Comments Add Comment

मेलम्चीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ- अब आयोजना एक्लैले सक्दैन

३१ साउन, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले अब काठमाडौंमा फेरि मेलम्चीको पानी ल्याउने कार्ययोजना कार्यान्वयन गर्न आफ्नो एकल प्रयासले मात्रै नसकिने बताएको छ । समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोजनाको पुनर्निर्माण गर्न विभिन्न सरकारी निकायले एकसाथ काम गर्नुपर्ने जानकारी नै गराएको छ ।

गत असार १ गते आएको बाढीले रुग्ण बनाएको मेलम्ची खानेपानी आयोजनाबारे प्रधानमन्त्री देउवाले आइतबार विहान जानकारी लिएका हुन् । सम्बद्ध मन्त्रालयका सचिव र आयोजनाका अधिकारीहरुसँग प्रधानमन्त्री देउवाले ब्रिफिङ लिँदै समन्वय गरेर अघि बढ्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीलाई मेलम्ची खानेपानी विकास समिति एक्लैको प्रयासले अब काठमाडौंमा खानेपानी ल्याउन नसक्ने जानकारी प्रधानमन्त्रीलाई दिइएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

‘आयोजनाको पुर्नस्थापना कार्ययोजना, त्यसलाई कार्यान्वयन गर्न अन्य सरकारी निकाय र संयन्त्रको भूमिका र देखिएका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छौं,’ ती अधिकारीले भने,’प्रधानमन्त्रीले सरकारकातर्फबाट काठमाडौंमा फेरि मेलम्चीको पानी खसाल्न गर्नुपर्ने काममा सम्झौता नहुने बताउनु भएको छ ।’

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको वर्तमान अवस्था, गर्नुपर्ने काम र तटीय क्षेत्रमा रहेको जोखिमबारे जानकारी गराएकी थिइन् ।

‘मन्त्रिपरिषद्ले गर्नुपर्ने निर्णयसहित नेपाली सेना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिँचाइ मन्त्रालय र स्थानीय तहले लगायतका निकायले गर्नुपर्ने काम गरेर सचिवज्युले प्रधानमन्त्रीलाई स्पष्टसँग जानकारी दिनुभएको छ,’ ती अधिकारीले भने,’सम्बद्ध मन्त्रालयका सचिवहरुले कार्ययोजना कार्यान्वयन गर्न तयार रहेको बताउनुभएको छ ।’

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठले तत्काल दुई वटा बेलिब्रिज जडान गरेर सो क्षेत्रको आवात-जावत सहज गर्ने जानकारी दिएका थिए । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्मको जाने २२ किलोमिटरमध्ये क्षतिग्रस्त ८ किलोमिटर सडकमार्गको नयाँ ट्रयाक नै खोल्नुपर्ने छ भने अरु खण्ड स्तरन्नोति गर्नुपर्ने छ । ४ ठाउँमा पुलहरु र ५ वटा अस्थायी कल्भर्ट राख्नुपर्ने अवस्था पनि छ ।

आयोजनाले दीर्घकालमा समस्या नहोस् भन्नका लागि बाढीको पूर्वसूचना दिने प्रणाली जोड्ने सहित भविष्यमा आउने काढी नियन्त्रणका लागि माथिल्लो तटमा पूर्वाधार निर्माण र जैविक विधि अवलम्बन गर्नुपर्ने बताएको छ ।

प्रधामन्त्रीसँगको बैठकमा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले माथिल्लो तटीय क्षेत्रको अध्ययन गरेर बाढी पहिरो रोक्न गर्नुपर्ने कामहरु गर्न आफूहरु तयार रहेको बताएका थिए ।

बाढी रोकिए वैशाखसम्म

आयोजनाले सबै निकायको सहयोग रहेमा आगामी वैशाखसम्ममा फेरि काठमाडौंमा पानी ल्याउन सकिने दावी गरेको छ । तर, त्यसका लागि मेलम्चीको बाढी रोकिनुपर्छ ।

यदि पानी संंग्लो भएमा अस्थाई बाँध बनाएर डाइभसर्ननबाट सुरुङमा पानी हाल्ने गरी अल्पकालीन कार्ययोजना बनेको छ । यो योजना कार्यान्वयनका लागि पनि आयोजनाको मुहानस्थलसम्म जाने पहुँचमार्ग बनाउनुपर्ने छ भने आयोजना पुरेको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउन छुट्टै ठेक्का लगाउनुपर्ने छ ।

आयोजनाको २१० मिटरको डाइभर्सन टनेलमा भरिएको लेदो हटाउनुपर्ने छ । बाँध र डिस्यान्डरसहितका पुरिएका संरचनाहरुलाई निकाल्नुपर्ने छ । नदी नियन्त्रणसहतिको काम गर्दा १ अर्ब ८५ करोड थप खर्च लाग्ने अनुमान गरिएको छ ।

आयोजनाका प्राविधिकहरुका अनुसार मेलम्ची आयोजनाको सुरुङमा पानी हाल्न नदीलाई पुरानै सतहमा फर्काउनुपर्छ ।  जुन काम सानोतिनो प्रयासले सम्भव छैन । बाढी, पहिरोको जोखिमका कारण वर्षायामभरि आयोजनाको हेडवर्क्स क्षेत्रमा जानै नसक्ने अवस्था छ । आयोजनाको हेडवक्र्स क्षेत्रमा पुग्ने पहुँच सडकसमेत बाढीले बगाएको छ ।

पहिलेको नदीको सतहमा आधारित भएर सुरुङ, हेडवर्क्स र बाँध बनाइएको भन्दै ती प्राविधिकले मेलम्ची नदीले बगाएर ल्याएको माटोले नदीको सतह नै १० देखि १५ मिटरसम्म माथि उठेको छ । त्यसैले मेलम्ची आयोजनाको सुरुङ अहिले नदी बगेको ठाउँ भन्दा १५ मिटर गहिरोमा छ । बाढीले पुरिएको भाग सहजै पन्छाउन नसकिने र पन्छाए पनि यसअघि बनेका संरचना काम लाग्छ कि लाग्दैन भन्ने टुंगो छैन ।

जसोतसो मिलाएर पानी हालेपनि मेलम्चीमा जुनसुकै बेला लेदोसहितको बाढी आउनसक्ने भएकाले नदीको पानी सिधै सुरुङमा हाल्दा झन् क्षति हुन सक्ने अनुमान छ ।  अब विगतकै जसरी अस्थायी बाँध बाँधेर पानी सिधै सुरुङमा हाल्दा जुनसुकै बेला बाढी आएर सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।

अब हिउँदमै पनि मेलम्चीको किनारमा रहेको हेडवर्क्समा काम गर्न चुनौती छ । माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्था नै आयोजनाको लागि दीर्घकालसम्म चुनौती बन्ने स्पष्ट छ । सहज परिस्थिति बनेमा नयाँ ठेक्का लगाएर काम शुरु गर्नुपर्ने हुन्छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले विशेष निर्णय गर्नुपर्ने अवस्था छ ।

अनिश्चयको भूमरी

असार १ गते सुरुङको अवस्था जाँच्न र आवश्यक मर्मत गर्न भन्दै दुई महिने कार्यतालिका सार्वजनिक गरेर मेलम्चीको खानेपानी आयोजनाले सुरुङमा पानी भर्न बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा बाढी नआइदिएको भए भदौ १ गतेसम्म काठमाडौंमा पानी ल्याएर फेरि वितरण सुरु हुन्थ्यो ।

अस्थायी रुपमा बाँध बाँधेर सीधै सुरुङमा हालिँदै आएको पानीलाई छानेर ल्याउने योजना थियो । त्यसका लागि बाँध र पानी छान्ने ‘डिस्यान्डर’ तयार भइसकेको थियो । तर, सुरुङको सुपरीवेक्षण गर्न सुरुङ बन्द गरिएकै दिनमा मेलम्ची नदीमा आएको भीषण बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाइदियो ।

यसले आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँको क्षति मात्रै भएन, काठमाडौंमा फेरि मेलम्चीको पानी आउँछ कि आउँदैन भन्ने आशंकासमेत बढाइदिएको छ । असार १ गतेको बाढीपछि पनि मेलम्ची आयोजना पुर्नस्थापना हुन सक्नेमा सरकारी अधिकारीहरु विश्वस्त थिए ।  बाढीले पुरेको आयोजनाको बाँध र पानी छान्ने संयन्त्रलाई सफा गरेर माघ-फागुनसम्म पानी ल्याउने कार्ययोजना बनेको थियो ।

तर, साउन १५ गते राति फेरि मेलम्चीका लेदोसहतिको ठूलो बाढी आएपछि भने मेलम्ची फेरि काठमाडौं ल्याउने निश्चित भाका तोक्न नसकिने भन्दै आयोजना पछि हटेको छ ।

आयोजनाले बनाएको नयाँ कार्यतालिकाको कार्यान्वयन मौसम, तटीय क्षेत्रको भूगर्भ, बाढीको अवस्था, नदीको बहाव र सरकारी निकायको समन्वयमा भर पर्ने आयोजनाले बताउँदै आएको छ ।

करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले २०७७ चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । सुरुङ सुपरीवेक्षणको प्रोटोकलसमेत मिचेर चैत २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment