Comments Add Comment

अफगानिस्तानमा नेपाली पठाउने म्यानपावरलाई विभागले बोलायो

३१ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले अनलाइनखबरलाई बताए ।

‘अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनीलाई सोमबार विवरणसहित उपस्थित हुन भनेका छौं । नेपालीको अवस्थाबारे भोलि उनीहरुसंग छलफल हुन्छ,’ सूचना अधिकारी भट्टराईले भने ।

अफगानिस्तानको कुन ठाउँमा नेपालीहरु कुन अवस्थामा छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्धार गर्न सहज हुने भट्टराईको भनाइ छ । अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुन थालेसँगै विद्रोही संगठन तालिबानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेको छ ।

सरकारी सुरक्षाकर्मीसँग तालिवानको भिडन्तका कारण हिंसा फैलिएपछि अफगानिस्तानबाट धेरै देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार पछिल्लो डेढ वर्षमा करिब १२ सय जना नेपाली वैधानिक रुपमा अफगानिस्तान पुगेको देखिएको छ । ‘अवैध बाटो भएर कति जना अफगानिस्तान जानु भएको छ भन्नेबारे यकीन जानकारी छैन,’ उनले भने ।

दुबईका सेक्युरिटी कम्पनीहरुले पनि अफगानिस्तानमा पठाउने गरेका छन् । जुन विवरण नेपालमा उपलब्ध छैन ।

नेपालबाट अफगानिस्तानमा रहेका नेपालीको विस्तृत विवरण लिएपछि त्यसलाई भारतमा रहेको नेपाली दूतावासमा जानकारी दिइने महानिर्देशक दवाडीले बताए । ‘म्यानपावर कम्पनी विवरण पाएपछि मिसनले नै उद्धार गर्ने हो, त्यसको खर्चको व्यवस्थापन कसरी हुन्छ भन्ने टुंगो लागेको छैन,’ उनले भने ।

भारतमा रहेको नेपाली दूतावासले नै अफगानिस्तान हेर्ने भएकाले दूतावासले नै मिसन परिचालन गर्ने कार्ययोजना बनाउने दवाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment