Comments Add Comment

‘नियतवश होइन, परिस्थितिवश समयमा महाधिवेशन गर्न सकेनौं’

संविधानले दिएको समयसीमाभित्र अधिवेशन प्रक्रिया सुरु गरेका छौं : प्रवक्ता शर्मा

३१ साउन, काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद मत्थर पार्दै नेपाली कांग्रेसले शनिबार १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने पार्टी विधानको समयसीमा पार गरेको कांग्रेसले संविधानले दिएको एक वर्ष र थप ६ महिनाको समयसीमा भदौ २३ गते पूरा गर्दैछ ।

नयाँ कार्यतालिकाअनुसार भदौ २३ भित्र केन्द्रीय महाधिवेशन हुने छैन । पार्टीको वैधता जोगाउन भन्दै कांग्रेसले भदौ १८ मा वडा अधिवेशन सुरु गर्ने र मंसिर ९-१३ मा केन्द्रीय महाधिवेशन गर्ने बताएको छ । यसरी महाधिवेशन गर्दा पार्टीको वैधानिकता जोगिएला कि नजोगिएला भन्ने प्रश्न जति महत्वपूर्ण छ, नैतिक प्रश्न झनै बलशाली छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने ‘नियतवश नभई परिस्थितिवश साढे पाँच वर्षमा महाधिवेशन गर्न नसकेको बताउँछन् ।

प्रस्तुत छ, प्रवक्ता शर्मासँग अनलाइनखबरकर्मी खगेन्द्र भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुभयो तर पार्टीमाथि उठेको संवैधानिक प्रश्नलाई कसरी सम्बोधन गर्छ ?

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । हामी संवैधानिक, कानुनी, राजनैतिक र नैतिक विषयमा आन्तरिक विमर्श गरेपछि यो निर्णयमा पुगेका हौं ।

साढे पाँच वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने संविधानको व्यवस्था हो । संविधानमा राजनीतिक दलसम्बन्धी व्यवस्थामा कम्तीमा पाँच वर्षमा संघीय र प्रादेशिक पदाधिकारी निर्वाचित हुने व्यवस्था गरेको छ । पाँच वर्षमा पनि सम्पन्न नभए थप ६ महिनाको सुविधा दिएको छ ।

पाँच वर्षमा महाधिवेशन हुन नसक्नुमा कोरोना महामारी र हाम्रा आफ्ना केही आन्तरिक कारण कारक छन् । त्यसमा पनि महाधिवेशन गर्ने विषय संविधानको व्यवस्था हेरेर मात्र होइन कि यो हाम्रो कर्तव्य र अभिभारा पनि  हो ।

संविधानको धाराको अक्षर र मर्मसँगै समयको सापेक्षतामा हेर्नुपर्छ । मुलुकमा कोरोनाको जेजस्तो असर देखियो, त्यसको प्रभाव महाधिवेशनलाई परेको छ ।

तर संविधानको व्यवस्था अनुसार तोकेको समयमा महाधिवेशन गर्न नसकेको अवस्थामा हामीले साढे पाँच वर्षभित्रै अधिवेशनको प्रक्रिया प्रारम्भ गरेका छौं । त्यसकारण अहिले जुन प्रश्नहरु उठेका छन्, तिनीहरुको सामना गर्दै हामी अगाडि बढ्छौं । हाम्रो आन्तरिक समस्या, व्यवस्थापकीय कमजोरी, कोरोना महामारीका कारण संविधानको व्यवस्था अनुसार महाधिवेशन गर्न नसकेपनि त्यो समयसीमा टेकेर प्रक्रिया शुरु गरेका छौं ।

केन्द्रीय महाधिवेशन भनेको एकैपटक केन्द्रीय सभापति, महामन्त्री र केन्द्रीय कार्यसमिति चयन मात्र नभएर तल्लो तहको अधिवेशनलाई पनि समेटिने भएकाले संविधानले दिएको समयसीमाभित्र अधिवेशन प्रक्रिया शुरु गर्छाैं ।

कांग्रेसको आफ्नो बुझाइ होला, तर संविधानमा प्रष्ट रुपमा उल्लेखित साढे पाँच वर्षको समयावधिलाई नकार्न सकिन्छ र ?

संविधानमा लेखिएका अक्षरहरु मात्र हामीले हेर्नुहुन्न । तत्कालीन समय र समाजको परिस्थितिको सापेक्षतामा पनि सँगै राखेर हेर्नुपर्छ । कांग्रेसको महाधिवेशनका लागि कांग्रेसको विधान र संविधान हेर्दै गर्दा हामी साढे पाँच वर्ष भनिएको संविधानको प्रावधानप्रति सचेत छौं ।

संविधानमा कम्तीमा पाँच वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारी निर्वाचित हुनुपर्छ भनेकाले हामीले ६ वर्षमा गर्छाैं भनेका छैनौं । हामीले कम्तीमा पाँच वर्ष भनिएको र थप अर्काे ६ महिनाको समयमै अधिवेशन प्रक्रिया शुरु गरिसकेका छौं । कोरोनाको जेजस्तो असर देखियो, त्यसको प्रभाव महाधिवेशनलाई परेको छ ।

त्यसकारण कांग्रेसले नियतवश होइन कि परिस्थितिवश पाँच वर्षमा सम्पन्न गर्न नसकेर साढे पाँच वर्षमा अधिवेशन शुरु गरेका हौं ।

तर एउटा लोकतान्त्रिक पार्टीको वैधाकितामाथि प्रश्न उठ्नु र महाधिवेशनका लागि कानुनी छिद्रहरु खोज्नु विडम्बना होइन र ?

कांग्रेसले महाधिवेशन गर्न कानुनी छिद्रहरु खोजेर जानुपर्छ भन्ने छैन । यदि त्यस्तो हुन्थ्यो भने भदौ १८ मा अधिवेशनको मिति नतोकेर अदालतको शून्य समयदेखि कोरोना असरलगायतलाई देखाएर होस् वा संविधानको व्यवस्था बदल्नेतर्फ हामी जान सक्थ्यौं होला नि !

हाम्रो पार्टीको मात्र होइन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र माओवादी केन्द्रको महाधिवेशन नभएको पनि लामो समय भइसक्यो । यस्तो अवस्थामा सबै पार्टीलाई बोलाएर नयाँ विकल्पको खोजी गरौं भनेर प्रस्ताव गरेका पनि छैनौं । हामी यो पनि भनिरहेका छैनौं कि अरु दलको भएन, कांग्रेसको पनि भएन ! कांग्रेस त नमुना बन्ने हो, अरुले गर्न सकेन, हामी सक्छौं भन्ने हो ।

अहिले मुुलुकले भोगेको समस्या र हाम्रो आन्तरिक व्यवहारिक कठिनाईले समस्या भएको होला । तर कांग्रेसको क्रियाशील सदस्यताको समस्या हल गर्न सकिएन, अनि महाधिवेशन पछाडि सार्‍यो भन्ने कुरा साँचो होइन । १३ औं महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन गरेका थियौं ।

अहिले त जम्मा १४/१५ मात्रै निर्वाचन क्षेत्रमा मात्रै विवाद छ । हामीले विगतकै प्रणाली अनुसार अहिले विवादित क्षेत्रमा पुरानैबाट महाधिवेशन गर्ने गरी नयाँलाई रोकेर गर्न सकिन्थ्यो । साउन १२ मा अधिवेशन सुरु नहुँदै गर्दा कांग्रेसको कारणले मात्र होइन, समाजमा कोरोनाको असर जुन खालको थियो, त्यसकारणले अगाडि बढाउन सक्ने अवस्था थिएन । अब सरकारले खोप वितरणलाई तीव्र रुपमा अगाडि बढाउने छ र भदौ १८ गते तोकिएको समयमै वडा अधिवेशन गर्न सक्ने गरी आशावादी छौं ।

जे जति तर्क गरे पनि नैतिक प्रश्न त उठ्छ नि होइन र ?

नैतिक प्रश्नको कुरालाई म व्यक्तिगत रुपमा आत्मसात गर्छु कांग्रेसको केन्द्रदेखि तल्लो तहसम्मका हरेक नेता कार्यकर्ताले यो नैतिक प्रश्नलाई स्वीकार पनि गर्छाैं ।

तर हामीले विर्सन नहुने कुरा के हो भने कोरोनाको कहरका बीचमा कांग्रेसको महाधिवेशन गर्न कति सम्भव थियो र कति नैतिक हुन्थ्यो भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक हुन्छ जस्तो लाग्छ ।

हामीले कोरोना जोखिमलाई मध्यनजर गरेर भीडभाड कम हुने गरी पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुने व्यवस्था गरेका छौं । क्रियाशील सदस्य अब वडा अधिवेशनमा मात्रै सहभागी हुन पाउँछन् । उनीहरुबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिबाट गाउँ/नगर सभापतिको उम्मेदवार बन्न पाउने र क्षेत्रीय प्रतिनिधि मतदाता हुन पाउने व्यवस्था गरेका हौं ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको समस्या हल गर्न सकिएन, अनि महाधिवेशन पछाडि सार्‍यो भन्ने कुरा साँचो होइन ।

गाउँ/नगर अधिवेशनमा क्रियाशील सदस्यलाई सहभागी गराउँदा आमनिर्वाचनकै जस्तो माहोल हुने र कुनै नगरमा हजारौंको संख्यामा क्रियाशील सदस्य हुने भएकाले विधानको व्यवस्था हेरफेर गरेका हौं ।

कोरोनाका बेलामा ठूलो भीड नगरौं भन्नका लागि क्षमायाचना गर्दै यो व्यवस्था गरेका हौं । यो राजनीतिक होइन, यो नैतिक विषय थियो । राजनीतिक कार्यसम्पादन गर्दै गर्दा भोलिका दिनमा थप नैतिक प्रश्नहरुको सामना गर्न नपरोस् भनेर यो व्यवस्था गरेका हौं ।

तर, पटकपटक कार्यतालिका बन्यो, कार्यान्वयन भएन । यो कार्यतालिका पनि कार्यान्वयन हुन्छ भन्ने के ग्यारेन्टी ?

सञ्चारमाध्यममा होस् या अरु कुनै कार्यक्रममा महाधिवेशन किन भएन भनेर हामी एक अर्काे पक्षलाई दोषारोपण गर्न सक्छौं । कसैले सभापतिका कारण अधिवेशन हुन सकेन भन्ला, सभापतिले मैले त चाहेको थिएँ, तर अरु कसैको कारण महाधिवेशन गराउन सकिएन भन्नुहोला । केन्द्रीय कार्यसमितिका सदस्यहरु एकले अर्कालाई, केन्द्रले जिल्ला, जिल्लाले स्थानीय तहलाई आरोप लगाउन सक्ला ।

तर प्रवक्ताका रुपमा मैले भन्नुपर्ने कुरा के हो भने यसमा सामूहिक उत्तरदायित्वका साथ जिम्मेवरी लिनुपर्छ । र, साउन २८, २९ र ३० गतेको केन्द्रीय कार्यसमिति बैठकले जुन कार्यतालिका ल्याएको छ, यसलाई आत्मसात गर्दै तोकिएको समयमा महाधिवेशन गराउने प्रतिवद्धता जनाउनुपर्ने समय हो यो ।

विगतमा हामी कहाँ चुक्यौं, हाम्रा कमजोरी के थिए, कोरोनाको असर कस्तो थियो भनेर एकले अर्कालाई दोषारोपण गर्नतर्फ गयौं भने अहिलेको नयाँ परिमार्जित कार्यतालिका पनि हाम्रा लागि भार बन्नसक्छ । त्यसकारण मेरो आग्रह छ, मंसिर ९ गते महाधिवेशनको उद्घाटनका लागि, भदौ १८ मा वडा अविधेशन गर्नका लागि र भदौ ३ गते क्रियाशील सदस्यता टुंग्याउनका लागि हामी यतातर्फ बढी केन्द्रित हुनु जरुरी छ । कहीँ कमजोरी भए आन्तरिक समीक्षा गरौंला, तर महाधिवेशन सफल बनाउन सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्दछ ।

कांग्रेसको अहिलेको कार्यसमिति बैठकले वस्तुगत यथार्थतालाई बलियो ढंगले आत्मसात गरेर एकतावद्ध भएर सबै मन र मतहरु मिलेर संयमतापूर्वक र एकतापूर्वक जुन कार्यतालिका ल्याएको छ, त्यसलाई कार्यान्वयन गर्न पनि त्यत्तिकै संयमता, परिपक्वता र एकता आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment