+
+

फाइजरको खोप कसले र कहिले पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १८:१६

८ कात्तिक, काठमाडौं । सोमबार काठमाडौं आइपुगेको एक लाख ६२० डोज फाइजर खोप सरकारले कात्तिक २८ गतेदेखि सार्वसाधारणलाई लगाउने तयारी गरेको छ ।

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । यो खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा राखिएको छ ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालले मधुमेह दिवसको अवसर पारी कात्तिक २८ गतेदेखि खोप लगाउने तयारी थालिएको बताए ।

खोप कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक जनशक्तिलाई अभिमुखीकरण गर्ने र खोपको ढुवानी व्यवस्थापन लगायतका कार्यहरू अगाडि बढाइएको उनले बताए ।

हाल प्रयोग भइरहेको खोपभन्दा यो फरक किसिमको भएकाले खोप व्यवस्थापन तथा भण्डारण गर्ने र लगाउने जनशक्तिलाई अभिमुखी तालिम दिनुपर्ने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लाल बताउँछन् । विशेषज्ञ सेवा सञ्चालन भएको अस्पतालमा खोप केन्द्र रहने गरी जनशक्तिलाई अभिमुखी तालिम दिइने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार खोपको व्यवस्थापकको अभिमुखिकरण तालिम सोमबार नै शुरु भएको छ । खोप लगाउने जनशक्तिलाई भने तिहार विदा अगाडि नै तालिम दिइने छ ।

खोप केन्द्रमा कहिले पुग्छ खोप ?

अमेरिकाबाट प्राप्त फाइजरको खोप माइनस ८० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा हाल प्रयोग भइरहेका एस्ट्राजेनेका, भेरोसेल, कोभिशिल्ड र जोनसन एण्ड जोनसन खोपभन्दा यो खोप फरक किसिमको भएकाले सोमबार नै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।

फाइजर अन्यभन्दा फरक प्रकृतिको खोप भएकाले यसको भण्डारण तथा व्यवस्थापकमा खटिने जनशक्तिलाई समेत तालिम दिन शुरु गरिएको डा. पौडेल बताउँछन् ।

केन्द्रीय खोप भण्डारण स्थलबाट खोप केन्द्रसम्म खोप लैजाँदा २ देखि ८ डिग्रीसम्मको तापक्रममा लान सकिने उनको भनाइ छ । यसरी लगिएको फाइजर खोप करिब एक महिनाभित्रमा प्रयोग गरिसक्नु पर्ने छ । त्यसैले खोप केन्द्रसम्म खोप ढुवानी अभियान सञ्चालन हुने एक दुई दिन अघि मात्रै पठाइने उनले बताए ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट प्राप्त फाइजर खोप भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण मानिएको उनी बताउँछन् । तसर्थ फाइजर खोप यसअघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घरोगिहरूलाई दुवै डोज लगाउन पुग्ने गरी अभियान सञ्चालन हुने डा. पौडेलको भनाइ छ ।

कसले पाउँछन् खोप ?

खोप महाशाखा प्रमुख दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीहरूलाई यो खोप दिइने छ ।

१८ वर्षमाथिका अधिकांश दीर्घरोगीहरुले हाल प्रयोगमा आइरहेका खोप पाइसकेका छन् । तर स्वास्थ्य समस्याका कारण केहीले उक्त खोप लगाएका छैनन् । यस्ता दीर्घरोगीहरुलाई पनि फाइजरको खोप दिइने डा.‍ लाल बताउँछन् ।

कहाँ–कहाँबाट सञ्चालन हुन्छन् खोप कार्यक्रम ?

खोप महाशाखा प्रमुख दाहालका अनुसार विशेषज्ञ सेवा दिने देशभरका २४ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् । जसमध्ये काठमाडौं उपत्यकाभित्र ९ वटा अस्पताल र बाँकी १५ वटा अस्पताल सबै प्रदेश समिटिने गरी तोकिने छन् ।

प्रवक्ता डा. पौडेलका काठमाडौं उपत्यकामा वीर, सशस्त्र प्रहरी, त्रिवि शिक्षण, वीरेन्द्र सैनिक, नेपाल प्रहरी, पाटन, सिभिल र धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् । डा. पौडेलले भने, ‘उपत्यका बाहिरका जिल्लाको हकमा सबै प्रदेशको मुख्य-मुख्य अस्पताल जहाँ विशेष सेवा सञ्चालनमा छन् । त्यस्ता १५ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?