+
+
Shares

पाकिस्तानी सेनाद्वारा अफगानिस्तानका १० ठाउँमा हवाई हमला

यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन खसालेको दाबी गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १५:५३

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानी वायुसेनाले अफगानिस्तानका १० स्थानमा हवाई हमला गरेको दाबी गरेका छन् । उनका अनुसार ती स्थानबाट ड्रोन भण्डारण तथा सञ्चालन भइरहेको थियो ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानले भने हमला गरिएका स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन खसालेको दाबी गरेको थियो ।

तालिबान सरकारको रक्षा मन्त्रालयका प्रवक्ता सिद्दीकुल्लाह नुसरतले बुधबार बीबीसीसँग कुरा गर्दै पाकिस्तानमा अफगानिस्तानको तर्फबाट कुनै हमला नभएको दाबी गरेका छन् ।

‘पाकिस्तानमा अफगानिस्तानको तर्फबाट कुनै हमला भएको छैन। अफगान वायुसेनाले अहिलेसम्म कुनै ड्रोन हमला गरेको छैन,’ उनले भनेका छन्, ‘जवाफी कारबाहीको समय र स्वरूप अफगान वायुसेनाले नै तय गर्नेछ ।’

उता अफगानिस्तानको टोलो न्युजले खोस्तका गभर्नरका प्रवक्ता मुस्तगफुर गुरबुजलाई उद्धृत गर्दै पाकिस्तानले बिहान करिब ३:३० बजे हमला गरेको जनाएको छ ।

उनका अनुसार गुरबुज जिल्लाको क्याम्प गुल्लन क्षेत्रका साथै इस्माइल खेल र मन्दोजी जिल्लाका केही क्षेत्रलाई लक्षित गरी हमला गरिएको थियो । उनले ती हमलामा कुनै मानवीय क्षति नभएको दाबी गरेका छन् ।

तालिबान सरकारले भने हमला भएका स्थानहरूको स्पष्ट विवरण सार्वजनिक गरेको छैन। यद्यपि एएफपी समाचार एजेन्सीका तस्बिरहरू गेटी इमेजेजमार्फत सार्वजनिक भएका छन् । ती तस्बिरमा कान्दाहारमा हवाई हमलापछि आगोको लप्का र धुवाँको मुस्लो उठिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?