+
+

भरतपुरमा पोल भाडा नबुझाउने इन्टरनेटको तार काटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १५:३२

१६ असोज, चितवन । सेवा प्रदायक कम्पनीले पोलको भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेटको तार काटिदिएको छ । तार काटिएका सेवा प्रदायकको इन्टरनेट सेवासमेत अवरुद्ध हुन थालेको छ ।

सम्झौता अनुसार विजुलीको पोलको भाडा नतिर्र्नेे इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

शनिबार भरतपुरको बसेनी सबस्टेशन अगाडि, विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

उनले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको बताए ।

इन्टरनेट कम्पनीहरुले आफू खुसी गरेर हेप्न थालेपछि तार काट्न थालिएको उनले बताए । उनले केही ठाँउमा काटेर भाडा तिर्न ताकेता गरिएको तर, अब भाडा नतिरे यसलाई अभियानका रुपमा अझै कडाइ गरिने बताए । भाडा नतिर्नेमा सुविसु, क्लासिकटेक, भायानेट लगायतका छन् ।

प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीको १ करोड रुपैयाँ भन्दा बढीको सामान जफत गरिसकेको छ । पैसा नतिरेसम्म सामान फिर्ता नगरिने प्राधिकरणको अडान छ ।

प्राधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्मको समय दिएको थियो ।

भरतपुर वितरण केन्द्रले तार काट्ने अभियान सुरु गरेपछि ५० लाख रुपैयाँ रकम उठेको जनाएको छ । अझै चार करोड रकम उठ्न बाँकी रहेको केन्द्रका प्रमुख सिंहले बताए ।

प्राधिकरणले देशभर प्राधिकरणको संरचना प्रयोग भएको ठाउँ सबैमा तार काटिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?