’

शल्यक्रियाअघि ६ पटक किमोथेरापी गर्नुपर्ने भयो । किमो लिएपछि जिब्रोको स्वाद थाहा पाउने शक्ति हराउँथ्यो । त्यसैले प्रत्येकपटक किमो लिनुअघि उनी आफूलाई मन परेका खाना खान्थिन्, क्यामेरा बोकेर घुम्न निस्कन्थिन् ।

किमो लिएपछि छिन–छिनमा असन्तुलित हुनेगरी मन बेचैन हुन्थ्यो । उनलाई किमो अवधि निक्कै गाह्रो भयो । जेनतेन त्यो अवधि झेलेर नेपाल क्यान्सर अस्पतालमा अप्रेशन गराइन् ।

त्यसपछि टाउको दुखाई र अनिद्राले निम्त्याएको मानसिक स्वास्थ्य समस्या सम्झँदा अहिले पनि पीडा हुन्छ उनलाई । त्यसबेलाको जस्तो गाह्रो कहिल्यै नभएको उनको अनुभव छ । ‘सिटिस्क्यान गर्दा मस्तिष्कमा कालो धब्बा देखिएको थियो’, रेजिना भन्छिन्, ‘निरन्तर तीनवर्ष औषधी खाएपछि निको भयो । रेजिनाका अनुसार त्यो अवधि जीवनकै सबभन्दा कठिन वर्ष भएर बित्यो ।

तीन वर्षअघि नेपालमा पहिलो पटक रेजिनाको स्तन फालेर पेटको तल्लो भागको मासु प्रत्यारोपण गरिएको थियो । त्यसका लागि ठूलो शल्यक्रिया गर्नुपरेको थियो । आठ महिनापछि उनको गर्भासयमा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आयो, त्यो पनि आठ महिना अघि मासु निकालेको ठाउँबाट ।

त्यो बेला भने उनका परिवारका सदस्यहरु डराए । र, अन्तमा पाठेघर नै निकालियो । पछिल्लो अप्रेशनको घाउ निको भइसकेकै थिएन, ढाड दुख्न थाल्यो । जचाउँदा ढाडको नशा च्यापिएको र त्यसले मेरुदन्डसमेत बाँगो पार्न थालेको डाक्टरले बताए । त्यसको उपचार लामो समय थेरापी चल्यो । अहिले पनि बेलाबेला थेरापी गरिरहनुपर्छ ।

समाजसेवी जीवन

क्यान्सरमुक्त भएपछि रेजिना क्यान्सर रोगीहरुको सहयोगमा जुटेकी छन् । त्यसका लागि रोज फाउन्डेसन र कल्याणी क्यान्सर क्लिनिकमा आवद्ध उनी क्यान्सरका विरामी र परिवारलाई परामर्श दिनेदेखि आर्थिक सहयोग जुटाउनेसम्मका काममा सक्रिय छिन् ।

समयमै उपचार पाए जुनसुकै रोग निको हुन्छ । उपचारसँगै आत्मबल र परिवारको साथ पनि उपचार जत्तिकै महत्वपूर्ण हुने रेजिना बताउँछिन् । विषेशतः नेपाल क्यान्सर अस्पतालमा आउनेहरुलाई परामर्श दिने गरेको उनी बताउँछिन् ।

आफ्नो अनुभव सुनाउँदा गाह्रो भइरहेकालाई हौसला मिल्छ’, उनी सुनाउँछिन्, ‘कतिपय अवस्थामा विरामीको परिवारलाई घरैमा गएर पनि परामर्श दिने गरेकी छु ।’

परिवारको साथ नपाउने र आर्थिक अभाव हुनेको उपचारमै समस्या हुने गरेको उनी बताउँछिन् । ‘क्यान्सर भएपछि मर्छ, बाँचेपनि केही गर्न सक्दैन भन्ने सोचका कारण पनि कतिपय बिरामीको उपचार रोकिन्छ’, रेजिना भन्छिन्, ‘परिवारकै व्यवहार यस्तो भएपछि विरामीको मनोबल नै गिर्छ ।’

उनले रोगलाई जितेर पुरानै जीवनशैलीमा फर्कन सकिन्छ भन्ने उदाहरण म आफैं हुँ भनेर हौसला बढाउने गरेकी छन् । उनका अनुसार, क्यान्सर रोग पहिचान भएपछि डिप्रेसनमा गएका विरामी पनि छन् ।

पेशाले फेसन डिजाइनर रेजिनाको तयारी पोशाक उद्योग छ । उनले नाफाको निश्चित प्रतिशत क्यान्सर रोगीको उपचारको लागि छुट्याउँदै आएकी छिन् । उद्योगमा पनि क्यान्सर निको भएका तीनजना र दुईजना क्यान्सर रोगीका परिवारका सदस्यलाई रोजगारी दिएकी छन् ।

घरायसी र उद्योगको काम, थेरापी, अस्पताल अथवा घरसम्म पुगेर परामर्श र सामाजिक संस्थाहरुको जिम्मेवारीमा रेजिनाको दिनहरु बितिरहेका छन् । कोरोना महामारी भएपनि स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर आफूलाई बढीजसो घर बाहिरै सक्रिय राखेको उनी बताउँछिन् ।

‘अरु कामसंगै क्यान्सर पीडितलाई परामर्श दिन पनि रोकेकी छैन’, उनी भन्छिन्, ‘घरैमा चुपचाप बस्न थालियो भने त आफू पनि बिरामी भइन्छ, अरु बिरामीलाई मद्दत गर्न पनि सकिन्न ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment