
११ कात्तिक, वीरगञ्ज । वीरगञ्जका दलित समुदायका अगुवाले राष्ट्रिय जनगणना सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार वीरगञ्जमा आयोजित राष्ट्रिय जनगणना २०७८ पालिका स्तरीय परामर्श एवं संवाद कार्यक्रममा सहभागी दलित अगुवाले यस्तो बताएका हुन् ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सरकारले कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गर्न लागेको छ । देशभर ५५ हजार गणक खटाइँदैछ ।
जनगणनाबारे महिला समूह तथा बाल क्लबमा जानकारी गराउने, टोल भेला गरेर बताउने, छठ घाटमा लगाइएका लाउड स्पिकर मार्फत सन्देश प्रवाह गर्ने, सामाजिक सञ्जालमा जनगणनाको महत्वबारे सूचनाहरु लेख्ने प्रतिबद्धता उनीहरुले जनाएका छन् ।
जनजागरण युवा क्लब (जेजेवाईसी)ले आयोजना गरेको कार्यक्रममा उनीहरुले सीमान्तकृत दलित समुदायको वास्तविक तथ्यांक नआउँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने गरेको बताए ।
कार्यक्रममा दलित अधिकारकर्मी वृजलाल पासवानले जनगणना मार्फत दलित सीमान्तकृत समुदायले आफ्नो वास्तविक अवस्था बाहिर ल्याउनुपर्नेमा जोड दिए । उनले राज्यको स्रोत साधनमा पहु्ँच वृद्धि गर्न जनगणनामा सही विवरण दिनुपर्ने बताए ।
नेपाल दलित संघ पर्साका सचिव धिरज पासवानले जनगणनाको महत्वबारे दलित समुदायलाई सचेत बनाउन आवश्यक रहेको बताए । यस्तै समलिङ्गी–तेस्रो लिंगीको क्षेत्रमा काम गर्दै आएको सहयात्री समाज नेपालका सदस्य जितेन्द्र पटेलले पर्सा जिल्लामा ७ हजार समलिङ्गी वा तेस्रो लिङ्गी भएपनि पहिचान पाउन नसकेको बताए । उनले जनगणनामा पहिचान खुलाउन सहयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रमको सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले जनगणनाको महत्वको बारेमा स्पष्ट पारे । जनगणना मार्फत व्यक्ति र समुदायको बारेमा सूचना संकलन गरेर राज्यले विभिन्न नीति निर्माण गर्ने भएकोले सबैको अनिवार्य सहभागिता आवश्यक रहेकोमा उनले जोड दिए ।
जिल्ला जनगणना कार्यालय पर्साका प्रमुख केशव ज्ञवालीले अपांगता र सम्पत्तिसँग सम्बन्धी प्रश्नको उत्तर दिन अप्ठेरो लागेपनि सूचना गोप्य रहने भएकोले ढुक्क भएर सही सूचना दिन आग्रह गरे । पर्सामा ७ सय ५० जना गणक जनगणनाका लागि खटिँदैछन् ।
प्रतिक्रिया 4