+
+

डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १८:४१

१० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकालगायत तराई तथा पहाडी जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले कोरोनासँग मिल्दोजुल्दो लक्षण हुने डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल आउने क्रम बढेको बताए ।

डा. बास्तोलाले भने, ‘पछिल्लो समय राजधानीलगायत केही पहाडी एवं तराईका जिल्लाहरुबाट ज्वरो आउने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, शरीर करकरी खाने, ढाड दुख्नेलगायतका लक्षण भएका बिरामीहरु आउने क्रम बढेको छ । यी लक्षणहरु डेंगुसँग मिल्दाजुल्दा छन् । परीक्षणका क्रममा डेंगु प्रमाणित भएको अवस्था पनि छ ।’

के हो डेंगु ?

डा. बास्तोलाका अनुसार एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । घाम उदाउने र डुब्ने समयमा यो लामखुट्टेले मानिसलाई टोक्ने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् ।

उपचार कसरी गरिन्छ ?

डेंगु रोगको संक्रमण पुष्टि भएका बिरामीले सामान्यतया दुखाइ कम गर्न र ज्वरो घटाउन सिटामोलको प्रयोग गर्न सकिने डा. बास्तोलाको भनाइ छ । डेंगुका बिरामीले घरमै आराम गरेर प्रशस्त मात्रमा झोलिलो पदार्थ खानु उपयुक्त हुन्छ ।

पटक–पटक बान्ता हुने, पेट अचाक्ली दुख्ने, गिजा वा नाकबाट र्‍याल बगिरहनेजस्ता लक्षणहरु देखा परेमा चिकित्सकको निगरानीका लागि अस्पताल जानुपर्छ ।

के हो लक्षण ?

डेंगुको संक्रमण भएका व्यक्तिमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने,  रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

कसरी बच्ने ?

डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो ।  तसर्थ लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाय अपनाउन जरुरी हुन्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन । पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

पहाडी जिल्लामा स्क्रब टाइफसका बिरामी बढे

पहाडी जिल्लाबाट स्क्रब टाइफसका लक्षण भएका बिरामी उपचारका लागि काठमाडौं आउने क्रम बढेको डा. बास्तोला बताउँछन् ।

डा. बास्तोलाका अनुसार हनहनी ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, आँखा रातो हुनेजस्ता लक्षण लिएर अस्पतालमा उपचार गराउन आउनेको संख्या बढ्दो छ । डा. बास्तोलाले अगाडि भने, ‘पहाडी जिल्लाहरुबाट उपचारका लागि आउने बिरामीहरुमा यस्तो लक्षण देखिनुको मुख्य कारण स्क्रब टाइफस हुनसक्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणु (एक प्रकारको सानो किर्ना)को टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जीवाणु मुसामा समेत पाइन्छ । विशेषगरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ ।

समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अंगमा संक्रमण गराउँछ भने बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन)को अवस्था पनि सिर्जना हुनसक्छ ।

केके छन् लक्षणहरु ?

स्क्रब टाइफसका बिरामीमा उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, जोर्नी र मांसपेशी दुख्ने, खोकी लाग्ने, बान्ता आउने, पेट दुख्ने र पखाला लाग्ने, शरीरमा रातो बिमिरा आउने, टोकेको ठाउँमा कहिलेकाहीं कालो दाग देखिने हुन्छ ।

कसरी सर्छ ?

खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने जोखिम हुन्छ । यस्तो ठाउँमा मुसाको बासस्थान बढी हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सार्ने सम्भावना हुन्छ ।

कसरी बच्ने ?

स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको हुन्छ । तर समयमै उपचार नगरे यसले गम्भीर रुप लिएर मानिसको ज्यान समेत जान सक्छ ।

स्क्रब टाइफसबाट बच्न खाली खुट्टा खेतबारी वा जंगलमा जानु हुँदैन । खेतबारी वा जंगलमा जानै परे गमबुट लगाउने र शरीर पूरै ढाकिने गरी कपडा लगाउनुपर्छ । जसले गर्दा शरीरमा किर्ना प्रवेश गर्न पाउँदैन र त्यसको टोकाइबाट बच्न सकिन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रब टाइफसको लक्षण देखिएमा समयमै परीक्षण गरी यसको पहिचान गर्न सके स्क्रब टाइफसबाट बच्न सकिन्छ ।

घर वरिपरि घाँस बढ्न नदिने, वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त ढंगले अन्नको भण्डारण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?