Comments Add Comment

प्रचण्डलाई प्रश्न- माओवादी आलुको भूमिकामा मात्रै कति समय रहने ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पढियो । परम्परा जोगाउँदै केही आंशिक विषयवस्तुको उठान भएको छ । माओवादी पार्टी जुन ठाउँमा पुगेर यो बैठक बस्दैछ, यहाँ धेरै विषयमा बहसहरू हुन जरूरी छ । कार्यकर्ता र जनतालाई वैचारिक र कार्यक्रमिक हिसाबले स्पष्ट पार्न जरूरी छ । त्यसैले प्रस्तुत प्रस्तावमा सुझावस्वरूप केही विषय राख्ने प्रयास गरेको छु ।

जनयुद्धलाई संविधान निर्माणको नयाँ संघर्षमा रूपान्तरणसँगै हाम्रा कार्यशैली कति आवश्यकताले, कति विसंगतिले परिवर्तन हुँदै गए । हामी नेता कार्यकर्तामा जनयुद्ध कै स्तरको कार्यशैली हुनु पर्दथ्यो । तब मात्रै नयाँ मोर्चाको पनि नेतृत्व गर्न सकिन्थ्यो भन्ने कदापि होइन । तर आवश्यकताले हुनैपर्ने रुपान्तरण बाहेक नेतादेखि कार्यकर्तासम्मको जीवन व्यवहार जनतालाई पाच्य हुने स्तरका भएनन् । खानपिन, बसउठ लगायतका धेरै प्रसंग जनआलोचित बन्न पुगे ।

विचार र दृष्टिकोणमा असर नगर्दासम्मको कार्यशैलीमा जनताले चित्त बुझाउन सक्छन् । देशका सबैभन्दा नामुद दलाल नोकरशाही पुँजीपतिहरूले आफ्नो स्वार्थ पूरा गर्न हाम्रो नेतृत्वलाई प्रयोग गर्न सके । यो प्रवृत्ति हैसियत र स्तरअनुसार तलसम्म लागु हुँदै जान थाले । यसले कतिपय संघर्षमा वैचारिक द्विविधा उत्पन्न हुन थाले ।

हामी इतिहासले बनाएको पहिचान बाहेक वर्तमानमा जोसँग पनि ठिक्क हुने आलुको भूमिकामा छौं । यो भूमिकाले वर्तमान संक्रमणकालीन राजनैतिक अवस्थालाई नेतृत्व गर्दै समाजवादमा फड्को मार्न सक्छौं ?

जनताको स्तर र हाम्रो जीवनस्तरमा आएको भिन्नताले बिस्तारै जनता र हाम्रो सम्बन्धमा दरार उत्पन्न हुन थाले । हामी जनताबाट टाढिन थाल्यौं । जनतासँग दूरी बढेसँगै सम्बन्ध घट्न थाल्यो भने संघर्ष गर्नुपर्ने वर्गसँग दूरी घट्न थाल्यो । हुन त पूर्वाग्रही कोणबाट आएको हो तर पनि ‘गन्हाउने कपडा’को चर्चा नेता कमरेडबाट अझैसम्म हुने गर्दछ ।

सांगठनिक पद्धति नहुँदा व्यक्तिगत सम्बन्ध हावी हुँदै गए । यस्ता सम्बन्धहरू बिस्तारै नाफाघाटासँग सम्बन्धित हुँदै गए । नीति, विधि र संगठनमा समस्या आउँदा कार्यशैलीमा स्वाभाविक समस्या आउने नै भयो । वैचारिक हतियारलाई क्रियाशील बनाउँदै सिंगो पार्टी संरचनालाई विधिको साँचोमा हालेर कार्यशैलीमा सुधार गर्न सकिन्छ ।

शान्ति प्रक्रियाको सुरुवातसँगै योजनामा सिंगो पार्टी परिचालनमा समस्या देखिएको हो । अन्तरिम सदनमा सहभागी, सरकारमा सहभागी, जनमुक्ती सेना र हतियार व्यवस्थापन लगायत विषयमा बनाइएका योजनाहरू हामी सबैमा सर्वविदितै छ । अहिले सबै लेखिरहनु र चर्चा गरिरहनु सान्दर्भिक नहोला ।

संविधानसभाको चुनावमा मुखमा चुनाव, दिमागमा विद्रोह, २०६६ सालमा गरिएको ६ दिने आन्दोलन र त्यसको तयारी ब्रिफिङ, दोस्रो चुनावमा मत आंकलन आत्मविश्वासको कमीले पैदा गराएका घटना थिए । स्थानीय निर्वाचनमा गरिएको सहकार्य र एमालेसँगको तालमेल एकतासम्म आउँदा चुनाव जित्ने कुरालाई मात्र प्राथमिकता दिएको प्रष्ट हुन्छ । यहाँ प्रतिनिधि घटनाहरू प्रस्तुत गरिएको छ जसको तत्कालीन अवस्थामा पनि आलोचना गर्दै जिम्मेवारी पूरा गरेका थियौं । हालसम्म ती योजनाको आवश्यकता र उद्देश्य पुष्टि भएको छैन ।

योजना विचार–निर्दिष्ट हुन्छ । स्वविवेकी योजनाले पार्टी, जनता र विचारको प्रतिनिधित्व नगर्ने बढी सम्भावना रहन्छ । कार्यनैतिक योजनाले रणनीतिलाई सपोर्ट पुग्नुपर्छ । सिद्धान्त, विचार, इतिहास र स्वत्व नै खतरामा पर्ने गरी तत्कालीन योजना बनाइनु माओवादी पार्टीको कमजोरीको रूपमा हामीले स्वीकार्नु पर्दछ ।

मालेमावादलाई नेपाली मौलिकतामा सिर्जनात्मक प्रयोग र विकास गर्दै जनयुद्धले एकपछि अर्को सफलता हासिल गर्दै गएको थियो । दोस्रो राष्ट्रिय सम्मेलनमा विचारको संश्लेषणसँगै कार्यनीतिको विकासले गाउँ र शहरको आन्दोलनलाई जोड्न सफल भयो । फलस्वरूप जनयुद्धमा तय भएका फौजी रणनीतिअनुसार नै राजनैतिक ध्रुवीकरण हुनथाले । यसले जनयुद्धसँगै जनविद्रोहको सिर्जना भयो । निरंकुश राजतन्त्रबाट आजित अन्य दलहरूको राजा हटाउने या ‘साइज’ मा ल्याउने चाहना त हुँदो हो तर कार्यक्रम र योजनालाई दस्तावेजीकरण गरेर आएको माओवादीले मात्र थियो । अतः ०६२÷०६३ को आन्दोलन माओवादी जनयुद्धकै सचेत पहलकदमीको परिणाम थियो ।

निरन्तर क्रान्तिको मालेमावादी अवधारणाबाट हामीले जनवादी आन्दोलनको आंशिक कार्यभार पूरा भएको र बाँकी कार्यभार पूरा गर्दै समाजवादी यात्रा तय गर्ने उद्देश्यसहितको योजना निर्माण गर्यौं । संविधानसभामा सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भयौं । यहाँनेर जोड दिनैपर्नेछ– जनयुद्धमा जनताको सहयोग र जनआन्दोलनमा जनताको सहभागिताले विश्वसामु जनताले पुष्टि गरिदिएका थिए कि माओवादी आन्दोलन जनताको आन्दोलन हो भनेर । संयुक्त राष्ट्र संघको प्रत्यक्ष अनुगमनमा भएको निर्वाचनमा माओवादीको जनमतले हाम्रो मौलिक विचारको सफलतासँगै विश्वका कम्युनिष्टहरूमा नयाँ उत्साह पैदा भएको थियो भने प्रतिक्रियावादीहरूमा छटपटी ।

ढिला गरी भए पनि पार्टीको नेतृत्वमा सरकार त बन्यो तर लामो समय टिक्न सकेन । सरकार बन्ने भत्कने हुँदै पार्टी विभाजन र संविधानसभाको पुनः निर्वाचनसम्म आउँदा हामी मौलिक प्रतिक्रान्तिको शिकार भयौं । हामी यति धेरै मनोगतवादमा फस्यौं कि पहिलो संविधानसभा असफल हुनु नै स्वतः हामी असफल हुनु थियो । किनकि त्यो सभाको नेतृत्वदायी भूमिका जनताले हामीलाई दिएका थिए । जनताले हामीलाई शान्ति र संविधानका लागि जनादेश दिएका थिए । तर हामी जनविद्रोहतिर लाग्यौं ।

विश्वराज आचार्य

इतिहासको त्यो गल्तीलाई अहिलेसम्म पनि नेतृत्वले सार्वजनिकरूपमा स्वीकार्न सकेको छैन । पहिलो संविधानसभामा जनादेशअनुसार संविधान निर्माणमा दत्तचित्त भएर काम नगर्नु माओवादीले जनताप्रति दिएको धोका थियो । त्यसको जवाफ जनताले दोस्रो निर्वाचनमा दिए नै । हामी असफलताको सन्देश बोकेर सफलता पाउने आशामा निर्वाचनमा होमियौं । हामी निर्वाचनमा आत्मालोचित भएर जानुपर्ने थियो तर दम्भ बोकेर गयौं । सरकारबाट सामान्य सुधारका कामको प्रस्तावसम्म तयार गर्न सकेनौं । जनताले अनुभूत गर्नेगरी काम गर्ने दृष्टिकोण नभएजस्तो भयो । गर्न चाहेर पनि गर्न नसकेका काम के–के हुन् भनेर जनतामा स्पष्ट पार्नसक्ने क्षमता पनि हामीसँग भएन ।

दोस्रो संविधानसभामा २०० सिटको अपेक्षा पार्टीको थियो । तर मैले निर्वाचनअघि नै २० सिट आउँछ भनेको थिएँ । चुनावमा जाने, मतगणनास्थलबाट बाहिरिने, धाँधलीको अफवाह फैलाउने कामबाट हामीले हाम्रो असफलता र कमजोरीको लाज छोप्ने प्रयास गर्यौं । यी इतिहासमा लज्जित हुनुपर्ने हाम्रा कर्म थिए । तर अहिलेसम्म मुख्य नेतृत्वबाट यसमा स्वीकारोक्ति आएको छैन । गल्ती हुन्छ तर गल्ती सच्याउने प्रतिवद्धता हामीसँग भएन । जसबाट हामीले आम नागरिकसामू विश्वसनीयता गुमायौं ।

स्थानीय निर्वाचनमा विजातीय तालमेलले ‘जसरी पनि जित्ने’ बाहेकको अर्को सन्देश दिन सकेनौं । एमालेसँगको चुनावी तालमेल वैचारिक स्पष्टताले भएको थिएन । नेतृत्व सुनिश्चित गर्ने उद्देश्यले त्यसमा प्रमुख भूमिका निर्वाह गरेको थियो । पार्टी एकता वैचारिक राजनीतिक सुझबुझ र सहमति नभई भावनात्मकरूपमा गरिएको थियो भन्ने कुरा व्यवहारतः पुष्टि भइसकेको छ । प्राविधिक तर्क अदालतको फैसला हुन सक्छ तर हिजो ओली प्रवृत्तिविरुद्ध नेकपाको दुई तिहाइ अहिले हामीसँग छैन । केपीसँग लड्ने तर सूर्य र जबज नछोड्ने माधव नेपालको भनाइबाट अझ प्रष्ट हुन्छ, विचारमा कति कमजोर एकता थियो भनेर ।

मालेमावादको विचारलाई महान सर्वहारा सांस्कृतिक क्रान्तिको निरन्तर क्रान्ति, जनताको निगरानीमा क्रान्तिकारी सत्ता, जनताको निगरानीमा क्रान्तिकारी पार्टी, सर्वहारा अधिनायकत्वका आधारभूत नियमभित्रको प्रर्तिस्पर्धाको कुरा गर्दै अगाडि बढ्दा नजानिने प्रकारको हाम्रै मौलिकतामा हामीबाटै प्रतिक्रान्ति भएको छ । यसलाई रोक्न हाम्रो मौलिक विचारको अध्ययन, विकास र व्यवहारिक प्रयोगले सम्भव छ ।

इतिहासमा देखिएका क्रान्तिको सफलतासँगै प्रतिक्रान्तिको सम्भावनालाई रोक्ने मुख्य उद्देश्यले इतिहासको अनुभव र २१औं शताब्दीमा जनवादको विकासको रूपमा सत्ता, पार्टी सञ्चालनको नयाँ अवधारणा प्रस्तुत भएको थियो । यसको सार आन्तरिक जनवादको प्रयोग, जननियन्त्रित पार्टी, जननियन्त्रित सत्ता, जनवादी प्रतिस्पर्धा, निरन्तर क्रान्ति नै थियो ।

राजनैतिक संघर्षका उपलब्धि, अवस्थाको सही विश्लेषण र संश्लेषणको अभावमा यो विचारको प्रयोगमा समस्या देखिएको हो । हामीले जनवादी आन्दोलनका महत्त्वपूर्ण कार्यभार पूरा भएको भन्यौं । संविधानमा ‘समाजवादउन्मुख’ लेख्यौं तर यसको आधार र उपरिसंरचना कस्तो हुने, आन्तरिक अन्तरविरोध, वर्गीय अन्तरविरोध, सामाजिक, आर्थिक, सांस्कृतिक अन्तरविरोध र त्यसको क्रान्तिकारी परिचालनबारे कुनै अवधारणा आएन । निर्धारित नीति र हाम्रो क्रियाकलापबीचमा कुनै तादात्म्यता देखिएन  ।

हामी समाजवादमा संक्रमण गर्नको लागि आजको अवस्थाबाट गुज्रिन अनिवार्य छ । हामी यो व्यवस्था उपयोग गरिरहेका छौं कि उपभोग ? उपयोग हो भने हाम्रो आफ्नो अलग पहिचान निर्माणको आवश्यकता पर्दछ । हामी इतिहासले बनाएको पहिचान बाहेक वर्तमानमा जोसँग पनि ठिक्क हुने आलुको भूमिकामा छौं । यो भूमिकाले वर्तमान संक्रमणकालीन राजनैतिक अवस्थालाई नेतृत्व गर्दै समाजवादमा फड्को मार्न सक्छौं ? मार्कस्वाद, लेनिनवाद र माओवादका आधारभूत मान्यताको सही प्रयोग र हाम्रो मौलिक विचारको विकास एवम् प्रयोगले मात्र बाँकी कार्यभार पूरा गर्न सक्नेछौं । हाल थन्किएर बसेको ‘इतिहासको अनुभव र २१औं शताब्दीमा जनवादको विकासको अवधारणा’ लाई थप परिमार्जनसहित अगाडि बढाउन जरूरी छ ।

(आचार्य नेकपा माओवादी केन्द्र दाङका  नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment