
२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुका लागि सुविधा थप गरेको छ । २०७९ असार मसान्त भित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुनेलाई थप सुविधा दिने राष्ट्र बैंकले बताएको हो ।
सोमबार एकीकृत निर्देशन संशोधन गर्दै एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त÷पुनः नियुक्त हुन बाधा नपर्ने राष्ट्र बैंकले बताएको छ ।
यस अघि ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त वा पुनः नियुक्त हुन नपाउने व्यवस्था रहेको थियो ।
साथै, ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने समेत व्यवस्था रहेको थियो । मर्जरमा जान प्रोत्साहन गर्ने भन्दै राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो ।
यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि समेत मर्जरमा जाने संस्थाहरुलाई २०८० असारमसान्त सम्म थप गरिने राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया 4