+
+

मौद्रिक नीतिपछिको शेयर बजार : लगानीकर्ताको ५ खर्ब गुम्यो 

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ २० गते २२:३३

२० भदौ, काठमाडौं । शेयर बजारमा बुधबार निकै ठूलो अंकको गिरावट आयो । पछिल्लो २ वर्ष यता सर्किट लागेर बजार नै बन्द हुने अवस्था सिर्जना भएको थिएन । तर आइतबार कारोबार शुरु भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भयो ।

शेयर बजारको कारोबार गराउने जिम्मा पाएको एकमात्रै निकाय नेपाल स्टक एक्सचेन्जले ठूलो दुर्घटना नहोस भनेर ‘सर्किट ब्रेक’को व्यवस्था गरेको छ । सर्किट ब्रेकका लागि निश्चित एउटा सीमा तोकिएको छ, जुन सीमा भन्दा बढी बजार एकै दिन बढ्ने वा घट्ने हुँदैन ।

नेप्सेले कारोबार खुला भएको पहिलो घण्टाका लागि ४ प्रतिशत, दोस्रो घण्टाका लागि ५ र तेस्रो घण्टाका लागि ६ प्रतिशतको सीमा तोकिदिएको छ । पहिलो घण्टामा ४ प्रतिशतले बजार घटबढ भयो भने २० मिनेटका लागि, दोस्रो घण्टामा ४० मिनेटका लागि र तेस्रो घण्टामा ६ प्रतिशतले घटेबढ भए त्यस दिनका लागि पुरै कारोबार बन्द हुन्छ ।

समग्र बजारका लागिमात्रै होइन कम्पनीका लागि पनि नेप्सेले १० प्रतिशत भन्दा बढी एकैदिन घट्न वा बढ्न नसक्ने व्यवस्था गरिदिएको छ । आइतबार यो व्यवस्थाका कारण बजार धेरै घट्न पाएन । नत्र ठूलै दुर्घटना हुन्छ जस्तै गरी एकोहोरो बजार ओरालो लागेको थियो । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा बढीले घटेको छ ।

नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ । दिउसो ५ प्रतिशत बढीले मूल्य घटेर सर्किट ब्रेक समेत लागेको थियो । ४० मिनेट बन्द भएर खुलेको बजारमा केही सम्हालिने संकेत देखिएको थियो । तुलनात्मक हिसाबले बन्द हुँदा थोरै सम्हालियो । बजार बन्द हुँदा ३ दशमलव ७० अंकले घटेको हो । उच्च अंकले नेप्से परिसूचक घट्दा २ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घटेको छ ।

बजार घट्नुको प्रमुख कारण शेयर बजार अहिले राष्ट्र बैंकको नीति भएको जानकारहरु बताउँछन् । राष्ट्र बैंकले शेयर धितोमा जाने कर्जा बढीमा १२ करोड रुपैयाँमात्रै बनाइदिएको छ । कुनै व्यक्तिको १ अर्बको शेयर भए पनि उसले त्थ्यो धितो राखेर अधिकतम् १२ करोडभन्दा बढी लिन पाउँदैन् । यस अघि यो सीमा खुला थियो । बैंकहरुले जोखिम विश्लेषण गरेर लगानी गर्दै आएका थिए ।

यसले ठूला लगानीकर्ताहरु निकै समस्यामा परेका छन् । अहिले बजार घट्नुको प्रमुख कारण १२ करोडको सीमा नै भएको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । राष्ट्र बैंकले ४० लाख लगानीकर्ताहरुको मर्म विपरीत ल्याएको नीतिले नै अहिले बजार घटाउन मूख्य भूमिका खेलेको उनको बुझाइ छ ।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु अघि शेयर बजारको कुल पुँजीकरण ४४ खर्ब १३ अर्ब माथि थियो । आइतबारसम्म पुँजीकरण घटेर ३९ खर्ब ४४ अर्ब ९५ करोडमा झरेको छ । छोटो समयमा नै लगानीकर्ताहरुले गभर्नरकै कारण ठूलो पुँजी गुमाएको उनको भनाइ छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि राष्ट्र बैंकको लगानीकर्ता मारा नीतिको ठूलो असर बजारमा देखिएको बताउँछिन् । राष्ट्र बैंकले आफ्नो नीति तत्कालै सच्याउनु पर्ने उनको माग छ । नत्र आन्दोलनमा उत्रन बाध्य हुने उनले चेतावनी समेत दिएकी छिन् ।

गभर्नरमाथि लगानीकर्ताको अविश्वास

अहिले बजार घटाउनका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै लागेको लगानीकर्ताहरुको आरोप छ । लगानीकर्ताहरुको एउटा समूहले गभर्नरका विरुद्धमा आन्दोलन गर्ने भन्दै संघर्ष समिति समेत बनाएको छ ।संघर्ष समितिको अध्यक्षमा रामकृष्ण ढकाल चुनिएका छन् । उनी नेतृत्वको संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै गभर्नरले तत्काल पदबाट राजनीनामा दिनु पर्ने माग अघि सारेको छ । यो समितिले राष्ट्र बैंक घेराउसम्म गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत पनि अहिले गभर्नरको भूमिका निकै शंकास्पद देखिएको बताउँछन् । बैंकको अधिकार खोसेर राष्ट्र बैंकले बजार घटाउने नियत लिएको प्रष्टै देखिएको उनको बुझाई छ ।

‘लगानीकर्ताहरुको क्षमता अनुसार ऋण लिन पाउनै पर्ने हो, अब जोखिम छ वा छैन भन्ने कुरा बैंकले पनि राम्रो विश्ल्लेषण गरेरमात्रै दिने हो’ उनी भन्छन्, ‘अब यो क्षेत्रमा जाने ऋण जोखिम पनि छैन, जोखिमकै लागि हो भने त क्षमताको ५० प्रतिशतमात्रै दिने बनाइदिएको भए पनि हुन्थ्यो तर यहाँ कुरो अर्कै छ ।’

ती बैंकर गभर्नरको यो कदमले राजनीतिक स्वार्थ बोकेको बताउँछन् । गभर्नर अधिकारीलाई तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले नियुक्त गरेका हुन् । खतिवडापछि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री थिए । दुबै जना अर्थमन्त्री हुँदासम्म बजारका लागि सकारात्मक नीति नै गभर्नर अधिकारीले लिएका थिए ।

तर, अहिले कांग्रेस नेतृत्वको सरकारमा माओवादी नेता अर्थमन्त्री छन् । ‘अब बजार राम्रो हुँदा क्रेडिट सरकारले पाउने हो, ४० लाख लगानीकर्ताहरु खुसी पनि हुन्छन्’ उनले भने, ‘तर एमालेको मान्छेले सरकारलाई सफल बनाउनका लागि नीति बनाउने कुरा पनि भएन ।’

इन्भेस्टर्स फोरमका अध्यक्ष रौनियार पनि यहाँ राजनीतिक कारण रहेको शंका गर्ने ठाउँ प्रशस्त रहेको बताउँछन् । ‘यहाँ ४० लाख लगानीकर्ताहरुको भोटको कुरा पनि छ, अर्कै पार्टीको सरकार हुँदा यहाँ यो स्वार्थ पनि पक्कै जोडिन सक्छ’ उनले भने ।

बजार ह्वात्तै बढ्ने वा हृवात्तै घट्ने हुनु भन्दापनि स्थिर भए सबैलाई राम्रो हुने उनी बताउँछन् । गत वर्ष मात्रे सरकारलाई १४ अर्ब २३ करोड रुपैयाँ राजस्वमा योगदान गरेको बजारलाई घटाएर लगानीकर्ताहरु डुबाउने नीति लिनु नै गलत भएको उनको भनाइ छ ।

‘पुँजी बजारको पुँजी लगानीकर्ताको हो, यो पैसा खुन पसिना र मेहनतले कमाएको पैसा हो, विद्यार्थीहरुले खाजा खाने पैसा बचाएको पैसा हो’ पूर्व अध्यक्ष रौनियार भन्छन्, ‘आफ्नो पुँजी, क्षमता अनुसार पनि ऋण लिएर व्यवसाय गर्न बन्देज गर्ने नीति पूर्णत गलत छ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?