+
+

कांग्रेस महाधिवेशन कार्यतालिका फेरबदल हुँदै, यस्तो छ प्रस्तावित कार्यतालिका

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १६:४४

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए ।

उनका अनुसार बाँकी जिल्लाको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गर्नेबारे छलफल भइरहेको छ । ती नेताले भने, ‘प्रदेश र केन्द्रको महाधिवेशन पुरानै मितिमा हुन्छ, बाँकीको अधिवेशन कम्तीमा एक साता पर सर्न सक्छ ।’ संसद अधिवेशन चलिरहेकाले सांसदहरु काठमाडौं बाहिर जान नमिल्ने हुँदा महाधिवेशन कार्यतालिका संशोधन गर्न लागिएको बताइएको छ ।

प्रस्तावित कार्यतालिका अनुसार बाँकी जिल्लाको वडा अधिवेशन ५ असोज, पालिकाको ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै  एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १३ असोजमा गर्ने उल्लेख छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १६ असोजमा गर्ने प्रस्तावित कार्यतालिकामा रहेको एक नेताले अनलाइनखबरलाई बताए ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १८ भदौबाट वडा अधिवेशन शुरु भइसकेको छ । देशभर एकैदिन गर्ने भनिए पनि अहिलेसम्म जम्मा ५७ जिल्ला मात्रै वडा अधिवेशन भएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर देशभर एकैदिन पालिका अधिवेशन गर्न माग गरेका थिए । महाविधेशन कार्यतालिकामा २७ भदौमा पालिका अधिवेशन हुनुपर्नेछ तर २० जिल्लाको क्रियाशील सदस्यता टुंगिन बाँकी छ ।

कांग्रेसको ३० साउनको केन्द्रीय समिति बैठकले २७ भदौमा पालिका अधिवेशन, १ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ असोजमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन र १० असोजमा जिल्ला अविधेशन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो । कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने संशोधन नगरिने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?