Comments Add Comment

अफगानिस्तानको काबुलमा छिर्‍यो तालिबान

३१ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकाले हेलिकोप्टरबाट काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गरेसँगै तालिबानका लडाकु सहरमा प्रवेश गरेका हुन् । समाचारमा उल्लेख गरिए अनुसार अहिले सहरको चारैतिरबाट तालिबानका लडाकु प्रवेश गरेको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।

अफगानिस्तानको प्रेसिडेन्टल प्यालेसको ट्वीटर एकाउन्टबाट काबुलको धेरै स्थानमा गोली चलेको सुनिएको पोस्ट गरिएको छ । यद्यपि अफगानिस्तानका सुरक्षाकर्मीले सकारलाई नियन्त्रणमा राखेको उक्त पोस्टमा उल्लेख गरिएको छ ।

तालिबानले अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेसँगै अमेरिकाले थप सैनिक पठाउँदै आफ्ना नागरिकलाई सहयोग गर्ने बताएको छ । त्यस्तै नेटोका अधिकारीले युरोपेली संघा (ईयू)का धेरै कर्मचारीलाई राजधानीको सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

तालिबानका एक अधिकारीले आफूहरुले कुनै युद्ध नचाहेको बताएका छन् तर संगठनको तर्फबाट युद्धविरामको घोषणा भने भएको छैन । यसअघि तालिबानले आइतबार बिहान जलालबादलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment